arrow

विराटनगरको विरासत जोगाउनेमा निश्चिन्त काँग्रेस, विरासत उल्टिनेमा ढुक्क एमाले

logo
प्रकाशित २०७४ असार ८ बिहिबार
bhim_binod.JPG

काठमाडौं । नेपाली काँग्रेसको जन्मभूमि हो मोरङ । त्यसैमाथि पनि मोरङको विराटनगर त झनै काँग्रेसको उद्भव थलोको रुपमा चिनिन्छ । वि‌‌‌‍‍सं २००३ साल फागुन २० गते नेपालको इतिहासमा नै पहिलोपल्ट विराटनगरका औद्यौगिक मजदूरहरूले बिहान सवा सातबाट सुरु गरेको ऐतिहासिक हड्तालबाट नै नेपालमा प्रजातन्त्रको सुरुवात भएको थियो । 

त्यतिबेलादेखि नै नेपाली काँग्रेसको गढको रुपमा विकास भएको मोरङको विराटनगरमा पनि पहिलोपल्ट यसपाली स्थानीय तहको निर्वाचन हुँदैछ । कूल ३ वटा निर्वाचन क्षेत्रले जोड्ने महानगरमा भने अहिले नेपाली काँग्रेसबाट भीम पराजुलीले उम्मेदवारी दिएका छन् । एमालेबाट भने दुई पटकसम्म जिल्ला अध्यक्ष बनिसकेका विनोद ढकालले उम्मेदवारी दिएका छन् । त्यहाँ काँग्रेसले एकल उम्मेदवारी दिएको छ भने एमालेका उम्मेदवारलाई मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले समर्थन जनाएको छ । तेस्रो दल नेकपा माओवादी केन्द्रले भने संघीय समाजवादी फोरमका उम्मेदवारलाई समर्थन जनाएको छ । 

त्यसो त विराटनगर महानगरलाई छोएको तीनवटै क्षेत्रहरु नेपाली काँग्रेसले जितेको क्षेत्रहरु हुन् । विराटनगरको क्षेत्र नं ५ जहाँ नेपाली काँग्रेसका अमृत अर्याल विजयी भएका हुन् भने क्षेत्र नं ६ मा महेश आचार्यले संविधानसभाको निर्वाचनमा विजय हाँसिल गरेका हुन् । क्षेत्र नं ७ मा भने काँग्रेस केन्द्रीय सदस्य शेखर कोइराला विजयी भएका हुन् । त्यसैले पनि नेपाली काँग्रेसमाथि आफ्नो विरासत जोगाउनै पर्ने दबाब थपिएको छ । 

उता, काँग्रेसलाई मूल टक्कर दिने एमालेको पनि प्रभावभने कम्ति छैन । जिल्लामा दुई दुई कार्यकालसम्म काम गरेका जिल्ला अध्यक्षले महानगरको मेयरमा उम्मेदवारी दिएका छन् । पहिलो चरणको निर्वाचनमा देखिएको एमालेको माहोल लगायत कारणले एमालेको पनि यो क्षेत्रमा सम्भावना उत्तिकै देखिन्छ । 

के भन्छन् उम्मेदवारहरु ?
नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार पराजुली नेपाली काँग्रेसका जिल्ला सभापति तथा केन्द्रीय नेताहरुको निर्देशन बमोजिम तीब्र रुपमा निर्वाचन प्रचारप्रसार चलिरहेको दाबी गर्छन् । उनी यो क्षेत्र काँग्रेसको पकड क्षेत्र नै रहेकोले काँग्रेसलाई जीतको लागि त्यति असहज अवस्था नरहेको भएपनि अहिलेसम्म केही साथीहरु आन्तरिक अनन्तुष्टिका कारण केही निष्कृय भईदिएकोले समस्या भएको भएपनि त्यो समस्या पनि अन्त भईसकेकोले काँग्रेसले जित्ने निश्चित रहेको बताउँछन् । 

अन्तर्घात्को सम्भावना नरहेको भएपनि प्रचारप्रसारमा नै साथीहरुको निष्कृयताले समस्या सिर्जना गरेको थियो त्यो पनि अब अन्त हुँदै गएको छ पराजुलीले हाम्राकुरासँग भने विपीले भन्नुभएजस्तै आफ्नो छायासँग आफ्नै डराउनु परेको हो अरुसँग होईन । 

विराटनगर महानगरपालिकामा कृष्णप्रसाद कोइरालाको कर्मथलो, प्रजातन्त्रको विगुल थप्ने ठाउँ र नेपाली काँग्रेसको पुख्र्यौली घर समेत रहेकोले १९ वटै वडामा नेपाली काँग्रेस नै विजयी हुन्छन् भन्ने आफूहरुको आकलन रहेको पराजुलीले बताए । यो ऐतिहासिक ठाउँको गरिमा जोगाउँदै यसको विकास निर्माणमा समेत आफूले नयाँ भिजल लिएर काम गर्ने प्रतिवद्धता पनि पराजुलीको थियो ।

उता, एमालेको तर्फबाट मेयरका उम्मेदवार ढकालले पनि पूर्खाको विरासत हेरेर विराटनगरबासीले परम्परागत मत नदिने बताएका छन् । अब पूर्खालाई सम्मान गर्दै आफूहरु आधुनिक रुपमा विकसित महानगर बनाउनको लागि एमालेको अभियानमा जनताले साथ दिने दाबी पनि उनले गरे । विराटनगर महानगरपालिकालाई महानगर बनाउन पर्छ भन्ने पहिलो आवाज एमालेले नै निकालेको भन्दै त्यो अभियान अहिले सफल भएको उनले दाबी गरे ।

विराटनगरलाई औद्योगिक नगरीको रुपमा विकास गर्न, यहाँको बस्ती विकास गर्न र यहाँको सर्वत्र विकासको लागि स्पष्ट खाका बोकेर आफू उम्मेदवार बनेकोले पनि आफू विजयी बन्ने पक्कापक्की रहेको उनले स्पष्ट पारे । 

विराटनगरमहानगरमा ४० प्रतिशतको हाराहारीमा मधेशी जनताको पकड रहेको छ भने ६० प्रतिशत पहाडी मूलका मान्छेहरु रहेका छन् । त्यहाँ विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको पनि राम्रो प्रभाव रहेको छ । त्यसैले एमालेले मधेशी समुदायको मत तान्नको लागि भनेर लोकतान्त्रिकसँग तालमेल पनि गरेको छ । यसले गर्दा पनि एमाले त्यहाँ बलियो रहेको एमालेको बुझाई रहेको छ । एमालेले कूल १९ वटा वडा मध्ये १, ३, ४, ५, १०, ११, १२, र १७ वडाबाट राम्रो मतको आशा गरेको छ । काँग्रेसको लागि त महानगरको कुनैपनि वडामा हार्ने छुट नै छैन । तर, कूल १ लाख १२ हजार मतदाताले कसलाई पत्याउँछन् त्यो भने असार १४ गतेसम्म नकुरी पत्ता लगाउन गाह्रै पर्ला । 

के हो विराटनगरको महत्व ? 

वि‍ स‌ं २००३ साल फागुन २० गते नेपालको इतिहासमा पहिलोपल्ट विराटनगरका औद्यौगिक मजदूरहरूले बिहान सवा सातबाट ऐतिहासिक हडताल शुरु गरेका थिए। त्यसै हडतालमा त्यतिखेर त्यहाँको कारखानामा कार्यरत गिरिजा प्रसाद कोइरालालाई मजदूरहरूले आफ्नो अध्यक्ष चुनेका थिए। त्यो आन्दोलनलाई वीपी कोइराला र गणेशमान सिंहको पनि सहयोग र निर्देशन थियो। पछि हडताल दवाउने सिलसिलामा राणा शाहीले उनीहरुका आमा बहिनीहरू र मजदूर नेताहरू सहित उनीहरुलाई समेत गिरफ्तार गरेर थुनेको थियो। 

उक्त आन्दोलनमा विश्वेश्वर प्रसाद कोइराला, गिरिजा प्रसाद कोइराला, तारिणी प्रसाद कोइराला, मनमोहन अधिकारी, युवराज अधिकारी र गेहेन्द्रहरि शर्मालाई २४ दिनको पैदलयात्रा पश्चात काठमाण्डौको सुन्दरीजल पुर्याइएको थियो। राणा शाहीबाट भएका ज्याजती तत्काल रोक्न सरकारलाई नेपाली राष्ट्रिय काँग्रेसले ११ चैत, २००३ (२६ मार्च, १९४७) मा चेतावनी दियो।

यसरी सुरुवात यहाँबाट गरेको तत्कालीन काँग्र्रेसले पछि नेपालमा बैठक नै बस्न नसकेर भारतको जोगवनी तिर गएर बैठक बस्नु परेको थियो । त्यसैले प्रजातन्त्र आएपछि यो ठाउँ विशेष महत्वको ठाउँ बन्न पुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ