arrow

एमालेका जिल्ला अध्यक्षहरु : महानगरको मेयरदेखि गाउँपालिकाको अध्यक्षसम्मका उम्मेदवार

logo
प्रकाशित २०७४ असार ११ आइतबार
cpnuml.jpeg

काठमाडौं । नेकपा एमालेका विभिन्न जिल्लाका जिल्ला अध्यक्षहरुले स्थानीय तहको निर्वाचनलाई निकै महत्वका साथ हेरेको देखिएको छ । दोस्रो तहको निर्वाचनमा विभिन्न स्थानीय तहमा एमालेका जिल्ला अध्यक्षहरुले नै उम्मेदवारी दिएपछि उनीहरुले स्थानीय तहलाई महत्वदिएको बुझिएको हो । 

नेकपा एमालेका मोरङका जिल्ला अध्यक्ष हुन् विनोद ढकाल । उनी अहिले विराटनगर महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका छन् । दुई पटकसम्म जिल्ला अध्यक्ष बनेका ढकाल महानगरको मेयरको उम्मेदवार बनेका हुन् । अहिले विराटनगर महानगरपालिकामा फोरम लोकतान्त्रिकसँग एमालेले गठबन्धन गरेको छ । 

त्यस्तै, नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठक अहिले बुद्धशान्ति गाउँपालिकाको प्रमुखमा उठेका छन्। उनी पनि स्थानीय जनप्रतिनिधि बन्न इच्छुक भएका हुन् । यसरी एमालेका विभिन्न जिल्लाका जिल्ला अध्यक्षहरु महानगरपालिकादेखि गाउँपालिकाको अध्यक्षसम्म उम्मेदवारी दिनको लागि तयार भएका हुन् । 

नेकपा एमालेले दिएको जानकारी अनुसार निर्वाचन हुँदै गरेका ३५ जिल्लामध्ये १० वटा जिल्लाका जिल्ला अध्यक्षहरुले विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका छन् । यसरी उम्मेदवारी दिइएका जिल्लाहरूमा भोजपुर, पाँचथर, झापा, मोरङ, सुनसरी, ओखलढुंगा, गुल्मी, बर्दिया, प्युठान र रूपन्देही रहेको एमालेले जनाएको छ । 

इटहरी उपमहानगरपालिकाको प्रमुखमा सुनसरीका जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीले उम्मेदवारी दिएका छन् । ओखलढुंगाका अध्यक्ष मोहन श्रेष्ठ सिद्धिचरण नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका छन् । भोजपुरका अध्यक्ष प्रेमकुमार राई हतुवागढी गाउँपालिकाको अध्यक्ष र पाँचथरका अध्यक्ष राजकुमार भण्डारी फिदिम नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका छन् ।

यस बाहेक पनि गुल्मीका अध्यक्ष मधुकृष्ण पन्थ छत्रकोट नगरपालिकाको प्रमुख, बर्दियाका अध्यक्ष हरिप्रसाद ज्ञवाली गुलरिया नगरपालिकाको प्रमुख, प्युठानका अध्यक्ष तुलसीराम शर्मा प्युठान नगरपालिकाको प्रमुख र रूपन्देहीका अध्यक्ष शिवराज सुवेदी बुटवल उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ