arrow

बस दुर्घटनामा ११ महिने बालकको मृत्यु, चार गम्भीर घाइते

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
accident-final.jpeg

खोटाङ । दिक्तेलबाट यात्रु लिएर जयरामघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार राति दुर्घटना हुँदा एघार महिने बालकको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् । 

बेलुका दिक्तेलबाट २६ जना यात्रु लिएर हिँडेको बा २ ख ७०७१ नम्बरको यात्रुबाहक बस हलेसी तुवाचुङ नगरपालिका–१ च्यास्मिटारमा करिब ९ बजेतिर दुर्घटना हुँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ११ महिने शिशु अजित विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । 

मध्यपहाडी यातायात व्यवसायी सङ्घद्वारा सञ्चालित बस अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना हुँदा रुपाकोट नगरपालिका–५ लफ्याङका ३० वर्षीया अनु राई, ३२ वर्षीया मनकला राई, १४ महिनाका नयन राई र २१ महिनाका समनिया राई गम्भीर घाइते भएका छन् । 

उनीहरुको थप उपचारका लागि छिमेकी जिल्ला उदयपुर पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए । 

बसमा सवार अन्य यात्रुलाई इलाका प्रहरी चौकी, हलेसीबाट खटिएका प्रहरी र स्थानीयवासीले राति नै उद्धार गरी हलेसी तुवाचुङ नगरपालिकास्थित दुर्छिम स्वास्थ्य चौकी पुर्याइएको छ । उनीहरुको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । 

राति पानी परिरहेको समयमा बसलाई घुम्तीमा मोड्ने क्रममा अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

दुर्घटनालगत्तै बस चालक आकाश मगर फरार रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनाग्रस्त बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको स्थानीयले बताएका छन् । 

दुर्घटनास्थल जयरामघाटभन्दा करिब तीन किलोमिटर माथि पर्छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ