arrow

नेपाली कामदार नरोक्न बहराइनी राजपरिवारको आग्रह 

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
baharain.jpg

काठमाडौं । बहराइनका राजपरिवार, प्रधानमन्त्री, मन्त्रीहरूसहितका पदाधिकारीले घरबिदामा नेपाल गएका घरेलु कामदारलाई फर्किने इजाजत दिन नेपाल सरकारसँग अनुरोध गरेका छन् । 

बहराइनको राजधानी मन्मास्थित नेपाली दूतावासलाई पत्र पठाउँदै उनीहरूले बिनाकारण कामदार रोकिएकोमा असन्तुष्टिसमेत जनाएका छन् ।  कामदार रोकिनुको कारणबारे राजदरबारलगायत निकायबाट दूतावासमा दिनहुँ औपचारिक र अनौपचारिक सोधपुछ भइरहेको छ । 

गत चैत २० गते संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी देशमा दुई देशबीच श्रम सम्झौता नभएसम्म घरेलु कामदार नपठाउन निर्देशन दिएपछि श्रम मन्त्रालयले श्रम स्वीकृतिमा रोक लगाएको छ ।  

मन्त्रालयको निर्देशनमा वैदेशिक रोजगार विभागले घरबिदामा फर्केकालाई पुनः काममा जान अनुमति दिएको छैन ।

 ‘राजदरबारका सदस्य, प्रतिष्ठित शेखहरू, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरूका घरमा काम गर्दै आएका कामदार नेपालमा रोकिएका छन्,’ बहराइनका लागि कार्यवाहक राजदूत खगराज पाण्डेले भने, ‘कतिपय त दूतावासमै आएर हामीसँग जवाफ माग्छन्। रोकिएका कामदार तुरुन्त आउने प्रबन्ध मिलाइदिन अनुरोध गरिरहेका छन् ।’ 

बहराइनमा रहेका नेपालीको ठूलो हिस्सा राजपरिवार र उनीहरूका सदस्य, महत्त्वपूर्ण सरकारी अधिकारीका घरमा काम गर्छन् । ‘बहराइनमा झण्डै २५ हजार नेपाली रहेकामा करिब १० हजार घरेलु कामदार महत्त्वपूर्ण परिवारका घरमा काम गर्छन्,’ उनले भने, ‘तीमध्ये १५ प्रतिशत महिला छन् ।’

पाण्डेका अनुसार ड्राइभर, क्लिनर, सुरक्षा गार्ड, माली, भान्सेका रूपमा धेरै नेपाली कार्यरत छन्। बिदामा जानुअघि दूतावासले ती कामदारको करारपत्र हेरी पुनः आउन भन्दै विभागलाई सिफारिस गरेर पठाएको थियो । 

दूतावासको सिफारिसले काम नगर्ने भन्दै विभागले पन्छाइदिएपछि कामदारले आफ्ना स्पोन्सरलाई खबर गरेर बसेका छन्। ‘मलाई ३ सय डलर तलब दिन्छ । बस्न र खान चिन्ता छैन,’ राजपरिवारको घरमा कार्यरत एक कामदारले भने, ‘अहिले बिदा सकेर जान खोज्दा पाइँदैन भन्छन्।’  

बहराइनका अधिकारीले यस विषयलाई गम्भीर रूपमा लिएको बुझेपछि नेपाली दूतावासले यथाशक्य आवश्यक निर्णय लिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ।

परराष्ट्रले श्रम मन्त्रालयलाई यो विषय टुंग्याउन अनुरोध गरेको छ।

बहराइनसँग २००८ मै श्रम सम्झौता भइसकेको हो । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ