arrow

दोस्रो चरणको निर्वाचनः विभिन्न ठाउँमा निर्विरोध निर्वाचित

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
Congress-UML_Election.jpg

काठमाडौँ । दोश्रो चरणको निर्वाचनमा देशका विभिन्न भागमा जनप्रतिनिधी निर्विरोध निर्वाचित भएका समाचार प्राप्त भएका छन् । 

निस्दीमा एमाले 

पाल्पाको निस्दी गाउँपालिका–३ झिरुबासमा दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छिन् ।  

नेकपा एमालेबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी कुमारी विक निर्विरोध निर्वाचित भएकी हुन् ।  

आइतबार भएको उम्मेदवारको मनोनयनको दर्ता क्रममा दलित महिला सदस्य पदमा उनको मात्र उम्मेदवारी आएको र उनीविरुद्ध कसैले उजुरी नदिएपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको सहायक मतदान अधिकृत कल्पना अर्यालले जानकारी दिइन् । 

मिक्वाखोलामा काँग्रेस 

दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसले सुदूरपूर्वी जिल्ला ताप्लेजुङबाट खाता खोलेको छ । 

जिल्लाको मिक्वाखोला गाउँपालिका–३ लिवाङको दलित महिला सदस्य पदमा लछिमाया विश्वकर्माको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी हुन् । 

नेपाली काँग्रेसबाट लछिमायाको बाहेक अरु कसैको उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए । 

बस्नेतले भने, “उनी बाहेक अरु कसैको पनि उम्मेदवारी परेन र दाबी विरोध पनि परेन ।” लछिमाया जिल्लाको पहिलो निर्वाचित जनप्रतिनिधि बनेकी हुन् । 

उक्त वडामा काँग्रेसबाहेकका दलले दलित पहिला उम्मेदवार नपाएपछि काँग्रेस निर्विरोध भएको हो । 

तेह्रथुममा काँग्रेस 

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–१, पौठाकमा नेपाली काँग्रेसकी दलित महिला सदस्य उम्मेदवार विजुलीमाया शङ्कर निर्विरोध निर्वाचित भएकी छिन् । 

आइतबार भएको उम्मेदवारी मनोनयनमा उनको एकल उम्मेदवारी परेको थियो । 

सो पदमा अरु कसैले पनि उम्मेदवारी नदिएको र दाबी विरोध पनि नपरेकाले शङ्कर निर्विरोध निर्वाचित भएको मेन्छ्यायेम गाउँपालिकाका निर्वाचन अधिकृत प्रकाश आचार्यले बताए । 

सो वडामा एकमात्रै दलित घरधुरी भएकाले शङ्करको एकल उम्मेदवारी परेको हो । 

यसपालिको स्थानीय निर्वाचनमा शङ्कर जिल्लाकै पहिलो जनप्रतिनिधिको रुपमा समेत चयन भएकी हुन् ।  

कानुनीरुपमै हरेक वडाबाट एकजना दलित महिला निर्वाचित हुने व्यवस्था भएपछि वर्षौंदेखि उत्पीडन, दमन र विभेद सहेर बसिरहेको दलित समुदायका महिला नेतृत्वमा पुग्दैछन् । 

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ४३ वडामध्ये बाँकी ४२ वडामा ११६ जना दलित महिला चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ