arrow

भरतपुर काण्ड : निर्वाचन आयोग कमजोर घोडा जस्तै लाचार, बुइँ चढ्न पल्केका दलहरुको रजाईँ

समाचार टिप्पणी

logo
प्रकाशित २०७४ जेठ १९ शुक्रबार
Renu-Dahal_devi_Gyawali.jpg

काठमाडौं । भरतपुर महानगरको मतगणना विवाद लम्बिनु र निर्वाचन एवं लोकतान्त्रिक प्रक्रियाप्रति नकारात्मक भावना जागृत हुनुको मूख्य दोषी निर्वाचन आयोग ठहरिने बताइँदै छ ।

जानकारहरुले निर्वाचन आयोगले भरतपुर महानगरको मतगणना विवादबारे समयमै निर्णय लिन नसक्दा लोकतान्त्रिक प्रक्रिया माथिनै प्रश्न उठेको बताएका छन् । त्यति मात्र नभई अहिले सत्ता गठबन्धमा रहेका शीर्ष नेताहरुको भविष्य बचाउन विदेशी चलखेल भएको रुपमा चित्रित गर्न थालिएको छ । एउटा वडाको मत गणनाको विषयलाई लिएर संसद नै अवरुद्ध पारेर महत्वपूर्ण एजेण्डाहरुलाई नजर अन्दाज गरिएको छ ।

राजनीति विश्लेषक एवं प्राध्यापक डा. सुरेन्द्र केसीले हाम्राकुरासँग भने, ‘निर्वाचन आयोगले समयमा निर्णय गरेको भए यस्तो अवस्था आउँदैन थियो । निर्वाचन आयोग लाचार कार्यकर्ताको थलो भयो ।’ निर्वाचन आयोगको लाचारीले विवाद लम्बियो । शंकामाथि शंका बढ्दै गएपछि समाधान जटिल बन्यो ।

उनले भने, ‘शंकाको लाभ विपक्षीलाई गएको छ । निर्वाचन आयोगमा यति कमजोर र लाचार व्यक्तिहरु रहेछन् भन्ने प्रष्ट भयो । निर्वाचन आयोगमा मात्रै होइन राज्यका सबै अंगमा यस्तो समस्या छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहालको राजनीतिक भविष्य बचाउने खेल भनेर गरिएको टिप्पणीलाई भने विश्लेषक केसीले गैर जिम्मेवार भनेका छन् । उनले भने, ‘यो बोल्नेहरुको समस्या हो । जे पनि बोल्नु भनेको आफैमाथि अविश्वास ल्याउनु हो ।  तथ्य नभेटि बोल्नु उपयुक्त होइन ।’ हामीले आफैले आफैलाई समिक्षा नगर्ने हो भने, सुरेन्द्र केसीले बोलेका सबै कुराहरु तथ्यपरक होलान् भन्ने अविश्वास बढाउँदै लानु हो । उनले थपे, ‘विश्वासको वातावरण आफैले बनाउने हो ।’

भरतपुर घटनाको मुख्य दोष निर्वाचन आयोगको भूमिका माथि नै आउने केसीको भनाई छ । उनले भने, ‘लाचार र कमजोरहरुलाई निर्वाचन आयोगमा हुलियो । यस्तो गर्नु हुँदैन थियो । यो संवैधानिक आयोग हो ।’ लोकमान, नवराज सिलवाल बलियो घोडा भएकाले सजिलै बुइँ चढ्न पाएनन् । तर, निर्वाचन आयोग कमजोर घोडा जस्तै लाचार भएपछि सबै बुइँ चढे, केसीले भने । यस्तो अवस्था आउनु दुभाग्र्य हो ।

अर्का विश्लेषक लोकेश ढकालले भरतपुर मतगणना निर्वाचन आयोगमा पदाधिकारी नियुक्त गर्दा गरिएको दलीय भागबण्डाको परिणाम हो, भने । अायाेग पदाधिकारी देश र जनताप्रति गम्भीरता हुनु पर्नेमा दलीय नियुक्ति अनुसारको भाषा बोलेर बसिरहेका छन् ।

उनले भने, ‘नेपाली सेनाबाहेक सबै संस्थामा यस्तै समस्या छ । एउटा वडाको मत गणनाले संसद नै अवरुद्ध हुने । देश नै अनिर्णयको बन्दी हुने । अन्योलमाथि अन्योल सिर्जना हुने हुनुहुँदैन ।’ विदेशीहरुले खेलिरहेको भन्ने प्रसंगमा ढकालले सामथ्र्यवान् नेताहरु नभएकै कारण विदेशीहरुले खेल्न पाएको बताए ।

दलहरु सत्ता केन्द्रीत हुनुकै परिणाम विदेशी प्रभाव मार खेप्नु हो, उनले थपे, ‘निर्वाचन आयोगको समयमै निर्णय गर्ने र आयोगको निर्णय मान्नै पर्ने थियो । कुनै एक दल विशेषका कारण पुनःमतदान हुनु पर्ने भन्ने होइन ।’ विधि र पद्दती मान्दिन भन्नु अर्को मूर्खता हो ।

राजनीतिक विश्लेषक भरत दाहालले भरतपुर काण्ड देवी ज्ञवाली र रेणु दाहालको हारजितको खेल नभएको बताएका छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवामाथि संघीन आरोप लगाएका छन् ।

उनले पहिलो 'दाहालकी छोरीको हारको प्रश्न नजोडिएर पुष्पकमलको भावी सत्ता राजनीतिक खेलको आधार इलाकाको बचाऊ, दोस्रो शेरबहादुरको प्रधानमन्त्री बन्ने आकांक्षा भन्दा हजार गुना बढी देउवा–दाहालको पश्चिमी साम्राज्यवादी सेन्टरप्रतिको बफादारिताको मुद्दा र तेस्रो नेपालको भू–राजनीतिमा पश्चिमी शक्तिहरुको रणनीति कार्यान्वयनमा सहयोगी रहेका पात्रहरुको राजनीतिक भविष्यको सुनिश्चितताको मामिला'- भनेका छन् ।

उनले भनेका छन्, ‘यो तीन कोण यसमा जोडिएकाले चितवनको काण्ड सामान्य रुपमा समाधान हुने संभावना छैन ।’ उनले सशस्त्र द्वन्द्वताका माओवादी सुप्रिम कमाण्डरले भारतमा हामी तिम्रो विरुद्धमा कुनै काम गर्ने छैनौ भन्ने सम्झौता गरेको समेत सुनाए ।

उनले भने, ‘हिजो पश्चिमाहरुले यी दुवै पात्रलाई एक आपसमा लडाएको थियो । जहाँ एउटाले टाउको काटेर ल्याउ झोलाभरी पैंसा भरेर जाउ भनिरहँदा अर्कोले काँग्रेस कार्यकर्ताको खोजी–खोजी हत्या गरे । आज दुवैलाईसँगै कसरी राख्ने भन्ने विषय टाउको दुखाई भएको छ, पश्चिमाहरुलाई । प्रचण्ड सरकार गठन हुँदा देउवा र कृष्णबहादुर महरा दिल्ली गएर सम्झौता गरेर आएको दृष्टान्त कँही कतै छुपेको छैन । देउवा–दाहालको हाइ सेक्रेसी धरै दिन टिकेन । त्यो उदाङ्गो भइसकेको छ । यद्यपि, विश्लेषक दाहालले तथ्यबाहिर रहेर लेख्ने र बोल्ने गरेको टिप्पणी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ