arrow

स्थानीय निर्वाचनमा प्रतिमतदाता ४८८ रुपैयाँ खर्च

logo
प्रकाशित २०७४ असार २४ शनिबार
election-local-2017.jpg

काठमाडौं । पहिलो र दोस्रो चरणको निर्वाचनमा हालसम्म पाँच अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले शुक्रबार आयोजित समारोहमा आयोगले खर्च हुन बाँकी तीन अर्ब रुपैयाँ सरकारलाई फिर्ता पठाएको जानकारी दिए। 

आयोगले निर्वाचनका लागि पाएको रकम निर्वाचन भएका ६ वटा प्रदेशमा खर्च गरेको थियो।  निर्वाचन हुन बाँकी प्रदेश नम्बर २ को चुनावका लागि आगामी आर्थिक वर्षको बजेटबाट खर्च गरिनेछ।

प्रदेश दुईको निर्वाचनअघि नै चालु अर्थिक वर्ष समाप्त हुने हुँदा आयोगले बाँकी रकम फिर्ता गरेको हो।  प्रमुख आयुक्त यादवले आयोगले स्थानीय तहको निर्वाचनमा विदेशीसँग निर्वाचन शीर्षकका लागि पैसा नलिएको जानकारी दिए।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक, आम निर्वाचन पर्यवेक्षण समिति जियोक तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल सङ्कल्प नेपालद्वारा शुक्रबार आयोजित दोस्रो चरणको निर्वाचनको पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन्। 

उनका अनुसार स्थानीय निर्वाचनमा प्रतिमतदाता ४८८ रुपैयाँ खर्च भएको छ।

प्रमुख निर्वाचन आयुक्त डायादवले प्रदेश सभा र प्रतिनिधि सभाको लागि चार मतपेटिका राखेर एकै चरणमा मतदान गराउन सम्भव नहुने दोहोर्‍याए।  

आयोगले आगामी असोजको ३० गते सोमबार प्रदेश सभाको चुनाव गर्न प्रस्ताव गरेको छ।  मङ्सिरको पहिलो सातामा प्रतिनिधि सभाको चुनाव गर्ने गरी मिति तोक्न सरकारलाई आयोगले आग्रह गरेर पत्र पठाइसकेको छ। (गोरखापत्र दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ