arrow

प्रधानन्यायाधीशमा गोपाल पराजुली नै सिफारिस

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
Gopal_parajuli.jpg

काठमाडौँ । सर्वोच्चको प्रधानन्यायाधीशका लागि कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीकै नाम सिफारिस भएको छ । संवैधानिक परिषदको विहिबार बसेको बैठकले पराजुलीलाई प्रधान न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो ।

बैठकले पराजुलीलाई सिफारिस गरेको मुख्य सचिव सोमलाल सुवेदीले जानकारी दिए । असार ५ गते बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता एवं परिषद सदस्य केपी ओलीले पराजुलीको उमेर र शैक्षिक योग्यता विवादबारे अध्ययनका लागि समय आवश्यक रहेको भनेपछि सिफारिस गर्न सकिएको थिएन ।

सिफारिसको टुंगो लगाउन विहिबारका लागि तोकिएको बैठक समेत अपराह्न ४ बजेपछि मात्रै बस्यो ।
जेठ २४ गते प्रधानन्यायाधीश सुशीला कार्की सेवा निवृत्त भएपछि न्यायलयको सर्वोच्चको कार्यसम्पादन कामुका भरमा चलिरहेको छ । वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीले नै कामुको भूमिका निभाइरहेका छन् ।

न्याय परिषदले जेठ ३० गते प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो । कार्कीले जाँदा जाँदै एकलौटी निर्णय गरेर न्यायाधीशको सूची पठाएको भन्दै आलोचना भएको थियो ।

संवैधानिक परिषदमा नामावली पठाएका मध्ये न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ सेवानिवृत्त भएका छन् ।
वरिष्ठतम न्यायाधीश पराजुलीबाहेक न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, जगदिश शर्मा पौडेलको नाम सूचीमा थियो ।

प्रधानन्यायाधीश नियुक्तिका लागि वरिष्ठतम न्यायाधीशलाई नै सिफारिस गर्ने परम्परा छ । सिफारिस गरेका व्यक्तिको नाममा संसदीय सुनुवाई भएपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा २८४ मा प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद्को व्यवस्था छ ।

संवैधानिक परिषद्ले प्रधान न्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिश गर्नुपर्ने भए पनि अहिले रिक्त भई कायम मुकायमले चलाएको समेत महिना दिन पुग्न लाग्दा सिफारिस भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ