arrow

टालटुल गरेको सडक जिम्मा लिँदै सडक विभाग

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
Solukhumbu-hamrakura.jpg.jpeg

सोलुखुम्बु । निर्माण सम्पन्न नहुँदै पिच उप्किएर विभिन्न स्थानमा धुलाम्मे भएको सल्लेरी–ओखलढुङ्गा सडकखण्ड सडक विभागलाई जिम्मा लगाउन अहिले विभिन्न स्थानमा टालटुलको काम भइरहेको छ । 

दश वर्षको आयु तोकिएको सडक वर्ष दिन नबित्दै कुलो भत्कने र पिच उप्कने समस्याबाट जीर्ण बन्दै गर्दा भत्किएको र उप्किएको स्थानमा टालटुल गरेर ठेकेदार कम्पनीले भुक्तानी लिने तयारी गरेको छ । 

सोलुखुम्बुको सल्लेरीदेखि ओखलढुङ्गाको रमाइलो डाँडासम्मको करिब ५८ किलोमिटर सडक यही महिना ठेकेदार कम्पनीले सरकारलाई बुझाउने तयारी गरेको छ । 

हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजालले सडकको काम अन्तिम चरणमा पुगेको र अब छिट्टै सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको जानकारी दिए । 

हतारहतार टालटुल पारेर सडक बनाइरहँदा सर्वसाधारणले सडकको गुणस्तरलाई लिएर चिन्ता व्यक्त गरेका छन् । 

मुक्लीका धनबहादुर गुरुङ भन्छन् – “एक वर्षमै सडकको हालत खराब भयो, अब टालटुल पारेको सडक अर्को वर्ष उस्तै हुन्छ, आखिर सडक पिच गरेको के अर्थ भयो र ?” गत वर्ष वर्षायामका समयमा सडकको अधिकांश भाग कालोपत्रे गरिएको थियो । 

सडकछेउका नहर पुनःनिर्माण गर्ने काम भइरहेको ठेक्केदार कम्पनीले जनाएको छ । 

हिमाली जिल्ला जोड्ने सोलुखुम्बु सडकखण्ड पर्यटकीय पदमार्ग प्रवेश गर्ने सडक पनि हो । 

सगरमाथा क्षेत्रमा खुम्बु पदमार्गमा जाने पर्यटकसमेत अहिले सडकमार्गमार्फत आउन थालेका छन् । सडक निर्माणमा लापर्बाही गरिएकाले छिट्टै भत्किने डरले पर्यटन व्यवसायी पनि चिन्तित छन् । 

सडक कालोपत्रेका लागि एसियाली विकास बैंकको ६० प्रतिशत र नेपाल सरकारको ४० प्रतिशत बजेट लगानी रहेको छ ।
 
सुरुमा एसियाली विकास बैंक (एडिबी)को रु ४३ करोड र नेपाल सरकारको रु २२ करोड गरी रु ६५ करोड लागत इस्टमेट तयार पारिए पनि निर्माण सम्झौता अवधिमा काम सम्पन्न नगर्दा लागत पनि बढ्दै गएको ओखलढुङ्गा–सल्लेरी सडक आयोजनाले जनाएको छ । 

काम सम्पन्न नभएपछि ठेक्केदार कम्पनी लामा शर्मा ज्वइन्ट भेन्चर कन्स्ट्रसनले पटक पटक म्याद थप गरेको छ । 

टालटुल पारेको सडक जिम्मा लिने सन्दर्भमा हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजाल भएको कामको मूल्याङ्कनअनुसार ठेकेदार कम्पनीलाई भुक्तानी दिएर सडक जिम्मा लिने तयारी भएको बताउँछन् । 

तर सोलुखुम्बुवासी भने गुणस्तरहीन सडक बनाएर सोलुवासीको आँखामा छारोमात्र हालेको गुनासो गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ