arrow

मौन अवधिमा पत्रकार सम्मेलन : देउवालाई ओलीको तीर

राजदूतहरुलाई भोट माग्न लगाउनु भन्दा पार्टीबाट उम्मेदवार नै बनाउनु भए हुन्थ्यो

logo
प्रकाशित २०७४ असार १२ सोमबार
oli_news.JPG

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले मौन अवधिमा पत्रकार भेटघाट गरेर पार्टीको धारणा राखेका छन् । दोस्रो चरणको चुनावको मौन समय जारी रहँदा एमाले निकट प्रेस चौतारीले पार्टी केन्द्रीय कार्यालयमै ओलीको विशेष पत्रकार सम्मेलन गरेको हो ।

ओलीले निर्वाचनप्रति आफ्नो पार्टीको धारणा राखेका छन् । सरकार र प्रहरी प्रशासनको आलोचनामा बढी समय खर्चेका ओलीले दोस्रो चरणको चुनाव स्वतन्त्र र निष्पक्ष रुपमा हुनु पर्नेमा जोड दिए । ओलीले भने, ‘देश र जनताले देखेको निष्पक्षता हुनु पर्दछ । निर्वाचन आयोग गरिमामय र मर्यादित रुपमा प्रस्तुत हुनुपर्दछ । एमाले आयोगलाई कुनै प्रकारको अवाञ्छित दबाब दिँदैन । सहयोग गर्छ ।’ शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराइयोस् भन्ने एमालेको माग हो ।

ओलीले सरकार र पं्रहरी प्रशासनलाई निर्वाचनका लागि शान्ति सुरक्षाको चुस्त व्यवस्था गरी भयरहित वातावरणमा मत हाल्न पाउने व्यवस्था गर्न भनेका छन् । ओलीले भने, ‘एमालेका उम्मेदवार र नेतालाई लक्षित गरेर घरैमा बम राख्ने गतिविधि भएका छन् । धरानमा एमाले उम्मेदवारको घरमा बम भेटिएको छ । आइतबार बुटवलमा म सहभागी भएको सभाको मञ्च पछाडि तीन वटा बम भेटियो । त्यो सेनाले निष्क्रिय नपारेको भए ? यसबारे सरकारको ध्यान जाओस् ।’

सरकारतर्फ लक्षित गर्दै ओलीले भने, ‘सकेको ठाउँमा बम राख्ने, नसकेको ठाउँमा राज्य आतंक मच्चाउने हो कि के क्या हो ?’ दोलखामा एमाले कार्यकर्ताको खाना खाइरहेकै ठाउँमा पार्टीको आडमा अपराधिक गतिविधि गर्ने तत्वले हत्या गरेको सुनाउँदै ओलीले मतपेटिका फाल्ने, बुथ कब्जा गर्ने काम भए, यो सबैले देखेकै छन् भने । घटनाका अभियुक्तलाई ओलीले ज्यानमारा भनेका छन् । उनले भने, ‘ ‘ज्यानमारा’ छाड्ने र पीडित परिवार र एमाले सांसद पार्वत गुरुङमाथि नै मुद्दा लगाउने षड्यन्त्र भइरहेको छ ।’

ओलीले सरकारलाई धेरै उत्ताउला हर्कत नगर्न, भने । ‘बझाङ, दोलखामा जे देखियो, त्यस प्रकारको नहोस्, ओलीले थपे, ‘निर्वाचन निष्पक्ष गराउनुस् । हाम्रो संयमको सीमा हुन्छ, अचाक्ली नगर्नुस ।’ ओलीले अहिलेका सरकार संचालकहरुलाई सद्दाम हुसेनसँग तुलना गरेका छन्  ।   उनले भने, ‘पिनोसेको शासन यो भन्दा के फरक थियो ? सद्दाम हुसेन, सद्दाम हुसेन भन्छन्, सद्दाम यी हुसेनहरु भन्दा के फरक थिए ?’

ओलीले प्रधानमन्त्री देउवातिर बोली सोझ्याउँदै भने, ‘विभिन्न देशका राजदूतहरु गाउँगाउँ गएर मत मागिरहेका छन् । गाउँमा गएर भोट माग्नु भन्दा कुटनीतिक सम्बन्ध बलियो पारे हुन्थ्यो । प्रधानमन्त्री जीलाई म भन्न चाहन्छु । नभए पार्टीबाट उहाँहरुलाई उम्मेदवार नै बनाउनु भा भए हुन्थ्यो । राज्यको सेवा सुविधा लिएर यसो गर्नु सोभनीय हुँदैन ।’ यस्तै, पर्यवेक्षकलाई समेत ओलीले निर्भिक र निष्पक्ष भएर काम गर्न भनेका छन् । 

संचारमाध्यमलाई सत्य तथ्य र जनतालाई विश्वास लाग्ने खालका प्रस्तुति दिन भन्दै ओलीले बाजुरामा उम्मेदवारी दर्ताको दिन माथिबाट ढुंगा हानेर एमाले कार्यकर्ताको हत्या भएको घटनालाई केही सञ्चार माध्यमले झडप भनेको भन्दै आक्रोश पोखे । ओलीले भने, ‘झडप त्यस्तो हुन्छ ? आक्रमण भन्न सकिन्नँ । कि नेपाली शब्दकोष प्रयोगको अवस्था यही हो ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ