arrow

उप-राष्ट्रपति नन्द बहादुर पुन २३ औं लानचौ लगानी तथा व्यापार मेलामा

logo
अजय अलौकिक।
प्रकाशित २०७४ असार २२ बिहिबार
nanda-kishor-chinna-mela.jpg

पैचिङ। चीनको कान्सु प्रान्तको लानचौ शहरमा २३ औं लानचौ लगानी तथा व्यापार मेला अर्थात् रेशमी सडक सहयोग तथा विकास मन्च जुलाई ६ तारिखबाट शुरु भएको छ। समारोहलार्इ नेपालका उप-राष्ट्रपति नन्द बहादुर पुनले सम्बोधन गरेका छन्। उक्त व्यापार मेलामा नेपाललाई अतिथि मुलुकको रुपमा आमन्त्रण गरिएको हो।गत वर्षको बैशाखमा मात्र काठमाडौं र लानचौ शहरबीच भगिनी सम्बन्ध स्थापना भएको थियो र साथै त्यसै समयमा लानचौबाट नेपालका लागि सामान बोकेको रेल पनि छुटेको थियो।

उप-राष्ट्रपति नन्द बहादुर पुनले आफ्नो सम्बोधनमा दुर्इ शहर बीचको भगिनी सम्बन्धले जनस्तरमा नै नयाँ आयाम थपेको बताउँदै नेपाली भूमिमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने र नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए। चीनका राष्ट्रपति सी चिनफिङले अगाडि सारेको ‘वेल्ट एड रोड इनिसिएटिभ’समझदारीमा नेपालले हस्ताक्षर गरिसकेको स्मरण गराउँदै उपराष्ट्रपतिले विआरआईबाट नेपालले फाइदा लिने पनि बताए। 

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि चर्चा गर्दै पुनले स्थानीय तहको दुई चरणको निर्वाचन सम्पन्न भइसकेको बताउँदै अब देशको नयाँ एजेण्डा भनेको सामाजिक-आर्थिक परिवर्तन भएको पनि आफ्नो सम्बोधनमा व्यक्त गरे। विश्व बेङ्कको पछिल्लो रिपोर्टले नेपालको अर्थ व्यवस्था तीव्र गतिमा बढिरेहको र बढ्ने क्रममा विश्वकै तेस्रो नम्बरमा रहने आङ्कलन गरेको बताउँदै पर्यटन, जलविद्युत तथा पूर्वाधारमा त्यसै गरी प्राकृतिक स्रोतको पनि अधिकतम उपयोगका लागि पनि ठूला लगानी चाहेको भन्दै चिनियाँलार्इ नेपालमा लगानी लगाउन आग्रह गरे। साथै नेपालमा लगानीमैत्री वातावरण बनेको पनि स्पष्ट पारे। 

एशियाली पूर्वाधार बेङ्कको संस्थापक सदस्य भएको बताउँदै सँयुक्त राष्ट्र सँघ, सार्क, बिमस्टेक तथा साङघार्इ सहकार्य सङ्गठनमा समेत संयुक्त रूपमा दुर्इ देश बीच वैचारिक आदानप्रदान हुँदैआइरहेको बताउँदै चीनले अघि सारेको समग्र विश्व समेट्ने बेल्ट एण्ड रोड इनिसिएटिभ सफल हुनेमा विश्वस्त रहेको पनि व्यक्त गरे। चीनको निरन्तर साथका लागि आभार व्यक्त गर्दै सन् २०१७लार्इ नेपाल भ्रमण वर्षको रूपमा प्रबर्द्धन गरेकोमा चीन सरकारलार्इ धन्यवाद पनि व्यक्त गरे।

यस अघि लानचौ लगानी तथा व्यापार मेलाको मुख्य अतिथि मुलुक नेपालको नेपाल मण्डप उद्घाटन समारोह आयोजित भएको थियो। जहाँ उप-राष्ट्रपति नन्द बहादुर पुनका साथै कान्सु प्रान्तका गभर्नर थाङ रनचिएनले संयुक्त रूपमा ‘लन्चिङ बल’ छोएर उद्घाटन गरेका थिए। 

लानचौ लगानी तथा व्यापार मेला जुलाई ६देखि चीनको कान्सु प्रान्तीय सदरमुकाम लानचौमा आयोजना भइरहेको छ। ९तारिखसम्म चल्ने ३६ वटा मुलुक र दुर्इ वटा क्षेत्रीय संस्थाले भाग लिएको यस मेलामा नेपालको तर्फबाट १३ नेपाली व्यवसायीका १६ वटा स्टल रहेका छन्। नेपाल तथा मलेशिया यस पटकको मेलाको मुख्य अतिथि मुलुक हुन्।

बुधबार ५ तारीख बेलुकी उपराष्ट्रपति नन्दबहादुर पुनसँग चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन(सिपिपिसिसी)का उपाध्यक्ष छि स्युछुनले शिष्टाचार भेट गरेका थिए। भेटमा उपराष्ट्रपति पुनले चीनका राष्ट्रपति सी चिनफिङले अगाडि सारेको ‘वेल्ट एड रोड इनिसिएटिभ’समझदारीमा नेपालले हस्ताक्षर गरिसकेको स्मरण गराउँदै उपराष्ट्रपतिले विआरआईबाट नेपालले फाइदा लिने बताए। उपराष्ट्रपतिसँगको भेटमा सिपिपिसीसीका उपाध्यक्ष स्युछुनले नेपाल सदैव चीनको उच्च प्राथमिकतामा रहेको बताएका थिए। 

यी भिन्न कार्यक्रमहरूमा नेपालको तर्फबाट चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल, उपराष्ट्रपति कार्यालयका सचिव नारायण गोपाल मलेगो, सहसचिवहरू गणेशप्रसाद ढकाल, रबिशङ्कर सैँजुलगायतकाको उपस्थिती रहेको नेपाली दूतावासले जनाएको छ। चीनको साताव्यापी औपचारिक भ्रमणको क्रममा उपराष्ट्रपति पुन मङ्गलबार चीन प्रस्थान गरेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ