arrow

निर्वाचनमा भाग लिन मधेस केन्द्रित दललाई प्रधानमन्त्री देउवाको आग्रह

logo
प्रकाशित २०७४ जेठ २६ शुक्रबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सर्वस्वीकार्यता बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउने योजनामा सरकार रहेको बताएका छन् ।  

व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै  प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि प्रमुख प्रतिपक्षी दलको समेत सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने वचनबद्धता प्रकट गरे।

भरतपुर महानगरपालिकामा मात्रै पहिलो पटक मतपत्र च्यातिएको नभई अन्यत्र पनि त्यस्तो घटना भएको स्मरण गराउँदै प्रधानमन्त्री देउवाले यस विषयमा निर्वाचन आयोगले लिएको निर्णय र यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको समेतलाई सबै दलले सोही आधारमा बुझ्ने र लिनुपर्ने बताए ।

आफू सधैँ समावेशी समानुपातिक प्रतिनिधित्वको पक्षमा रहँदै आएको र सोही पक्षमा अनवरत सङ्घर्ष गर्दै आएको स्पष्ट पार्दै  प्रधानमन्त्री देउवाले संविधानले प्रत्याभूत गरेको विषयमा आफू प्रस्ट रहेको बताए  ।

विगतमा पटक-पटक सहमतिको प्रयास भएको भए पनि सहमतिको वातावरण बन्न नसकेको स्मरण गर्दै प्रधानमन्त्रीले आफू सधैँ राष्ट्रिय सहमति र सहकार्यमै विश्वास गर्ने र सोहीअनुसार अगाडि बढ्ने बताए ।

नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई आफ्नो पार्टीले प्रधानमन्त्री बनाउन सहयोग गरेको प्रसङ्ग अघि सार्दै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल राज्यको अङ्ग नै भएकाले उसलाई उचित जिम्मेवारी र भूमिका दिइने वचनबद्धता प्रकट गरे ।

मधेसी जनताको भावनानुसार संविधान संशोधन जरुरी रहेको र स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गरिने प्रतिबद्धतालाई उनले पटकपटक दोहोर्‍याए ।

प्रधानमन्त्री देउवाले भने – “विगतमा संविधान संशोधन प्रस्ताव पारित गर्ने अवस्था रहेन । हामी निरन्तर प्रयासरत छौँ । मधेस केन्द्रित दलले निर्वाचनमा भाग लिनुपर्छ । उहाँहरु निर्वाचनमा भाग लिनुहुन्छ भन्ने मलाई विश्वास छ ।”

मुलुकको राष्ट्रिय एकता र भावनालाई कमजोर हुन नदिने उल्लेख गर्दै  प्रधानमन्त्रीले सबै वर्ग तथा पक्षको भावनालाई उचित सम्मान गरेर सरकार अगाडि बढ्ने जानकारी दिए ।

विश्वमै कही नभएको समावेशी समानुपातिक प्रणाली नेपालमा रहेको बताउँदै देउवाले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिको दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

संविधानको व्यवस्था अनुसार तीनवटा निर्वाचन सम्पन्न गरेर अगाडि जाने पक्षमा सरकार अविचलित रहेको पनि उनले बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ