arrow

चुनावी रौनकले तात्यो कञ्चनपुर, त्रिपक्षीय प्रतिस्पर्धा हुने 

logo
प्रकाशित २०७४ जेठ ३१ बुधबार
Kanchanpur_District.png

भीमदत्तनगर । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरका नौवटै जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । 

आगामी असार १४ गते हुने निर्वाचनका लागि चुनावी घरदैलोलाई तीव्र बनाएका दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

भीमदत्तनगरपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी प्रतिस्पर्धामा अगाडि आउने देखिएको छ । 

गत संविधानसभाको निर्वाचनमा कञ्चनपुरमा चारवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस विजयी भए पनि स्थानीय तहको निर्वाचनमा भने सहजै जित हासिल गर्न काँग्रेसलाई सहज छैन । 

अग्रस्थानमा जिल्लाभरका उम्मेदवार टुङ्गो लगाएर घरदैलोमा जुटिरहेको नेकपा एमाले र सबैभन्दा ढिलो गरी उम्मेदवार टुङ्गो लगाएको काँग्रेसबीच यहाँका कतिपय नगरपालिकामा कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी लगायतका अन्य साना दलले चुनावी प्रतिस्पर्धामा भाग लिएपनि सङ्गठन कमजोर भएका कारण निर्वाचन आफ्नो पक्षमा पार्न निकै सकस छ । 

प्रमुख राजनीतिक दलले यहाँको जेठो भीमदत्त नगरपालिकाको प्रमुखको लडाइँलाई आफ्नो अस्तित्वको लडाँई सम्झिएका छन् ।

नेपाली काँग्रेसबाट भीमदत्तको प्रमुख पदमा नेपाली काँग्रेसबाट पदम बोगटीलाई उम्मेदवार बनाइएको छ । 

अघिल्लो वर्ष काँग्रेस कञ्चनपुरको पार्टी सभापतिमा पराजित बोगटी दशकौँदेखि सक्रिय राजनीतिको पर्दामा देखिँदै आएका उम्मेदवार हुन् । 

त्यसैगरी, नेकपा एमालेबाट उम्मेदवार बनेका सुरेन्द्र विष्ट एमाले कञ्चनपुरका सचिव हुन् । 

सङ्गठनभित्र राम्रो पकड भएका विष्ट भीमदत्तनगरवासीसामु कति लोकप्रिय बन्छन्, त्यो निर्वाचनको परिणामले देखाउनेछ ।

नेकपा माओवादी केन्द्रले पार्टीका केन्द्रीय सदस्य गोपाल रसायलीलाई भीमदत्तको प्रमुखमा उम्मेदवार बनाएको छ । 

माओवादी खुल्ला राजनीतिमा आएसँगै रसायली जिल्लामा पार्टीका सक्रिय नेताका रुपमा परिचित छन् । क्षेत्रीय राजनीतिको समेत प्रभाव रहने कञ्चनपुरमा रसायली पनि भेगीय मत पाउनेमा आशावादी छन् । 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीमा नवप्रदेशी गजेन्द्रबहादुर चन्द भीमदत्तनगरपालिकाको प्रमुख पदको उम्मेदवार भएयता दिनरात घरदैलोलाई निरन्तरता दिइरहेका छन् । 

कञ्चनपुर निर्माण व्यवसायी सङ्घको अध्यक्षसमेत रहेका चन्द भीमदत्तमा युवापुस्तामाझ बढी परिचित छन् । 

चुनावी सरगर्मी सुरु हुँदाताका चन्दले नेपाली काँग्रेस र एमाले लगायतका दलको मत काट्ने चर्चा गरिएपनि पछिल्ला दिनमा उहाँको पकड पनि बढ्दै गइरहेको छ । 

सङ्गठन कमजोर भएकाले उहाँलाई पनि निर्वाचनमा विजयी हुन त्यति सहज भने छैन । त्यसकारण हालसम्मको चुनावी सरगर्मी हेर्दा भीमदत्तनगरपालिकामा काँग्रेस, एमाले र माओवादी केन्द्रबीच नै प्रमुख पदमा प्रतिस्पर्धा कडा हुने देखिएको छ । 

त्यसैगरी, महाकाली नगरपालिकामा नेपाली काँग्रेसको सङ्गठन बलियो मानिन्छ । 

तर पनि त्यहाँ प्रमुख राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने स्थानीय नेताको भनाइ छ । 

यहाँको बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, बेल्डाँडी र लालझाडी गाउँपालिकामा पनि प्रमुख तीन राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिन्छ । 

टिकट वितरणमा गरेको ढिलाइका कारण काँग्रेसभित्र केही असहज महसुस भएको छ भने पहिलो चरणको निर्वाचनको मतपरिणामको निरन्तरता नै कञ्चनपुरमा दोहोरिनेमा नेकपा एमाले आशावादी छ । 

माओवादी केन्द्रमा पछिल्लो समय अन्य पार्टी परित्याग गरी आउने क्रम बढेसँगै चुनावी घरदैलोलाई तीव्र बनाएपछि माओवादी पनि केही नगर र गाउँपालिकामा जित हासिल गर्ने दाबी गर्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ