arrow

औषधीमा राष्ट्रवाद

logo
विप्लव अधिकारी,
प्रकाशित २०७४ जेठ २८ आइतबार
biplab-adhikari.jpg

हरेक विरामीको उपचारमा झन्डै ५५ प्रतिशत खर्चको हिस्सा औषधीजन्य पदार्थको नै हुन्छ। त्यसैले पनि औषधीको बिषय हरेक नागरिकको सरोकारको विषय हो र बन्नु पर्छ पनि। नेपालमा पनि यसका बिषयमा हुन थालेका बहसलाई सकारात्मक रुपमा हेर्नु पर्दछ। अझ स्वास्थ्य मन्त्रालयले हालै औषधी क्षेत्रमा गरेका निर्णयहरुले त यो बिषयलाई चिया पसलसम्म पुर्याएको छ। स्वास्थ्य मन्त्रालयको नेतृत्व सधै बोलपत्र, अस्पताल, डाक्टर, बजेट  इत्यादी मात्रामा अल्झिने परम्परा भन्दा फरक शैलिमा यसपटक देखियो। जनमानसमा ठूलो महत्व राख्ने स्वास्थ्य अन्तर्गतको सानो बजेटको हिस्सा ओगटेको नेपालकै एक मात्र ओषधि सम्वन्धि नियमन निकाय औषधि व्यवस्था विभागलाई यति चासो सायदै कुनै नेतृत्वले हिजोका दिनमा दिएका थिए। जुन हालै निवृत भएका स्वास्थ्य मन्त्री गगन थापाले दिए।

नेपाल सरकारले बोलपत्र आब्हान गरी उद्योग मार्फत सिधै खरिद गर्दा २२ पैसामा किनेको औषधी बजारमा आम जनताले किन्दा किन ५ रुपैया पर्छ? यो मुल्य कसरी घटाउन सकिन्छ? जनप्रेमी राजनीतिक ब्यक्तिले यस्तो सोच राखेर कार्य गर्नु पक्कै पनि जनताकै हित गर्ने कदमको रुपमा बुझ्न जरुरी छ। राजनीतिक नेतृत्वले मुल्यको अन्तरलाई आम जनताको चासोको बिषय बनाउँदै गर्दा हामी जस्ता औषधी ब्यवसायीले आफ्नो मान मर्दन सोचेर मन्त्रीलाई गालीगलोज शैलिमा विरोधका भाषा प्रयोग गर्नु भन्दा आम जनताको स्वास्थ्यको लागी यो क्षेत्रका व्यवसायीले कसरी योगदान पुर्याएका छन् भनेर बुझाउनेतिर लाग्नु वुद्धिमानी ठहरिन्छ। एउटा सामान्य काँचो पदार्थमा भएको औषधीको गुणलाई औषधीको रुपमा संरक्षण गरी गुणस्तरिय रुपमै विरामीसम्म पुर्याउन आवश्यक उत्पादन प्रकृया, परिक्षण, प्याकिङ, वजारीकरणमा अपनाउनु पर्ने सावधानी, यसमा जोडिने प्रविधिको प्रयोग, गुणस्तरियता कायमै राखी जनताको उपचार कोठा सम्म औषधि पुर्याउन लाग्ने तहगत संवेदनशिलता र यसको खर्चको वारेमा  व्यवसायीहरुले वहस चलाएका भए पक्कै जनताले सजिलै बुझिसक्थे। मलाई आशा छ अव निकट भविष्यमानै औषधि विज्ञ वा फर्मासिश्टहरुले यस विषयलाई आफ्नो पेशागत दायित्व सम्झेर प्रष्टाउदै जानेछन।

भर्खरै सम्पन्न बिश्व स्वास्थ्य संगठनको जेनेभा सम्मेलनको चासोलाई हेर्दा पनि बिश्वब्यापी रुपमा औषधिको मुल्य कसरी घटाउन सकिन्छ भन्ने विषयले राम्रो प्रवेश पाएको थियो। भारतिय सरकारले पनि औषधीको मुल्य कम गर्नको लागी Drug price control order (DPCO) लागु गरेको भएता पनि आशा अनुरुप सफलता नपाए पछि अहिले जन औषधालयको अवधारणाबाट अघि बढेको देखिन्छ। जन औषधालयले वोलपत्र मार्फत उद्योगसँग खरिद गर्दछ, जुन बजार भन्दा सस्ता छन। सँगैको छिमेकी राष्ट्रमा गरिएको मुल्य सुलभ गर्ने उदाहरणीय कार्यलाई गगन थापा नेतृत्वले नेपालमा पनि अवलम्वन गर्न खोज्नु हामी सवै नेपालीका लागी गर्वको बिषय हुनुपर्छ।

ब्यापार घाटा काम गर्नु पर्छ,आयात प्रतिस्थापनमा जोड दिनु पर्छ भनेर गफ गरेर मात्र पुग्दैन। नेपालमा यथेष्ठ उत्पादन हुने केहि औषधीको आयात बन्द गर्ने गगन थापाले स्वास्थ्य मन्त्रीको रुपमा गरेको निर्णयलाई युवा पुस्ताको नेतृत्वले लिएको उदाहरणीय कार्यको रुपमा हेर्नु पर्दछ। औषधि ब्यवस्था विभागका महानिर्देशकको नेतृत्वमा गठित सुझाव कार्यदलले दिएको सुझाव प्रतिवेदन पेश गर्ने बितिकै आयातकर्ताहरुले गरेका आन्दोलनप्रति यो राष्ट्रका सचेत नागरिकले पक्कै चासो दिएकै छन्। स्वदेशमा उत्पादन हुने औषधिलाई प्राथमिकता दिनलाई औषधि नीति २०५१ र २०७१ सालको पैठारी सम्वन्धि नयाँ प्रावधानले स्वास्थ्य मन्त्रालयलाई एथेष्ठ अधिकार दिएको भएता पनि स्वास्थ्यमन्त्री गगन थापाले हचुवाकै भरमा निर्णय नगर्नुको कारण जनताको स्वास्थ्यप्रतिको उनको संवेदनशिलता नै हो भनि बुझ्न गाह्रो नपर्ला। उत्पादकहरुले आफुहरु ७५ वटा भन्दा बढि औषधीमा आत्मनिर्भर रहेको भनेता पनि औषधि ब्यवस्था विभागको महानिर्देशक नारायण ढकालको संयोजकत्वमा विज्ञ समुह बनाई अध्ययन गराई प्रतिवेदनका आधारमा ३० वटा मात्र औषधी हाल आयातमा रोक लगाउने सुझावको आधारमा गरेको निर्णयलाई अल्लारेपन भनि हिड्ने कथित उपबुज्रुक पनि वरिपरी नभएका होइनन्। गुणस्तरको वारेमा कसैले नारावाजी गर्नु भन्दा नियमक निकाय औषधि व्यवस्था विभागलाई निर्णायक बनाउनु नै बुद्धिमतापुर्ण रहने कुरामा कसैलाई दुविधा नहोला । रोक लगाउने भनिएका ३० वटा औषधिको मुल्य निर्धारण सरकारले गरे पश्चात मात्र कार्यान्वयन लगिने दुरदर्शी निर्णयको कारणले अव स्वदेशी उध्योगले एकाधिकार पाइ महङोमा बिक्रि गर्ने वहस गर्नु सचेत आम नागरिकलाई अध्यारोमा राख्ने प्रयास भन्दा केही होइन।

अवको बहस स्वदेशी उद्योगलाई प्रोत्साहन गर्दा देशलाई हुने दीर्घकालिन फाइदा, राट्रियताको जगेर्ना र परनिर्भरता हटाउनेतर्फ केन्दित हुनुपर्दछ। मलाई अचम्म लाग्छ समग्र स्वास्थ्य क्षेत्रको उत्थान र आम जनताको स्वास्थ्यको चासो लिएर लडेका डा गोविन्द केसीलाई यो राष्ट्र हितको निर्णयमा कतै साथ दिनु पर्छ जस्तो लागेन त पक्कै ? परम्परागत भनिने पार्टीका कुरा त छोडौ विवेकशिल र साझा पार्टीका अभियन्तालाई राष्ट्र हित र देशलाई आर्थिक रुपमा दुरगामी फाइदा पुर्याउने कार्य गर्दा गगन थापालाई व्यत्तिगत रुपमा गाली गरिरहेका दृष्य र समाचार पढ्दा कतै पनि छोएन त? कि यिनीहरु पनि अन्य पार्टीका नेताले गरेका सहि कार्यलाई प्रसंशा गर्दा आफ्नो जनमत घट्छ भन्ने सोचवाट ग्रसित छन्। नयाँ भएकाले यिनलाई नवुझिएको हुन सक्छ, समयले चिनाउला, बुझाउला।

अघोषित नाकावन्दी गरेको समयमा तत्कालिन प्रधानमन्त्री केपी ओलीले देखाएको अडान र राष्ट्रियताको पक्षमा उभिने हामी सम्पुर्ण नेपालीहरुले आज तिनै मुलतः भारतिय औषधीहरु पैठारी गर्न पाउनु पर्छ भन्दै नारावाजी गर्दा भारतलाई त इज्जत मिल्ला तर तिनै केपी ओलिले शिर लुकाउनु भने पक्कै पर्नेछ। भोलि फेरी संकट आएमा त्यस वेलाका नेतृत्वहरुले शिर उचो पारी आफ्नो राट्रको स्वाभिमान जोगाउने आँट जगाउन हामीले पनि सक्नु पर्दछ। हामीले धेरै लडाइहरु लडी सक्यौ तर पनि आफ्नो देशलाई मजवुत वनाउन सकेका छैनौ। अव हाम्रो लडाई स्वदेशी उद्योग प्रबर्धन गरी आत्मनिर्भर वनाउनेतर्फ केन्द्रीत हुनुपर्दछ। हामी युवाले अव वनाना रिपब्लीक र आरमानी होइन, हाम्रै  उद्योगका कपडा र जुत्ता प्रयोग गर्ने समय आएको छ। म गगन थापा जस्ता राष्ट्र प्रेमीलाई आग्रह गर्छु शुरुवात गर्नुहोस हामी जनता हजारौ लाखौ युवा तपाई सगैं नेपालकै उत्पादनमा सजिने छौं। सयौ नेपाली डिजाइनर देश फर्कीने छन्, हाम्रा गार्मेन्ट उध्योगलाई विदेश छिर्न सहुलियत माग्नु पर्दैन, हामीले उपयोग गरेरै ति फस्टाउने छन्।

सधै हामी प्राप्त सुविधा उपभोग गर्दै राज्य र नेताहरुलाई गाली गरेर मात्र आफ्नो दायित्वबाट पन्छिन खोज्छौ। उखान टुक्का जस्तो लाग्ने केपी ओलिको रेल अव हाम्रै पालामा चढ्न पाइन्छ जस्तो लाग्न थालि सक्यो। जनार्दन र कुलमानले हामीलाई लोड सेडिङबाट मुक्त गराए। यिनीहरुले हामीलाई आश जगाएका छन्, अव हामीले यिनलाई राम्रा काममा साथ दिनु पर्छ। देश बिकाश गर्न हरेक नागरिकको आफ्नो आफ्नो दायित्व छन्, त्यसलाई हरेकले पालना गर्नुपर्छ।

देश आफै बन्दैन सबैले मिलेर बनाउनु पर्छ। त्यसैले औषधि आयातकर्ताहरुले पनि अब देशलाई आत्मनिर्भर बनाई आर्थिक उन्नतितर्फ लैजाने निर्णयको पक्षमा उभिदै, स्वदेशी उद्योग, नियमक निकायसँग समन्वय गरी आफ्नो व्यवसायलाई कसरी ब्यवस्थित गर्न सकिन्छ भन्ने छलफल अगाडी बढाउनु नै सच्चा राष्ट्रियता र देशप्रेम हुनेछ। यो लडाई स्वदेशी औषधि उध्योग र औषधी पैठारिकर्ता बिचको लडाइ बन्न हुन्न। यसलाई सबै मिलि राष्ट्रलाई आत्मनिर्भर बनाई राष्ट्र निर्माणमा समग्र औषधी क्षेत्रको योगदान इतिहासको पन्नामा लेखाउन सक्नु नै देश र जनताको हितमा हुने छ। आयातकर्तालाई विस्थापित होइन, स्वदेशी उध्योग प्रवर्धनमा कसरी सँगै हातेमालो गर्न सकिन्छ भन्नेमा ध्यान दिन पनि जरुरी छ। सवै पक्ष मिलि अगाडी बढ्न जरुरी छ। देश आफै बन्दैन सबै मिलेर बनाउनु पर्छ। गगन थापाले शुरु गरेको औषधि उध्योग प्रोत्साहन गर्ने नीतिलाई आत्मासाथ गरौ। यो नै सच्चा राष्ट्रवाद हो। यसमा हामी कसैले पनि काँग्रेंस, एमाले, माओवादी, राप्रपा, फोरम, राजपा उत्पादक भएर वा आयतकर्ता भएर हैन हामी नेपाली मात्र भएर सोच्न सक्नु पर्छ।

(लेखक अधिकारी औषधी उत्पादक पनि हुन।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ