arrow

इलाम नगरपालिकाका नवनिर्वाचित प्रमुख भन्छन् : दलीय स्वार्थभन्दा माथि उठेर विकास गर्छु

logo
प्रकाशित २०७४ असार २० मंगलबार
ilam-uml.JPG

इलाम। इलाम नगरपालिकाको प्रमुखमा नवनिर्वाचित महेश बस्नेतले अब आफू र अरु विजयी उम्मेदवारले दलीय स्वार्थभन्दा माथि उठेर जनताको हितमा समर्पित हुने बताए। नेकपा (एमाले) को नगर कमिटीले सोमबार इलाम सदरमुकाममा आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै बस्नेतले इलाम नगरको विकास र समृद्धि एकमात्र लक्ष्य हुने बताए। नगरपालिकाको प्रमुखका रूपमा काम गर्दा कसैलाई पनि राजनीतिक रूपमा विभेद नगर्ने उनको भनाइ छ । बस्नेतले नगरपालिकालाई समृद्ध बनाउने काममा सहकार्य गर्न अन्य दलहरूलाई समेत आग्रह गरे।

आफूले जनतासँग भोट माग्दा गरेका प्रतिबद्धता र आफ्नो पार्टीले ल्याएको घोषणापत्रमा उल्लेख भएका बुँदालाई कार्यान्वयन गर्दै इलामलाई आर्थिक समृद्धिको बाटोमा हिँडाउने प्रतिबद्धता जनाए।

बस्नेतले सरकार नागरिकका घरदैलोमा आएको भन्दै अब यो पार्टी ऊ पार्टी नभनी आफ्नो ठाउँको विकास र समृद्धिमा लाग्न इलामका सबै नागरिकलाई आग्रह गरे।

कार्यक्रममा नेकपा (एमाले) इलामका अध्यक्ष राम राना, केन्द्रीय अनुशासन आयोगका सदस्य अगम वान्तवा, इलाम नगरको निर्वाचन परिचालन कमिटीका संयोजक कृष्ण श्रेष्ठलगायतले बोलेका थिए। विजयउत्सव मनाउन नगरपालिका क्षेत्रका नागरिक र एमाले समर्थकको बाक्लो उपस्थिति थियो ।

यसैबीच फाकफोकथुम गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रामकुमार श्रेष्ठले गाउँपालिकालाई भ्रष्टचारमुक्त बनाउने उद्घोष गरे। सोमबार गाउँपालिकाको कार्यालयमा पदबहाली गर्दै अध्यक्ष श्रेष्ठले गाउँपालिकालाई भ्रष्टाचारमुक्त बनाउने, वृद्धवृद्धालाई घरघरमै गएर वृद्धभत्ता वितरण गर्नेजस्ता नयाँ एजेन्डा अघि सारे। पदबहाली गर्दै उनले भने “वृद्धभत्ताका लागि बैंकमा धाउनु पर्दैन, हामी जनताका सेवक हौँ, भत्ता घरघरमा पुर्‍याउँछौँ।”

फाकफोकथुम गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई निर्वाचन अधिकृत लीलाराज पौडेलले सोमबारनै प्रमाणपत्र वितरण तथा पद तथा गोपनीयताको शपथ गराए। शपथ ग्रहणपछि गाउँपालिकाको कार्यालयमा गाउँ कार्यपालिकाको बैठकसमेत सम्पन्न भएको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ