arrow

विराटनगर महानगरपालिकामा काँग्रेस विजयी

logo
प्रकाशित २०७४ असार २५ आइतबार
biratnagar-mahanagarpalika-metro.png

विराटनगर। विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले जित हात पारेको छ। गएराति सम्पन्न भएको मतगणनापछि प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोदकुमार ढकालले १७ हजार ३२२ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए।

त्यस्तै, उपप्रमुख पदमा काँग्रेसकी इन्दिरा कार्की २० हजार १४६ मत प्राप्त गरी विजयी भएकिछिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नमिता न्यौपानेले ११ हजार ५२४ मत प्राप्त गरेकिछिन्। नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले १० हजार ५३६ मत प्राप्त गरेकिथिन्।

उन्नाइसवटा वडा रहेको विराटनगर महानगरपालिकामा काँग्रेसले १, ३, ४, ७, ८, ९ र १६ वडा गरी सातवटा अध्यक्ष लगायत सदस्य पदमा समूहगत रुपमा र वडा नं १९मा काँग्रेसका विद्रोही समूहले जितेको छ।

सङ्घीय समाजवादी फोरमले १२, १३, १४, १५,१७ र १८ गरी छवटा वडामा, नेकपा (एमाले)ले २, ५ र ११ गरी तीनवटा वडा र माओवादी केन्द्रले वडा नं ६मा जित हात पारेको छ भने वडा नं १०मा स्वतन्त्रले जित हात पारेको छ।

उक्त निर्वाचनमा प्रमुख र उपप्रमुख पदका लागि एमालेले नेपाल लोकतान्त्रिक फोरमसँग र सङ्घीय समाजवादी फोरम नेपालले माओवादी केन्द्रसँग तालमेल गरेको थियो।

विराटनगर–३ को पोखरिया निवासी ४४ वर्षीय भीम पराजुली काँग्रेसको नगर सभापति छन्। विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी महेन्द्र मोरङ कलेजको स्ववियुको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घबाट २०५५ सालमा सदस्य, २०५७ सालमा कोषाध्यक्ष, २०५९ सालमा सचिव र २०६१ सालको निर्वाचनमा स्ववियुको सभापतिमा निर्वाचित भएका थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ