arrow

काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित भयो : मन्त्री शाही 

logo
प्रकाशित २०७४ जेठ २१ आइतबार
jeewanbahadurshahi_chait_17.jpeg

काठमाडौं। खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केहि संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले यांग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

मन्त्री शाहीले भने " मेलम्चीको १७ करोड लिटर पानीले मात्र काठमाडौंको माग धान्न सक्दैन। त्यसैले यांग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढिसकेको छ। आगामी तीन वर्ष भित्रमा मेलम्चीको पानीमा थप ३४ करोड लिटर पानी थपिन्छ। त्यसले राजधानीवासीलाई ठूलो राहत पुग्छ।"

उक्त आयोजनाका लागि ११ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने हुन्छ। शाहीले अहिले मेलम्चीको दैनिक सरदार १९ मिटरका दरले टनेल निर्माणको काम भैरहेको भन्दै त्यसको गति बढाउनका लागि थप उपकरण झिकाइएको बताए। साढे २७ किलोमिटरमा अब लगभग ३ किलोमिटर मात्र सुरुङ निर्माण गर्न बाँकि छ। त्यो पनि समयमै सम्पन्न हुन्छ बाहिरबाट झिकाइएको निर्माण सामग्री आइसकेपछि निर्माणले थप गति लिने भन्दै उनले आगामी असोज सम्म मेलम्चीको पानी राजधानीमा प्रयोग गर्न पाउने विश्वास व्यक्त गरे। 

मन्त्री शाहीले छोटै समयमा पनि जिम्मेवारी प्रति प्रतिवद्ध बन्ने हो भने धेरै काम गर्न सकिने धारणा राखे। उनले आफुले खानेपानी मन्त्रालय सम्हालेको दुई महिनामै धेरै सुधारको प्रयास गरेको बताए । आगामी मन्त्रीले पनि त्यो कामलाई निरन्तरता दिनेमा आशावादी रहेको उनले धारणा राखे।  शाहीले खानेपानी मन्त्रालय सम्हाल्ने पछि सुशासन कायम गर्न, व्यवस्था सुधार गर्न र जिम्मेवार बनाउन भन्दै सरकारी निकायबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उठाउन नसकेको  ४२ करोड ३१ लाख १९ हजार ४ सय १५ रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न राष्ट्रपति कार्यालय देखि अख्तियार र अदालतसम्मलाई पत्र काटेका थिए।

अहिले बिभिन्न निकायबाट करोड भन्दा  माथि बक्यौता रकम उठिसकेको भन्दै मन्त्री शाहीले उक्त रकमबाट केयुकेएलको भौतिक पूर्वाधार निर्माण, चुहावट नियन्त्रण, खानेपानीको उचित व्यवस्थापन र आपूर्ति वृद्धिमा खर्च गर्न सुझाव दिए। उनले अन्य निकायबाट पनि बक्यौता उठ्ने क्रम जारी रहेको भन्दै सबैलाई जिम्मेवार बन्न आग्रह गरे। मन्त्री शाहीको निर्देशनमा काठमाडौंका ५० स्थानमा सार्वजनिक ट्यांकी राख्ने, केयूकेएलका बिभिन्न शाखामा रहेका काउन्टरलाई अत्याधुनिक तथा पूर्ण प्रविधियुक्त बनाउने, १७ वटा ट्युबेल निर्माण गरेर थप पानी वितरण गर्ने काम भएको छ। 

मेलम्चीको पाइप बिच्छ्याउने क्रममा खनिएको ठाउँहरु तुरुन्त पुर्ने र तत्काल अस्थायी पीच गर्ने काम भएको छ। अहिले ८५ प्रतिशत मेलम्चीको पाइप बिच्छ्याउने काम सकिएको मन्त्री शाहीले बताए। मेलम्चीको पानी खसाल्नका लागि धमाधम पूर्वाधार निर्माण भैरहेको भन्दै मन्त्री शाहीले काठमाडौंवासीको मेलम्ची सपना चांडै पूरा हुने बताए। उनले ट्यांकरहरुलाई व्यवस्थित गर्न स्टिकर प्रणाली लागू गरिएको भन्दै यसले जनस्वास्थ्यमा खेलवाड गर्नेलाई कानूनी दायरामा ल्याएको बताए। अब यसको नियमित अनुगमन गरेर जनताले राहत पाउने अवस्था आएको बताए। एक स्थानीय तह एक खानेपानी आयोजनाले पनि सार्थकता पाउने भन्दै उनले स्थानीय तहलाई अधिकार प्रदान गरिएको धारणा राखे। काठमाडौंको ढल प्रशोधन गर्नका लागि उपकरण आइसको र काम समेत सुरु भइसकेको भन्दै मन्त्री शाहीले अब यसले काठमाडौंको ढल व्यवस्थापन गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताए।

आधारभूत खानेपानीबाट बन्चित रहेका नागरिकलाई २ वर्ष भित्र खानेपानी खुवाउने निर्णय गरि स्रोतको व्यवस्थापन गरिएको भन्दै मन्त्री शाहीले त्यसपछि आधारभूत खानेपानीको आधिकारबाट कोहि पनि बन्चित हुनु नपर्ने बताए। उनले मन्त्रालय मातहतका निकायको काम कारवाही अनलाईन अनुगमन गर्ने व्यवस्था गरेर मन्त्रालयलाई उच्च प्रविधि मैत्री बनाइएको बताए। अनलाईनबाट नै तत्काल समस्या समाधान गर्ने भएकाले यसको अति महत्त्व रहेको समेत धारणा राखे। 

मन्त्री शाहीले पर्यटन मन्त्रीको हैसियतमा सम्पादन गरेका महत्त्वपूर्ण काम हरुको पनि विवरण प्रस्तुत गरे। ३१ वर्ष देखि अड्किएर बसेको कालिकोटको सुन्थराली कोटवाडा विमानस्थलमा संचालन देखि १७ वर्ष देखि अलपत्र परेको सुनसरीको धरान विमानस्थल निर्माण कार्य सुरु गर्न सफल भएको मन्त्री शाहीले बताए। दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियाको लागि सरकार जमानीमा बस्ने निर्णय गरेर निगमलाई परिवार नियोजन गर्नबाट जोगाइएको उनले बताए। विमानस्थलमा भिभिआइपी कक्ष निर्माण देखि ट्याक्सी पार्किङको व्यवस्थापन र सरसफाई अभियानलाई प्रभावकारी बनाइएको समेत बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ