arrow

दोस्रो चरणको निर्वाचनका उम्मेदवारलाई उमेरले छेकेन, ५१ जना असी वर्ष उमेर नाघेका

शताब्दी पुरुष वडाध्यक्षका उम्मेदवार

logo
प्रकाशित २०७४ असार १० शनिबार
election-local-2017.jpg

काठमाडौँ । दोस्रो चरणको यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा ८० वर्ष उमेर नाघेका ५१ जना ज्येष्ठ नागरिकले उम्मेदवारी दिएका छन् ।

उनीहरुमध्ये तीनजनाले नगरपालिकाको प्रमुखमा, दुईजनाले गाउँपालिका अध्यक्षमा, १६ जनाले वडाध्यक्षमा र बाँकी २९ जनाले वडा सदस्य, महिला वडा सदस्य र दलित वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवार बनेका ज्येष्ठ नागरिकमध्ये तीनजना ९० वर्ष उमेर काटिसकेका व्यक्ति हुन् ।

शताब्दी पुरुषबाट वडाध्यक्षमा उम्मेदवारी

प्रदेश नं ७ को बझाङ जिल्लामा शताब्दी पुरुषका रुपमा परिचित विष्णुबहादुर रावतले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।  विसं १९७६ जेठ १७ गते जन्मिएका ९८ वर्षीय रावतले दुर्गाथली गाउँपालिका वडा नं ३ मा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

मतदाता नं ०९९४२१७६ रहेका रावत सम्भवतः मुलुककै सबैभन्दा ज्येष्ठ उम्मेदवारको रुपमा जिल्ला निर्वाचन कार्यालय बझाङले उनलाई नेपालकै वयोवृद्धबाट मनोनयन दर्ता भएको भनी निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

त्यस्तै, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–५ मा पनि ९५ वर्षीय टेकबहादुर तामाङले गाउँपालिका सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका छन् ।  

सुनसरीको कोसी गाउँपालिका–८ का ९३ वर्षीय सफिद मियाँले एमाले पार्टीको तर्फबाट वडा सदस्यमा मनोनयनपत्र दर्ता गराएका छन् ।

सुनसरीकै इटहरी उपमहानगरपालिका वडा नं ५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारका रुपमा ८७ बर्षीय हिरामणि शर्मा पोख्रेलको उम्मेदवारी परेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिकाका ८९ वर्षीय देवकुमार भारतीले स्वतन्त्र उम्मेदवारका रुपमा नगरप्रमुखमा उम्मेदवारी दिएको निर्वाचन आयोगबाट थाहा भएको छ ।

बाँकेको वैजनाथ गाउँपालिका–४ का लालीराम थारु राप्रपाको तर्फबाट वडा सदस्यमा उम्मेदवार बनेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका वडा नं ३ मा दलित महिला उम्मेदवारमा ८६ वर्षीया जसोधरा चमार्नीले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट वडा सदस्यमा मनोनयन दर्ता गराएकी छिन् ।

पाल्पाको तानसेन नगरपालिकाको प्रमुखमा ८१ वर्षीय रेवन्तबहादुर विष्ट र बाँकेको कोहलपुर नगरपालिकाको प्रमुखमा ८१ वर्षीया भगौती थारुले राप्रपाको तर्फबाट उम्मेदवारी दिएका छन् ।

इलामको फाक्फोक्थुम गाउँपालिका अध्यक्षमा ८४ वर्षीय डम्बरबहादुर राई राप्रपाबाट तथा बैतडीको सिगास गाउँपालिकाको अध्यक्षमा ८१ वर्षीय देवसिंह धामी स्वतन्त्र उम्मेदवार बनेका छन् ।

असी वर्ष उमेर नाघेका सबैभन्दा धेरै उम्मेदवार राप्रपाका छन् भने त्यसपछि क्रमशः काँग्रेस, स्वतन्त्र, एमाले र माओवादी केन्द्रका रहेको तथ्याङ्कले देखाएको छ ।

उनीहरुमध्ये ४४ जना पुरुष तथा सातजना महिला रहेको निर्वाचन आयोगमा उपलब्ध विवरणबाट थाहा भएको छ ।

एक्काइस वर्षका ८८ जना उम्मेदवार

दोस्रो चरणको यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा हुने स्थानीय तहको निर्वाचनमा २१ वर्षका ८८ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।

एक्काइस वर्षदेखि ३७ वर्ष उमेर समूहका यसअघि स्थानीय तहको निर्वाचनमा समेत मतदान नगरेका १७ हजार ५१० जना, ३८ वर्षदेखि ६० वर्ष उमेर समूहका ३४ हजार ७५६ जना पनि दोस्रो चरणको निर्वाचनमा उम्मेदवार बनेका छन् ।

एकसट्ठी वर्षदेखि ७९ वर्ष उमेर समूहका पाँच हजार ६९१ जनाले पनि आफ्नो घरदैलोमा हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएको तथ्याङ्क निर्वाचन आयोगका सूचना प्रणाली तथा व्यवस्थापन शाखाका वरिष्ठ कम्प्युटर अधिकृत चन्द्र शाहले जानकारी दिए ।

सबैभन्दा थोरै मतदाता

मुलुकका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि हुने दोस्रो चरणको निर्वाचनमा सबैभन्दा थोरै मतदाता बाजुराको हिमाली गाउँपालिका–३ हिमालभक्ति आवासीय विद्यालय गुम्बा मतदानस्थलमा ३० जनामात्रै मतदाता रहेको आयोगले जनाएको छ ।

त्यस्तै, ताप्लेजुङको फक्ताङ्लुको ग्यावला मतदानस्थलमा २१ महिला र १९ पुरुष गरी ४० जनामात्रै मतदाता रहेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ