arrow

विराटनगर महानगरको मेयरमा एमालेले पत्याएका विनोद ढकाल को हुन् ?

logo
प्रकाशित २०७४ जेठ २८ आइतबार
binod_dhakal_uml.jpg

विराटनगर । राजनीतिक तथा औद्योगिक नगरीको रुपमा परिचित विराटनगर महानगरपालिकामा नेकपा एमालेले जिल्ला अध्यक्ष विनोद ढकाललाई मेयरमा उठाउने निर्णय गरेसँगै उनको चर्चा चुलिएको छ । राष्ट्रिय सञ्चार माध्यमदेखि स्थानीय सञ्चार माध्यम सम्म उनको चर्चा छाएको छ । पहिलो चरणको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेले उठाएको उम्मेदवार भएकोले पनि उनको बारेमा धेरैले जिज्ञाशा राखिरहेका हुन्छन् । वि.सं. २०२५ साल चैत्रमा भोजपुरको याङपाङमा जन्मिएका ढकाल वि.स.२०४१ सालदेखि विराटनगरको राजनीतिमा सक्रिय छन् । स्थानीय शारदा माविबाट एसएलसी उत्तीर्ण गरी विराटनगर आएका ढकालले वीएलसम्मको अध्ययन गरेका छन् । 

एमाले अखिलको मोरङ जिल्ला अध्यक्ष हुँदै वि.स.२०५० सालमा संगठन विभाग प्रमुख भएका ढकाल वि.स.२०५५ सालमा केन्द्रीय उपाध्यक्षसम्म भए । वि.स. २०६६ र वि.स.२०७३ मा उनी निर्वाचित जिल्ला अध्यक्ष भए । वि.स. २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टीको पराजीत भएपछि उनलाई कार्यवहाक सचिवको जिम्मेवारी दिईएको थियो । त्यसपछिको उनको मेहनतका कारण वि.स. २०७० सालमा आईपुग्दा एमालेले पुरानो शाखलाई मोरङमा फर्काउन सफल भयो । 

भोजपुरको विकट गाउँबाट विराटनगर आएका ढकालले वि.स. २०४६ सालको जनआन्दोलनमा विराटनगरमा विद्यार्थीको तर्फबाट अग्रगामी भूमिका निर्वाह गरे । २०६२÷०६३ को जनआन्दोलनमा विराटनगरमा उनले अग्रमोर्चामा रहेर आन्दोलन गरे । 

विराटनगरका हरेक आन्दोलनमा उनको महत्वपूर्ण भूमिका रह्यो । विराटनगरलाई महानगरपालिका बनाउने अभियानमा सवैभन्दा पहिले पार्टी भित्रबाट निर्णय गर्ने एमाले हो । यसमा पनि उनको योगदान महत्वपूर्ण छ । उनले उत्पादन गरेका सयौं नेताहरु अहिले स्थानीय तहमा उम्मेदवार बनेका छन् । कतिपय भने यसअघिको चुनावमा विजयी समेत भएका छन् । 

मोरङ जिल्लामा दुई पटक निर्वाचित पार्टी अध्यक्ष भएका ढकाल एमाले भित्र ‘भिजन’ भएका र सवैलाई मिलाएर लैजान सक्ने नेताका रुपमा परिचित छन् । विराटनगरको मुहार फेर्न सक्ने क्षमता भएका नेता भित्र उनी पर्दछन् । उनको उम्मेदवारीले कार्यकर्तामा व्यापक उत्साह छाएको नगर इन्चार्ज सागर थापाले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ