arrow

प्रधानन्यायाधीश कार्कीको असहज बहिर्गमन, जाँदाजाँदै अर्को विवादास्पद निर्णय

logo
प्रकाशित २०७४ जेठ २४ बुधबार
sushila-karki.jpg.jpeg

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण अवकाश लिएकी छन् । बुधबार उनी ६५ वर्ष पुग्दै छन् । 

बिदाइका लागि कार्की मंगलबार बिहान बालुवाटार निवासबाट सर्वोच्च अदालत पुगेकी थिइन् । 

सर्वोच्च अदालतमा रहेको आफ्नो च्याम्बरमा न्यायाधीशसँग सामान्य भेटघाट गरी कार्की पौने ११ बजे नै बाहिरिएकी थिइन् ।

तर, उनले न्यायाधीशका लागि मुद्दाको पेसी भने तोकेकी थिइन् । 

कार्कीको अवकाशपछि बुधबारदेखि वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले कायममुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नेछन् । 

सर्वोच्च प्रशासन स्रोतका अनुसार औपचारिक बिदाइका लागि सर्वोच्चमा कार्यक्रम गर्ने तयारी भए पनि कार्कीले अस्वीकार गरेकी थिइन् । 

उनले आफ्नो च्याम्बरमा पुगेका न्यायाधीश र केही कर्मचारीलाई शुभकामना दिएर बाटो लागेकी थिइन् । उनको बिदाइमा सर्वोच्चमा कुनै रौनक थिएन ।

जाँदाजाँदै आफ्नो एकल निर्णयमा सर्वोच्च अदालतको सचिवालयमार्फत भावी प्रधानन्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाउँदै कार्कीले विवादास्पद निर्णय गरिन् । 

भावी प्रधानन्यायाधीशका लागि सर्वोच्चका न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रसमशेर राणा र जगदीश शर्मा पौडेलको नाम संवैधानिक परिषदमा पठाइएको छ। 

यसअघि प्रधानन्यायाधीशमा सिफारिसका लागि न्यायपरिषद्ले संवैधानिक परिषदमा नाम पठाउने अभ्यास थियो । 

कार्कीले परिषद्लाई ‘बाइपास’ गर्दै अन्तिम समयमा आएर न्यायपालिकामा गलत परम्पराको सुरुवात गरेको भन्दै आलोचनासमेत भएको छ ।

उनी पछिल्लो समयमा न्यायपरिषद् बैठक बसाल्नसमेत असफल रहिन्। 

उनको कार्यकालमा सरकार र संसद्सँग न्यायालयको सम्बन्ध चिसियो। 

आइजिपी नियुक्तिलगायत विवादमा तटस्थ र स्वतन्त्र भूमिकामा रहन नसकेको भन्दै महाभियोगको समेत सामना गर्नुपर्यो । 

उच्च अदालतका ८० न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात भएको भन्दै सरकारी वकिलले इजलास नै बहिष्कार गरे।

महिला प्रधानन्यायाधीश भएका बेला प्रतिबद्धताअनुरूप महिलालाई न्यायाधीश नियुक्तिमा उचित स्थान दिन सकिनन् । 

न्यायाधीश नियुक्तिमा पक्षपात भएको भन्दै नेपाल बारसमेत विरोधमा उत्रियो । 

न्यायको अर्को पाटो रहेका महान्यायाधिवक्ता र बार अध्यक्षसँगको सम्बन्ध सुखद रहेन । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ