arrow

प्रधानन्यायाधीशमा को–को भए सिफारिस ?

logo
प्रकाशित २०७४ जेठ ३० मंगलबार
Suprim-court-new-a.jpeg

काठमाडौं । न्याय परिषद्ले भावी प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि कामु प्रधानन्यायाधीश गोपाल पराजुलीसहित वरिष्ठताका आधारमा ६ जनाको नाम सिफारिस गरेको छ ।

परिषद्को मंगलबार बसेको बैठले कामु प्रधानन्यायाधीश पराजुली, सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशम्सेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरी संवैधानिक परिषद्को सचिवालयमा पठाएको न्याय परिषद्का सचिव नहकुल सुवेदीले जानकारी दिए ।

परिषद्ले उच्च अदालतका न्यायाधीशलाई देहायका उच्च अदालत तथा उच्च अदालतको इजलासमा पाँचजना न्यायाधीशको काजमा सिफारिस गरेको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश विनोद शर्मालाई उच्च अदालत पाटन हेटौंडा इजलासमा, उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश राजकुमार वनलाई उच्च अदालत विराटनगर ओखलढुंगा इजलासमा काज सिफारिस गरेको छ ।

त्यसैगरी, उच्च अदालत जनकपुर, वीरगन्ज इजलासका न्यायाधीश ऋषिराम दवाडीलाई उच्च अदालत विराटनगर ओखलढुंगा इजलासमा, उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई उच्च अदालत विराटनगर धनकुटा इजलासमा र उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश गोकर्ण डाँगीलाई उच्च अदालत सुर्खेतमा परिषद्ले काजमा सिफारिस गर्ने निर्णय गरेको छ ।

कामु प्रधानन्यायाधीश पराजुलीको जन्ममिति कायम गर्ने सम्बन्धमा सर्वोच्च अदालतको उल्लिखित आदेशसमेतका आधारमा तत्कालीन न्यायाधीश पराजुलीको जन्ममिति २०१० साल वैशाख १६ कायम गरी त्यसको जानकारी संवैधानिक परिषदमा पठाइदिने निर्णय गरेको छ । यसले पराजुलीलाई प्रधानन्यायाधीश बन्ने बाटो खुला गरेको छ भने उनको कार्यकाल ११ महिना छ ।

परिषद्ले उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश बाबुराम रेग्मीलाई विशेष अदालतको सदस्यमा तोक्न नेपाल सरकारलाई परामर्श प्रदान गर्ने निर्णय गरेको छ ।

उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशउपर हालसम्म न्याय परिषद् सचिवालयमा जम्मा २१९ थान उजुरी दर्ता भएको छ ।

त्यसमध्ये परिषद्ले ६० थान उजुरी फछ्र्योट भइ बाँकी रहेका १५९ थान उजुरीको लामो समयदेखि प्रारम्भिक अध्ययन, अनुसन्धान तथा छानबिनबाट पेस भएको प्रतिवेदनको आधारमा ९३ थान उजुरी तामेलीमा राख्ने निर्णय गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ