arrow

नेपालगञ्जमा काँग्रेसबाट मेडिकल कलेजका प्रबन्ध निर्देशक र पत्रकार चुनावी मैदानमा

बाँकेमा उम्मेदवारको टुंगो लाग्यो, बर्दियामा विवाद उस्तै

logo
प्रकाशित २०७४ जेठ २७ शनिबार
nepali-congress_banke.jpg

नेपालगञ्ज । निकै छलफल र रस्साकस्सीपछि काँग्रेसले बाँकेमा स्थानीय तह दोस्रो चरणको चुनावका लागि उम्मेदवार टुंगो लगाएको छ ।

बाँके जिल्ला सभापति किरण कोइरालाले भनिन्, ‘३ नम्बर क्षेत्रका केही वडा बाहेक अन्य स्थानीय तहमा वडा तहसम्मकै उम्मेदवारको टुंगो लागेको छ । ३ नम्बर क्षेत्रका केही वडामा केही असहमति छन् ।’ त्यो पनि चाँडै टुंगिन्छ । बाँकेमा उम्मेदवारी टुंग्याउने त्यति असजिलो नभएको उनको भनाई छ ।  

काँग्रेसले नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको प्रमुख र उपप्रमुको उम्मेदवारको नाम टुंगो लगाएको छ । काँग्रेसले नेपालगन्ज उप–महानगरपालिका प्रमुखमा डा. सुरेशकुमार कनोडिया र उपप्रमुखमा उमा थापा मगरलाई उम्मेदवार बनाएको छ । मेयरका उम्मेदवार कनोडिया नेपाल मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका प्रबन्ध निर्देशक हुन् भने थापा पत्रकार हुन् । थापा प्रेस युनियनकी पूर्व केन्द्रीय सदस्य समेत हुन् ।

काँग्रेसले कोहलपुर नगरपालिकाको प्रमुखमा भानुभक्त भट्टराई र उपप्रमुखमा सञ्जु थारुलाई उम्मेदवार बनाएको छ । प्रमुखका उम्मेदवार भट्टराई व्यवसायी हुन् ।

काँग्रेसबाट खजुरा गाउँपालिका अध्यक्षमा नक्की खाँ र उपाध्यक्षमा दीपा आलेले टिकट पाएका छन् भने, राप्ती–सोनारी गाउँपालिका अध्यक्षमा लाहुराम थारु र उपाध्यक्षमा धनीकुमारी खत्रीले उम्मेदवारी दिने पक्का भएको छ ।

८ वटा स्थानीय तह रहेको बाँकेमा काँग्रेसले बैजनाथ गाउँपालिका अध्यक्षमा देवबहादुर खत्री र उपाध्यक्षमा भावना चौधरीलाई चुनावी मैदानमा उतार्दै छ ।

जानकी गाउँपालिकाको अध्यक्षमा छब्बन खाँ उठ्दैछन् भने, उपाध्यक्षमा रामप्यारी यादव उठ्दै छिन् । नरैनापुर र डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको नाम यसअघि नै टुंग्याइसकेको छ ।

काँग्रेसले बाँकेको डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाको प्रमुख, उप्रमुख र वडा अध्यक्षसहितको नाम टुंगो लगाएको छ। डुडुवा गाउँपालिकाको अध्यक्षमा नरेन्द्र चौधरी (कुर्मी) र साहिदा बानुलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

यो गाउँपालिकामा आकांक्षी अरु नरहेपछि  काँग्रेसले चौधरी र बानुको नाम टुंगो लगाएको हो । ननरैनापुर गाउँपालिका अध्यक्षमा काँग्रेसले रामचन्द्र मौर्य र उपाध्यक्षमा अतिकुन निशालाई उम्मेदवार बनाएको छ ।

जिल्ला सभापति कोइरालाले उम्मेदवार चयन भएसँगै बाँकेमा चुनावको रौनक बढेको बताइन। उनले भनिन, ‘पहिले काँग्रेसलाई भोट हाल्नुस भनिन्थ्यो । अब उम्मेदवार स्वयं आफ्ना लागि भोट माग्ने भएकाले रौनक थप बढेको हो ।’

बर्दियामा विवाद उस्तै

बाँकेमा उम्मेदवारी टुंगिएपनि सँगैको बर्दियामा उम्मेदवार छनोट अझै टुंगिएको छैन । जिल्ला सभापति एवं सांसद सञ्जयकुमार गौतमले भने, ‘टुंगिनु पर्ने हो । तर, के भयो भन्ने समेत थाहा छैन । म काठमाडौं मै छु । आइतबार जाँदै छु ।’

६ वटा क्लस्टरमा कुरा मिल्यो, उनले भने, ‘२ वटामा मिलेको छैन । ठाकुरबाबा र मधुवनमा आ–आफ्नै ढिपीले ढिलाई भइरहेको छ ।’ नेताहरुले टुंग्याउलान् नि ।’ धेरै ठूलो विवाद होइन । सहभागिताको विवाद हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ