arrow

गिरानचौरको एकीकृत बस्तीमा सुविधासम्पन्न लाईब्रेरी

logo
प्रकाशित २०७४ असार ११ आइतबार
giranchaur.jpg

काठमाडौं । सिन्धुपाल्चोक गिरानचौरस्थित धुर्मस सुन्तली फाउण्डेशनद्धारा निर्माण गरिएको एकीकृत वस्तीमा अत्याधुनिक पुस्तकालय संचालनमा आएको छ । गोकर्णेश्वर नगरपालिका–८ निवासी समाजसेवी दीपकसिंह भण्डारी तथा उनकी श्रीमती शकुन्तला भण्डारीले स्वर्गीय पिता टुन्नरसिंह भण्डारी तथा माता यज्ञ कुमारी भण्डारीको सम्झनामा पुस्तकालय स्थापना गरिदिएका हुन् । 

विभिन्न खाले पुस्तक, फर्निचर, ल्यापटप सहित पुस्तकालयमा करीब ८ लाख रुपैयाँ बराबरको सामाग्री रहेको भण्डारीले जानकारी दिए । सिन्धुपाल्चोक क्षेत्र नम्बर तीनका सभासद् शेरबहादुर तामाङ, गोकर्णेश्वर नगरापालिकाका मेयर सन्तोष चालिसे लगायतले एकीकृत वस्तीमा आयोजित एक कार्यक्रमबीच संयुक्त रुपमा पुस्तकालयको उद्घाटन गरे । 

सोही अवसरमा एकीकृत वस्तीको सहयोगार्थ गोकर्णेश्वर नगरपालिकाका समाजसेवीहरु लक्ष्मण श्रेष्ठले ५ हजार तथा मोहन बराल र प्रदीप ठकुरीले पनि ३–३ हजार रुपैया प्रदान गरे । चामुण्डा माध्यामिक विद्यालयका प्रधानाध्यापक यादवप्रसाद पौडेलले विद्यालय परिवारको तर्फबाट शैक्षिक तथा खेलकूदका सामाग्रीहरु प्रदान गरेका थिए भने गोकर्णेश्वर नगरपालिकाकै अच्यूत चालिसेले व्यक्तिगत रुपमा पोडियम उपलब्ध गराए । 

कार्यक्रममा सभासद् शेरबहादुर तामाङ, गोकर्णेश्वर नगरापालिकाका मेयर सन्तोष चालिसे लगायतले एकीकृत वस्तीका लागि पुस्तकालय स्थापना गरिदिएर समाजसेवी भण्डारीले उदाहरणीय कार्य गरेको चर्चा गरे । वस्तीको तर्फबाट समाजसेवी भण्डारीको विशेष सम्मान समेत गरिएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका स्थानीय समाजसेवीहरु शत्रुध्नबहादुर सुवेदी, डाक्टर सुवास प्याकुरेल, कुमार श्रेष्ठ, आनन्द बराल लगायतका वक्ताहरुले एकीकृत वस्तीमा शैक्षिक वातावरण सिर्जना पुस्तकालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । कार्यक्रम संयोजक चामुण्डा माध्यामिक विद्यालय व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङलाई पनि सो अवसरमा सम्मान गरियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ