arrow

चीनमा नेपाली विद्यार्थीहरुको कमाल

logo
अजय अलौकिक,
प्रकाशित २०७४ असार २१ बुधबार
ajaya-aloukik.jpeg

पैचिङ। पछिल्लो समय चीन विश्व भरि विस्तृत रूपमा छाएको छ। चीनले हर एक क्षेत्रमा गर्दैआएको तीव्र विकास र प्रगतिको साक्षी बनेको छ आजको विश्व। तर यही चीनमा नेपाली विद्यार्थीहरुले कमाल गरी देखाएका छन्। अमेरिका र युरोपजस्ता देशबाट समेत गरी विश्वका डेढ सयभन्दा बढि देशका हजारौंहजार विद्यार्थीहरु अध्ययन गर्ने चीनमा तीन नेपाली विद्यार्थीले शीर्षस्थ दशमा आफूलाई उभ्याउन सफल भएका छन्। 

चीनमा पढ्न आएका मेधावी विद्यार्थीहरुको माहोलमा नेपाली विद्यार्थीहरुले प्रतिस्पर्धा गरेर अगाडि आउनु आम नेपालीका लागि निकै खुशी र गर्वको कुरा हो। त्यो नतिजा पनि चीनकै सबैभन्दा उच्च मानिएको युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्स युकासबाट नेपाली विद्यार्थीले प्राप्त गरेका छन्।

युकासका चीनभरि छरिएर रहेका सयौँ इन्स्टिच्युट छन् र ती सबैमा लाखौँ चिनियाँ र हजारौँ विदेशी विद्यार्थीहरु अध्ययन गरिरहेका छन्। युकासले युरोप र पश्चिमा मुलुकसँग पनि सहकार्य गरेको छ। केही वर्ष अगाडि नेपालको त्रिभुवन विश्वविद्यालयसँग पनि यसले सहकार्य थालनी गरेको छ। चीनमा युकासलाई वैज्ञानिकहरु उत्पादन गर्ने महत्वपूर्ण थलोको रुपमा लिइन्छ। साथै युकास चीनमा सबैभन्दा प्रतिस्पर्धी र गुणस्तरीय शिक्षा दिने संस्थाको रूपमा परिचित छ। यही प्रख्यात शैक्षिक संस्थाबाट दिक्षान्त हुने सयौँ विदेशी विद्यार्थीमा उत्कृष्ट दशमा तीनजना नेपाली मेधावी विद्यार्थी पनि परेका छन्। 

सन् २०१७ मा पिएचडी गरेर १० जना उत्कृष्ट विदेशी विद्यार्थीमध्ये तीनजना नेपाली विद्यार्थीहरुमा भूपति न्यौपाने, जनकराज खतिवडा र नारायणप्रसाद कोजु रहेका छन्। १० उत्कृष्ट सूचीमा परेका २ नेपाली विद्यार्थीहरु भूपति न्यौपाने र जनकराज खतिवडा गत साल सन् २०१६ मा पनि उत्कृष्ट विद्यार्थी सूचीमा परिसकेका हुन्। फरक फरक क्षेत्र र युकासको फरक फरक इन्स्टिच्युटबाट अनुसन्धान गरी नयाँ आयाम थप्ने यी तीन विद्यार्थीले विश्वकै ख्यातिप्राप्त जर्नलहरुमा आफ्ना अनुसन्धानलाई प्रकाशन गरेर उत्कृष्टताको पुष्टि गरिसकेका छन्।

त्यसैगरी हाल अध्ययनरत २० जना उत्कृष्ट विदेशी विद्यार्थीहरुमा पनि एकजना नेपाली विद्यार्थी टिष्टा प्रसाई पर्न सफल भएकी छन्। सम्पूर्ण उत्कृष्ट विद्यार्थीहरुलाई जुलाई ५ तारिख बुधबार युकासका भाइस प्रेसिडेन्ट प्रोफेसर डाक्टर ऊ युलाङले पैचिङस्थित युकासको मुख्यालय युछ्यानलुमा सम्मान गरेका छन्। उनीहरुले चीनका विभिन्न शहरहरुमा गएर आफ्ना कार्यपत्र प्रस्तुत गर्ने र खोज अनुसन्धानको निचोडलाई प्राज्ञिक व्यक्तिहरु सामु राख्ने काम गरिसकेका छन्। उनीहरुको नतिजालाई युकासको वेबसाइटमा राखिएको छ। 

युकासको पैचिङस्थित कलेज अफ अर्थ साइन्सबाट पिएचडी गरेका भूपति न्यौपानेले इन्डियन र युरेसियन प्लेट ठोक्किनु पूर्व र पछि नेपालको दक्षिणी भागमा भएको भौगर्विक परिवर्तनलाई विभिन्न चट्टानको नमूना संकलन गरी अध्ययन गरेका छन्। उनले नेपालमा कोइलाको संभाव्यता पनि अध्ययन गरेका छन्। आफ्नो खोज तथा अनुसन्धानले भविष्यमा नेपाललाई धेरै फाइदा पुग्ने न्यौपानेको भनाइ छ। उनका अनुसन्धान समेटिएका विभिन्न लेखहरु अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित भइसकेका छन्। 

युकासकै छन्दू इन्स्टिच्युट अफ बायोलोजीबाट पिएचडी गरेका जनकराज खतिवडाले नेपालमा भ्यागुताको नयाँ प्रजाति पत्ता लगाइ त्यसको वासस्थान लगायत विभिन्न क्षेत्रको अध्ययन गरी विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरुमा आफ्नो अनुसन्धान प्रकाशन गरेका छन्।

आफ्नो पिएचडीको थेसिसका लागि उनले नेपालको कोशी पूर्वका विभिन्न क्षेत्रमा महिनौँ खोज अनुसन्धान गरेका थिए। झापाको जामुनखाडीमा उनले पत्ता लगाएको सानो भ्यागुताको वैज्ञानिक नाम माइक्रोहाइला तराइन्सिस हो। धानबारीमा पाइने यो भ्यागुता मान्छेको बुढी औँलाको नङको आकार बराबर हुने गर्छ। उनले इलामको माइपोखरीमा छेपारोजस्तै देखिने अर्को नयाँ प्रजातिको भ्यागुतो पनि पत्ता लगाएका छन्। ठकठके स्थानीय नाम रहेको यो नयाँ प्रजातिको भ्यागुताको वैज्ञानिक नाम ट्य्लोटोट्रिटोन हिमालयनुस रहेको छ। नेपालमा ५२ प्रजातिका भ्यागुता रहेकोमा खतिवडाले नयाँ दुई प्रजातिको पत्ता लगाएपछि ५४ प्रजातिका भ्यागुता नेपालमा रहेको प्रमाणित भएको छ। 

त्रिभुवन विश्वविद्यालयबाट पनि पिएचडी गरिसकेका नारायणप्रसाद कोजुले चीनको युन्नान प्रान्तको खुन्मिङमा रहेको युकासकै इन्स्टिच्युट अफ जुलोजीबाट पिएचडी गर्नुका साथै हिमाली क्षेत्रमा पाइने मुसा जस्तै लोखर्केको अध्ययन गरी विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा आफ्नो अनुसन्धान प्रमाणित गरी लेख प्रकाशन गरेका छन्।

त्यसै गरी उत्कृष्ट २० विद्यार्थीको सूचीमा परेकी टिष्टा प्रसाइ युकासको रिसर्च फर इको-इन्भाइरोमेन्ट साइन्समा अध्ययन गरी नेपाल लगायत दक्षिण एसियाली मुलुकको वातावरणीय प्रभावमा अनुसन्धान गरी विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा आफ्ना लेख प्रकाशन गरेकी छन्।

त्यस्तै पैचिङस्थित युकासकै इन्स्टिच्युट अफ जोग्राफीबाट पिएचडी गरेका वसन्त पौडेलले आफ्नो इन्स्टिच्युटभित्रको आन्तरिक प्रतिस्पर्धामा दुईवटा फरक फरक अवार्ड जित्न सफल भएका छन्। नेपालको कोसी वेसिनलाई मुख्य आधार बनाएर कृषिमा जलवायु परिवर्तनको प्रभावमा उनले अनुसन्धान गरी अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन गरेका छन्। यसैबीच पैचिङ नर्मल युनिभर्सिटीबाट यसै वर्ष पब्लिक म्यानेजमेन्टमा स्नातकोत्तर उत्तीर्ण भएकी नेपाली विद्यार्थी सुष्मा धिताल चीनमा अध्ययनरत १७०० विदेशी विद्यार्थीमध्ये उत्कृष्ट आठमा पर्न सफल भएकी छन्। उनलाई विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गरी अवार्ड प्रदान गरेको छ।

पछिल्ला समयमा चीनमा ईन्जिनीयरिंग, चिकित्सा शास्त्र, कृषि, वनविज्ञान, सञ्चार लगायतका विषयहरुमा अध्ययन गर्न जाने नेपालीहरुको संख्या बढिरहेको अवस्थामा अन्य अनुसन्धानात्मक वैज्ञानिक विषयहरुमा पनि अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या उल्लेख्य बढ्न थालेको छ। हाल चीनमा विभिन्न तहमा ३ हजार नेपाली विद्यार्थीहरु चीन सरकारको छात्रवृत्ति र नीजि खर्चमा अध्ययनरत छन्। नवीन रेशममार्ग (ओबिओआर)मा आबद्ध भइसकेको नेपाललाई आउँदा दिनमा चीनले  नेपालको शैक्षिक क्षेत्रको विकासमा पनि थप सहयोग पुर्याउने विश्वास गर्न सकिन्छ र चीनमा पढ्ने नेपाली विद्यार्थीको संख्या मात्र होइन उत्कृष्ट नेपाली विद्यार्थीहरु पनि उत्पादन हुँदै जाने आशा गर्न सकिन्छ।

लेखक,  जन गणतन्त्र चीनको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो पैचिङका विशेषज्ञ हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ