arrow

झापामा एघार हजार पिन्ट रगत आपूर्ति

logo
प्रकाशित २०७४ असार १ बिहिबार
blood-donation.jpg

झापा । चालु आवको ११ महिनाको अवधिमा नेपाल रेडक्रस सोसाइटी झापाले बिरामीलाई ११ हजार पिन्ट उपलब्ध गराएको छ । 

जिल्लाको तीनवटा ब्लड बैंक र तीन वटा ब्लड युटिनबाट उक्त परिमाणमा रगत उपलब्ध गराइएको नेपाल रेडक्रस सोइसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए । 

जिल्लामा रगतको मागसँगै आपूर्ति पनि बढ्दै गएको छ । आव २०७० -७१ मा नौ हजार पिन्ट, २०७१-७२ मा १० हजार ७५० र आव २०७२-७३ मा १० हजार १९५ पिन्ट रगत आपूर्ति गरिएको रेडक्रस झापाले जनाएको छ । 

जिल्लामा रक्तदान गर्नेको सङ्ख्या बढ्दै गए पनि १०० जनामा ६० जनामात्र रक्तदानका लागि योग्य हुने गरेको पाइएको छ । “रक्तदान गर्ने मानिस बढेका छन्, सङ्कलन पनि बढेको छ,” ढकालले भने – “धेरैमा रक्तदातामा उच्च रक्तचाप, न्यून रक्तचाप, मधुमेहलगायत दीर्घरोग देखिएकाले उनीहरु रक्तदानका लागि अयोग्य हुने गरेका छन् ।” 

भारतको सिलिगुढीका अस्पतालबाट रगतका लागि पे्रस्क्रिप्सन लिएर बिरामी यहाँ आउने गरेका छन् । “त्यताका अस्पतालले पहिला नेपालको रगत लिँदैन्थे,” सभापति ढकालले भने – “अहिले लिन्छन्, त्यताबाट आउनेलाई पनि रगत उपलब्ध गराउने गरेका छौँ ।” 

रेडक्रस झापाले भद्रपुर, बिर्तामोड र दमक रक्तसञ्चार केन्द्र र बिर्तामोडको बिएन्डसी अस्पताल, दमकको आम्दा र लाइफलाइन अस्पतालमा रक्तसञ्चार युनिट सञ्चालन गर्दै आएको छ । इलाम, पाँचथर, ताप्लेजुङबाट बिरामी उपचारका लागि बिर्तामोड आउने गरेकाले करिब ७० प्रतिशत रगत यही खपत हुने गरेको रेडक्रस झापाले जनाएको छ । 

रेडक्रस उपशाखा बिर्तामोडमा यसै सातादेखि ब्लड सेपरेटर मेसिन सञ्चालन आउन लागेको सभापति ढकालले जानकारी दिए । ब्लड सेपरेसन मेसिन सञ्चालन आएसँगै एक पिन्ट रगत चारजना पुग्ने भएको छ । रगतमा हुने प्लेट्लेस, प्लाज्मा, रातो रक्तकोष र सेतो रक्तकोष छुट्याएर बिरामीलाई जे आवश्यक छ त्यही दिन सकिने छ । ब्लड सेपरेसन मेसिन सञ्चालन गर्न आवश्यक ११ जना दक्ष जनशक्ति तयारी अवस्थामा रहेको ढकालले जानकारी दिए । 

ब्लड सेपरेटर मेसिन पूर्वमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नेपाल रेडक्रस सोसाइटी मोरङले विराटनगरमा सञ्चालनमा ल्याइएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ