arrow

एमालेका सांसद् सुनुवार पैसा बाँड्दैगर्दा नियन्त्रणमा, पाल्पामा पनि पैसा बाँड्ने समातिए  

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
uml-okhaldhunga.jpg

काठमाडौं। ओखलढुंगामा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद् यज्ञराज सुनुवार मतदातालाई पैसा बाँड्दाबाँड्दै पक्राउ परेको स्थानियले दावी गरेका छन्। उनलाई स्थानीय तहको दोस्रो चरणको निर्वाचनको लागि मोलुङ गाउँपालिकाको रामपुर भन्ने ठाउँका मतदातालाई पैसा बाँडिरहेको बेलामा रंगेहात पक्राउ गरेको दावी गरेका हुन्।

उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रामपुरलाई जिम्मा लगाईदिएका एक स्थानियले बताएका छन्। सांसद् सुनुवार त्यही गाउँपालिकाका मतदाता हुन् । उनी उक्त गाउँपालिकाको श्रीचौर भन्ने ठाउँका हुन्। उनीलाई एमाले उम्मेदवार मणिराज राईको पक्षमा मत माग्दै गर्दा स्थानीयले नियन्त्रणमा लिएको काँग्रेस स्थानीय नेता बालकृष्ण दाहालले जानकारी दिए।
 
चुनावका लागि पैसा बाँड्ने र गुण्डागर्दी समेत गर्न खोजेपछि स्थानीयले उनी विरुद्ध नाराबाजी समेत गरेका थिए । स्थिती अप्रिय हुने भएपछि उनलाई प्रहरीले सुरक्षा दिएर त्यहाँबाट अन्यत्र लैजान खोजेपनि स्थानीयले उनलाई अन्यत्र लैजानबाट रोक्न खोजेका थिए।

पैसा बाँड्नै आएपनि सांसद् भएको नाताले उनलाई प्रहरीले सुरक्षा भने दिएको थियो। उनले मतदाताको हैसियत हेरेर प्रतिव्यक्ति दुई हजारदेखि २० हजारसम्म बाँडेको स्थानियले बताएको ओखलढुङगाबाट पत्रकार खीला कार्कीले बताए।

सांसद सुनुवारले भने आफू माथि लगाइएको आरोप सरासर झूटो भएको बताएका छन्। उनले आफ्नो क्षेत्रकै सांसदका पराजीत दाहाल र राम कार्की लगायतले खसी काटेर मासु बाड्न लागेको बेलामा स्थानियहरुले उनीहरुलाई अवरोध गरेको दावी गरे। आफू रामपुरमा रहेको बेला मतदातालाई प्रभावित पार्ने खबर पाएर त्यहाँ पुगेको बताउँदै उनले भने, ' आफूहरु सहितका साथीहरुले मतदाताहरुलाई प्रभावित पार्ने काम रोक्न भनेपछि आफूहरु विरुद्ध नारावाजी भएको हो। निर्वाचन आचारसंहिता तोडेको छैन। नत पैसा नै वाँडिएको हो।'

दाहालले भने एमालेले संगठीत रुपमा मतदाताहरुलाई प्रभावित पार्न थालेपछि काँग्रेस कार्यकर्ताहरुले शहिद भुमिबाट सांसद सुनुवार सहितका एमाले कार्यकर्ताहरुलाई धपाएको दावी गरे।  

त्यस्तै, पाल्पामा पनि स्थानीय तहको चुनावमा पैसा दिएर मतदातालाई प्रभावमा पर्न खोज्ने एमाले उम्मेदवार पक्राउ परेका छन्। पाल्पाको रिप्तीकोट गाउँपालिका वडा नं ३ का वडाध्यक्षको उम्मेदवार विष्णुप्रसाद खनालले मतदातालाई पैसा बाँडिरहेको बेलामा स्थानीयले नियन्त्रणमा लिएका हुन्। त्यहाँ पनि अहिले प्रहरी आईसकेको छ र स्थानीयले वडाध्यक्ष खनाललाई प्रहरीको जिम्मा लगाईसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ