arrow

भारत र अमेरिका प्रचण्ड सरकारको विदेश नीतिको निरन्तरताका पक्षमा 

logo
प्रकाशित २०७४ जेठ २७ शनिबार
prachanda-deuba.jpg.jpeg

काठमाडौं । भारत र अमेरिकाले प्रचण्ड नेतृत्वको सरकारले अपनाएको विदेश नीति वर्तमान सरकारले निरन्तरता देओस् भन्ने चाहना व्यक्त गरेका छन् ।

शुक्रबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई टेलिफोन गरेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो चाहना राखेकी छिन् ।

शुक्रबारै अमेरिकी राजदूत टेपलेट्जले महरासँग भेटेर अघिल्लो सरकारको विदेश नीतिको निरन्तरतामा जोड दिइन् ।

शुक्रबार दिउँसो पौने १ बजे विदेशमन्त्री स्वराजले उपप्रधानमन्त्री महरालाई दिल्लीबाट टेलिफोन गरेर बधाई दिएकी थिइन् । 
माओवादी केन्द्रका विदेश विभाग सदस्य एवं महराका प्रमुख स्वकीय सचिव युवराज चौलागाईंका अनुसार करिब १० मिनेट लामो कुराकानीमा स्वराजले विगतको निरन्तरता चाहेको बताएकी थिइन् ।

उपप्रधानमन्त्री महराले अघिल्लो सरकारले लिएको नीति वर्तमान सरकारले लिने आश्वस्त पारेका थिए ।

 ‘विदेशमन्त्री स्वराजले वर्तमान सरकारसँग नजिकबाट सहकार्य गर्ने चाहना व्यक्त गर्नुभएको थियो, उपप्रधानमन्त्री महराले पनि त्यही चाहना व्यक्त गर्नुभएको छ,’ चौलागाईंले भने ।

अमेरिकी राजदूत टेपलेट्जले प्रचण्ड नेतृत्वको सरकारको प्रशंसा गर्दै आर्थिक समृद्धि र संस्थागत विकासको जग बसाएको उल्लेख गरेकी थिइन् ।

 ‘अघिल्लो सरकारको नीतिको निरन्तरता होस् भन्ने हाम्रो चाहना छ । नेपाललाई अमेरिकाको सहयोग जारी रहन्छ, हामी विकास र प्रविधिमा सहयोग गर्न तयार छौँ,’ अमेरिकी राजदूतलाई उद्धृत गर्दै चौलागाईंले भने । 

उपप्रधानमन्त्री महराले अमेरिकी अनुदान बजेट कटौती भएको विषयमा चासो राखेका थिए । 

नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग अपेक्षित रहेको महराको भनाइ थियो । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ