arrow

निगमले साढे सात लाख लिटर इन्धन बाँड्यो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
226386055.jpeg
काठमाडौं । दुई सातादेखि इन्धन नपाएका निजी सवारी साधनलाई नेपाल आयल निगमले आज सात लाख पचास हजार लिटर इन्धन उपलब्ध गराएको छ । निगमले आज वितरण गर्ने सूचना जारी गरेपछि इन्धन पाउने आशामा सोमबारदेखि नै लाइन बसेका निजी सवारी साधनलाई काठमाडौँ उपत्यका १२५ पेट्रोल पम्बाट उपलब्ध गराएको हो । निगमले छ लाख लिटर पेट्रोल र एक लाख ५० हजार लिटर डिजल वितरण गरेको छ । 
निजी सवारी साधनको लामो लाइन लागेका सबै सवारी साधनलाई इन्धन उपलब्ध गराउन नसिकएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो । मागअनुसार पेट्रोल पम्पलाई इन्धन दिन नसक्दा लाममा बसेका सबैलाई वितरण गर्न नसकिएको निगमको भनाइ छ । निगमले निजी सवारीसाधनमध्ये प्रति मोटरसाइकललाई पाँच लिटर र चारपाङ्ग्रे कार, जिप–भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराएको हो । 
 
निगमले पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ आपूर्ति नभएसम्म निगमले भोलिपनि निजी सवारी साधनलाई इन्धन उपलब्ध गराउने तयारी गरेको छ । तर थप इन्धन आपूर्ति नहुँदा वितरण गर्न नसकिने जानकारी दिँदै निगमका प्रवक्ता बरालले वीरगन्ज नाका नखुल्दासम्म खाना पकाउने ग्यास वितरण गर्न नसकिने बताउनुभयो । भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि निजी सवारी साधनलाई तेल बाँड्न बन्द गरेर जोरबिजोर प्रणालीका आधारमा सार्बजनिक सवारी साधनलाई मात्रै बाँडिएको थियो । 
 
निगमले सामान्यरूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन चार हजारदेखि चार हजार ५०० किलोलिटर आयात हुनुपर्छ । तर आवश्यक परिमाणमा पेट्रोलियम पदार्थको आयात हुन सकेको छैन । ललितपुरको साझा पेट्रोलपम्ममा शनिबारदेखि नै मोटरसाइकल, स्कुटर र कारहरुको लाइन लागेको थियो । सो लाइन पाटन कृष्ण मन्दिरभन्दा पनि परसम्म पुगेको थियो । तेल भर्ने गाडीहरूको दोहोरो तेहरो लाइनले यातायात ट्राफिक व्यवस्थापनमा समेत असहज भएको छ । 
 
त्यसैगरी भद्रकालीस्थित नेपाली सेनाको पेट्रोलपम्पमा इन्धन भर्नका लागि पालो कुरेर बसेका मोटरसाइकलको तथा सवारी साधनको लाइन बबरमहल पर पुगेको थियो । नयाँबानेश्वरस्थित पेट्रोल पम्पमा तेल भर्नेहरुको लाइन शङ्खमुलसम्म पुगेको थियो । नक्सालस्थित प्रहरीको पेट्रोलपम्पको लाइन नागपोखरी पुगेको थियो । निगमले दसैंमा काठमाडौँबाट घर जान चाहनेलाई सहज होस् भनेर निजी मोटरसाइकल, कार र भ्यानलाई आज इन्धन उपलब्ध गराएको हो । 
 
उपत्यकाको सामान्य अवस्थामा दैनिक तीन लाख ५० हजार लिटर पेट्रोल र चार लाख ५० हजार लिटर डिजल खपत हुँदै आएको छ । निगमले अत्यावश्यक भएका क्षेत्रमा मात्रै पेट्रोलियम पदार्थ उपलब्ध गराउने र सार्वजनिक सवारीसाधन तथा पर्यटन सेवामा सञ्चालित सवारीसाधनलाई जोरबिजोर नम्बरका आधारमा, माइक्रोबसलाई १५, मिनीबसलाई २० र ठूला बसलाई ३० लिटर पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ । 
 
निगमले अत्यावश्यक वस्तु ढुवानीमा संलग्न पिकअप, डेलिभरी भ्यानलगायतलाई जोरबिजोर नम्बरका आधारमा १० लिटरका दरले इन्धन उपलब्ध गराउँदै आएको छ । त्यसैगरी अतिआवश्यक सेवा जस्तैः दमकल, एम्बुलेन्सलाई १० लिटरका दरले पेट्रोलियम पदार्थ उपलब्ध गराइएको छ । ट्याक्सीलाई प्रतिसाता १० लिटरका दरले आइतबार र सोमबार मात्र जोरबिजोर नम्बरका आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको छ । निगमले नेपाल वायु सेवा निगमलाई आफ्नो क्षमताअनुसार इन्धन आयात गर्न अनुमति दिइसकेको छ । 
 
निगमले विश्वव्यापीरुपमा आह्वान गरेको मनसायपत्रमा २३ वटा विभिन्न सङ्घ, संस्था तथा निकायले निवेदन दिएका छन् । ती निवेदनमाथि छलफल जारी रहेको निगमले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ