arrow

भगौडा देखि तर्सिदै दाहाल, मधेस विखण्डन र नयाँ शक्तिको ठूलो भय

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
prachanda.jpg.jpeg.jpeg
काठमाडौं । नेपाली राजनीतिको शक्ति केन्द्रमा रहेका एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले सप्तरी पुगेर मधेस आन्दोलन भगौडा र विखण्डनकारी दलालहरुको पोल्टामा परेको भनेपछी तरंग फैलिएको छ । दाहाल सत्ताधारी मात्र नभई ठूला राजनीतिक शक्तिको कमाण्डर भएकैले समेत उनको अभिव्यक्तिले तरंग फैलिएको हो । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक समेत रहेका दाहालले सरकार र विपक्षीलाई साईजमा ल्याउन विभिन्न रणनीति अख्तियार गरिरहेका छन् । समावेशी प्रतिनिधित्वकै शुत्रले पहिलो पार्टी बन्ने रणनीति लिएका दाहालले  सप्तरी पुगेर राष्ट्रिय एकता चाहने मात्रै सच्चा मधेसी हुने–भने । 
 
दुई पटक संविधान सभा निर्वाचनमा तराईबाट निर्वाचित भएका दाहाल समयानुकुल कहिले पहिचान र अधिकारको नारा तथा कहिले राष्ट्रिय एकताको नारा बेचिरहेका छन् । पछिल्लो संविधानसभा निर्वाचनमा सिरहा–५ बाट निर्वाचित दाहालले असोज ३ मा संविधान जारी भएपछि राष्ट्रिय एकताको उर्दी लगाउन थालेका हुन् । नाकाबन्दीले कुनै असर नगर्ने र आफुहरु साइकल चढ्न तयार रहेको बताएका दाहालले वातावरणमन्त्रीबाट साइकल समेत लिइसकेका छन् । यद्यपि, इन्धन गाडी छोड्न सकेका छैनन् । देश दौडाह सुरु गरेका दाहालले कम्युनिष्ट पार्टी छोडेर छुट्टै शक्ति बन्छौं भन्नेहरुप्रति लक्षित गर्दै दाहालले तराई पुगेर मधेस आन्दोलन कम्युनिष्टहरुको हातबाट गुमेको समेत बताए । 
 
मधेस आन्दोलनको साँचो कम्युनिष्ट विरोधी तथा भगौडाहरुको हातमा परेकाले  पहाडीहरुले मधेस सिध्याउन लागेको भन्ने भ्रम छरेको दाहालको भनाई छ ।  अब बन्ने प्रादेशिक संरचनालाई मध्यनजर गर्दै पार्टीले प्रदेश समितिको बैठक अघि बढाएको छ । बर्दिबासमा २ नम्बर प्रदेशको प्रदेश समितिको बैठकमा सहभागि हुन पुगेका दाहालले कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्र मधेसी जनताको मुक्ति सम्भव रहेको सुनाए । मधेस केन्द्रित दलको आडले विगतमा सरकार चलाएका दाहालले मधेसका सामन्त जमिन्दारहरुले लामो समयदेखि शोषण गर्दै आएको भन्दै कार्यकर्तालाई शोषणबिरुद्ध अघि बढ्ने सामथ्र्य राख्न सुझाए । 
 
दाहालले पहिचान–सिमाङ्कन भनेर हिँड्नेहरुले नै पहिचान र सिमाङ्कन नचाहेको जिकिर गरे । माओवादीलाई बद्नाम गर्नेहरुप्रति सचेत रहन दाहालले कार्यकर्तालाई सुझाए । दाहालको पछिल्लो सक्रियता र रणनीति फेरि पहिलो बन्ने नै रहेको विश्लेषण भइरहेका बेला उनले गौर हत्याकाण्डकै पेरिफेरीमा मधेसी जनता उठेपछिमात्रै मधेस आन्दोलन भएको ढाडस दिए । त्यो असली आन्दोलनपछी भएका गविविधि कम्युनिष्टहरुका हातबाट बाहिर गएकैले तीनलाई दुर्घटना मात्र भन्न सकिने दाहालको आशय छ । आफ्नै पार्टीबाट बाहिरिएका बाबुराम भट्टराई र अन्य मधेसी नेताहरुप्रति लक्षित गर्दै दाहालले भने,‘कम्युनिष्ट आन्दोलनका विरोधी वा कम्युनिष्ट आन्दोलनबाट भागेका भगौडाका हातमा मधेस आन्दोलन गयो ।’ पुँजीपतिले मज्दुरको हित गर्ने र बाघले बाख्राको मुक्ति गर्ने कुरा एउटै हो । 
 
दाहालले भनेका छन्–‘हामी युद्वमा हुँदा एक पक्षीयरुपमा ३ महिना युद्धविराम गरेका थियौं, जसकै कारण ज्ञानेन्द्रले आफ्नो अमेरिका भ्रमण रोके, हामीले ३ महिना युद्धविराम नगरेको भए १२ बुँदे सहमति पनि हुँदैन थियो, यो विषय मैले मधेसवादी दललाई बारम्बार सुनाउँदै आएको छु ।’ राजधानमीमा दाहालले मधेसी नेताहरुलाई एक–एक गरी भेट गरेकैले मधेसी नेताहरुलाई गाली गरेका होइनन् भन्ने तर्क समेत भइरहेका छन् । तर, दाहालले फकाउने र गाली गर्ने दुबै काम गरिरहेकाले  उनको पछिल्लो रणनीति स्पष्ट हुन सकेको छैन । जसले सत्ताधारी, विपक्षी, असन्तुष्ट र नागरिक अन्योलमा छन् । सकारलाई निर्देश गरिरहेका दाहालले साइकल चढ्ने नाउमा नागरिकलाई इन्धन अभावको चंगुलमा फसाई दिएका छन् । दैनिक जीविकाको जोह गर्ने सकसमा रहेका नागरिकले चुइँक्क आवाज उठाउन सकेका छैनन् ।  
 
दाहाललाई बाबुरामको ठूलो डर 
बाबुराम भट्टराईले एमाओवादी छोड्दा मधेसमा स्वागत पाउने कुराले चर्चा कमाएपछि मधेसको पछिल्लो आन्दोलनका प्रसंगसंग जोडिएका छन् । केही दिन अघि मात्रै भट्टराईले झगडाको बिउ हटाउन सीमाङ्कनको विषय तत्काल समाधान हुनु पर्दछ भनेर भनेका थिए । भट्टराई मधेसको समस्या समाधान हुनुपर्नेमा बारम्बार जोड दिइरहेका छन् । आफ्नो नयाँ शक्ति गैर कम्युनिष्ट चरित्रको हुने बताउँदै आएका भट्टराईले मधेस आन्दोलनलाई समर्थन गरेकै कारण विखण्डनकारीको आरोप खेपिसकेका छन् । 
 
नयाँ शक्ति निर्माण अभियानमा हिडेका बाबुराम भट्टराईको एकीकृत माओवादी त्यागको सय दिन पुगिसकेको छ । पुस १९ मा उनले सय दिनको समीक्षा समेत गरिसकेका छन् । २०७२ असोज ९ मा भट्टराईले एमाओवादी र संसद सदस्य  त्यागेका थिए । भट्टराईले जीवनको उत्तरार्धमा ०७२ असोज ९ गते नयाँ यात्राको सुरुवात गरे । भट्टराईले सय दिनपछी ४० वर्षसम्मको राजनीतिक यात्रा पुरानो सामन्ति राजतन्त्रात्मक युगको अन्त्य गरेर नेपाललाई संघीय गणतान्त्रिक लोकतान्त्रिक युगमा प्रवेश गराउनमा केन्द्रित रहेको सम्झिएका छन् । ०३३–०३४ सालमा आफ्नै पहलमा यात्रा सुरु गरेको भट्टराई बताउँछन् । भट्टराईले नेपाली राजनीतिमा फेरि एक पटक नयाँ तरंग ल्याउने बताउँदै आएका छन् ।
 
उनको नयाँ शक्तिलाई समर्थन गर्ने केही व्यक्तिले दल दर्ताको प्रक्रिया थालनी नहुँदै आफुहरु तेस्रो भइसकेको जनाउ दिएपछी दाहाल डराएका छन् । जसले नेपाली राजनीतिमा एक पटक तरंग ल्याउने संकेत दिइसकेको छ । बाबुरामको नयाँ शक्तिले दाहाललाई भित्रभित्रै हल्लाइरहेको छ । फलस्वरुप राजनीतिक शक्ति केन्द्रमा रहेका दाहाल शाख जोगाउन विभिन्न रणनीति अख्तियार गरिरहेका छन् । दाहाललाई दोहोरो भूमिका निभाउन सकस भइरहेको छ । एकातिर, मधेस आन्दोलनको समस्या समाधानको जस लिनु छ भने, अर्कोतिर नेता कार्यकर्ता जोगाउनु पर्ने चुनौती छ । राजनीतिक शक्ति केन्द्रको उपयोग गरेर दाहाल पार्टी जोगाउने दौडमा छन् ।  भगौडालाई गाली गर्दै सप्तरीमा समेत दाहालले असली माओवादी एमाओवादीमै रहेको तर्क गरे । दाहालले बाबुरामले नेपाली जनतालाई धोका दिएको बारम्बार भनिरहेका छन् । दाहाल मात्रै देश सुरु गरेनन् । बाबुराम समेत जिल्ला दौडाहमा छन् । भट्टराई बाग्लुङ, म्याग्दी, पर्वततिर लागेका छन् ।  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ