arrow

कालीखोलामा पहिरोले प्रहरी भ्यान र ट्रक पुर्‍यो, प्रहरी सहायक निरीक्षकसहित चार प्रहरी बेपत्ता

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
accident-final.jpeg

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै बिहीबार राति खसेको पहिरोले एउटा प्रहरीको भ्यान र अर्को एउटा ट्रक पुरेको छ । 

दुर्घटनामा प्रहरीको भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित चारजना बेपत्ता भएका छन् भने ट्रकका सहयोगी चालकलाई उद्धार गरिएको छ । चालक सकुशल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार राति १ बजेर ५ मिनेट जाँदा पहिरोले प्रहरीको ना१झ ९३ नंको भ्यान र ना५ख ७८२७ नंको ट्रकलाई पुरेको थियो । भ्यान पुरिएकै अवस्थामा र ट्रक नदीमा खसेको थापाले बताए । 

भ्यानसँगै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ, प्रहरी जवान दीपककुमार मास्के, सन्दीप कार्की र लीलबहादुर चेपाङ बेपत्ता भएको थापाले बताए । त्रिशूली नदीमा ट्रकको केही भाग देखिएको छ । 

ट्रकका सहयोगी चालकलाई उद्धार गरी उपचारका लागि तनहुँ पठाइएको उनले बताए । चालक भने सकुशल रहेको थापाको भनाइ छ । 

पहिरोमुनि नै प्रहरीको भ्यान रहेको र पहिरोले भ्यानसहित प्रहरी पुरेको अनुमान गरिएको थापाले बताए । 

रातिदेखि नै पहिरो पन्छाउने क्रम जारी रहेको छ । सो सडकखण्डको कालीखोलाको मुखमा राति ९ः४० बजे पहिरो खसेपछि प्रहरी पहिरो पन्छाउन पुगेका थिए । 

सो ठाउँको पहिरो पन्छाउन नपाउँदै चारकिलोमा पहिरो खसेको थियो । सो पहिरो पन्छाउन कठिन भएपछि फर्कने क्रममा मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ कालीखोला नपुग्दै एकाएक पहिरो खसेर गाडी पुरिएको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए । 

सो ठाउँमा पहिलो पटक पहिरो खसेको हो । 

सो ठाउँ र चारकिलोमा ठूला पहिरा खसेका छन् । घटनास्थलमा राति नै प्रजिअ नारायणप्रसाद भट्ट, प्रहरी प्रमुख दीपक थापासहित सुरक्षा निकायका जिल्लास्थित प्रमुखहरु पुगेका छन् । 

पहिरोका कारण दुवैतर्फ सवारीको लाम लागेको छ । पहिरोको बीचमा पनि गाडी रहेकाले यात्रु भयभित भएका छन् ।

सो सडक दिउँसो बन्द गरेर काम गर्ने हुँदा रातको समयमा सवारी चाप बढ्ने गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ