arrow

महाकालीमा २३ जना दलित समुदायका प्रमुख र उपप्रमुखका उम्मेदवार

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार

भीमदत्तनगर। दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पश्चिम महाकाली अञ्चलबाट दलित समुदायका २३ जनाले नगर र गाउँपालिकाको प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

लामो समयदेखि उपेक्षामा पर्दै आएका दलित समुदायका प्रतिनिधिलाई नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगातयका अन्य साना दलले विभिन्न नगर र गाउँपालिकाका उम्मेदवार बनाएका हुन् ।

नेपाली काँग्रेसले महाकाली नगरपालिकाको प्रमुखमा वीरबहादुर सुनारलाई उम्मेदवार बनाएको छ । महाकाली नगरपालिकामा जनमोर्चा नेपालले भक्त सुनारलाई प्रमुख र निरु कोलीलाई उपप्रमुखको रुपमा चुनावी मैदानमा उतारेको छ ।

त्यसैगरी भीमदत्त नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रले गोपाल रसायलीलाई उम्मेदवार बनाएर चुनावी घरदैलो अभियानलाई गति दिएको छ भने नयाँ शक्ति पार्टी नेपालले सो नगरपालिकामा सीता सुनारलाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाले भीमदत्त नगरपालिकाको प्रमुख पदमा मञ्जु परियारलाई अघि सारेको छ भने नयाँ शक्ति पार्टीले सीता नागरीलाई उपप्रमुखको उम्मेदवार बनाएर चुनावी प्रचारप्रसारमा जुटेको छ ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाले यहाँको कृष्णपुर नगरपालिकामा गोविन्द विकलाई अघि सारेको छ । माओवादी केन्द्रले पुनर्वास नगरपालिकाको उपप्रमुखमा सीता विकलाई अघि सारेको जनाएको छ भने माओवादीबाटै यहाँको बेल्डाँडी गाउँपालिकाको अध्यक्षमा नन्दकिशोर एसकेलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी पहाडी जिल्ला डडेल्धुरामा पनि विभिन्न राजनीति दलले दलित समुदायको प्रतिनिधित्व गराउँदै उम्मेदवार बनाएका छन् । एमालेले अजयमेरु गाउँपालिकामा शारदा विकलाई उपाध्यक्षमा अघि सारेको छ सोही गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रले कलावती कुमाललाई प्रतिस्पर्धी बनाएको छ । त्यसैगरी माओवादीबाटै आलीताल गाउँपालिकाको अध्यक्षमा जगत पार्कीलाई गन्यापधुरा गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाले राधिका भुललाई अघि सारेको छ ।

बैतडीजिल्लास्थित पाटन नगरपालिकाको प्रमुखमा एमालेले नरेश विकलाई, मेलौली नगरपालिकाको उपप्रमुखमा माओवादीले सुनिता दयाललाई,शिवदान गाउँपालिकाको उपाध्यक्षमा माओवादीले गङ्गा दमाईंलाई, सिगास गाउँपालिकाको उपाध्यक्षमा माओवादीबाटै लक्ष्मी विक, दोगडाकेदार गाउँपालिकाको उपाध्यक्षमा माओवादीकै लक्ष्मी ओडलाई, काँग्रेसले पाटन नगरपालिकामा सरस्वती कोलीलाई र पुरचौँडी नगरपालिकामा उत्तरा नेपालीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।

माओवादीबाट दार्चुलाको शैल्यशिखर नगरपालिकामा लक्ष्मी लोहारलाई माओवादीले उपप्रमुखमा र मलिकार्जुन गाउँपालिकाको उपाध्यक्षमा लक्ष्मी विकलाई उम्मेदवार बनाएको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ