arrow

आकांक्षी बढी भएपछि दलहरूलाई उम्मेदवार तय गर्न सकस

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
3party.jpg

लहान। स्थानीय तहको घोषित दोस्रो चरणको निर्वाचन मिति नजिकिँदै गए पनि सिरहामा नेकपा (एमाले) बाहेकका राजनीतिक दलहरूले अझै उम्मेदवार तय गर्न सकेको छैन। उम्मेदवारका आकांक्षी बढी देखिएकाले उम्मेदवारी मनोनयन दर्ता गराउने समय चार दिनमात्र बाँकी रहँदा पनि अधिकांश दलहरूलाई उम्मेवार तय गर्न सकस भएको छ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टीलगायतका दलहरूले उम्मेदवार तयका लागि अन्तिम तयारी गरिरहेको जनाएका छन्।

यता एमालेले भने जिल्लाको धनगढीमाई नगरपालिका र सखुवानन्कारकट्टी गाउँपालिकाबाहेक सबै नगरपालिका र गाउँपालिकाको प्रमुख पदमा उम्मेदवार तय गरी प्रचारप्रसारलाई तीव्र बनाएको छ।

नेपाली काँग्रेसका जिल्ला सभापति तथा सांसद रामचन्द्र यादवले जिल्लाका अधिकांश स्थानीय तहमा उम्मेदवार टुङ्गो लागिसकेको र अबको केही दिनभित्रै सबै उम्मेदवारको नाम सार्वजनिक गरिने बताए।

माओवादी केन्द्रले पनि जिल्लाका अधिकांश गाउँपालिका तथा नगरपालिकाको उम्मेवार टुङ्गो लागिसकेको जनाएको छ। माओवादी नेता तथा पोलिटब्युरो सदस्य हरिनारायण चौधरीले पार्टीले धेरैजसो गाउँपालिका तथा नगरपालिकाको टुङ्गो लगाएको र टुङ्गो लगाउन बाँकी रहेको स्थानीय तहको उम्मेदवार पनि असार १ अघि नै टुङ्गो लगाउने जानकारी दिए।

यस्तै सङ्घीय समाजवादी फोरमका जिल्ला अध्यक्ष बादवप्रसाद यादवले अहिले उम्मेदवारी दर्ताको समय बाँकी रहेकाले पार्टीभित्र उम्मेदवार छनोटबारे गृहकार्य भइरहेकाले चाँडै उम्मेवादर टुङ्गो लाग्ने बताए।

यता एमाले सिरहाका अध्यक्ष प्रमोद यादवका अनुसार एमालेले लहान नगरपालिकाकाको प्रमुखमा मुनी साह, गोलबजार नगारपालिकाको प्रमुखमा श्याम श्रेष्ठ, मिर्चैया नगरपालिकाको प्रमुखमा प्रदीप महासेठ र सुखीपुर नगरपालिकाको प्रमुखमा रामअवतार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्यसैगरी कल्याणपुर नगरपालिकाको प्रमुखमा रामपुकार साह, सिरहा नगरपालिकाको प्रमुखमा डा नवीन यादवलाई उम्मेदवार बनाउने निर्णय भएको छ भने धनगढीमाई नगरपालिका र बडियारपट्टी गाउँपालिकाको उम्मेदवार प्रदेश समितिले टोली बनाई पछि निर्णय गर्ने एमाले सिरहा अध्यक्ष यादवले बताए।

सिरहाको सात नगरपालिका र १० गाउँपालिकामा ४२६ वटा मतदान केन्द्र तय गरिएको छ भने भने तीन लाख ३१ हजार ५९६ मतदाता रहेका छन्। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ