arrow

सरकार संविधान संशोधनको बाटोमा, साना दललाई आकर्षक मन्त्रालय

logo
प्रकाशित २०७४ असार २६ सोमबार
pm-office.jpeg

काठमाडौं । सरकारले व्यवस्थापिका–संसदमा एकदुई सिट भएका साना दललाई सरकारमा सहभागी गराएर गराएको संविधान संशोधन विधेयक पारित गराउन अन्तिम कसरत थालेको छ । 

हाल सत्तासीन दलबाट मात्र संशोधनका पक्षमा दुई तिहाइ नपुग्ने भएपछि सरकारमा सहभागी मुख्य दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको विपक्षमा रहेका तर एकदुई सांसद भएका साना दललाई सरकारमा सहभागी गराएर संशोधनको पक्षमा दुई तिहाइ पुर्‍याउने अन्तिम कसरत थालेको हो ।

सरकारमा सहभागी एक मन्त्रीले गत शुक्रबार सरकार पक्ष तथा आन्दोलनरत राजपाका शीर्ष नेताहरूको बालुवाटारमा भएको छलफलमा संशोधन निर्णयार्थ पेस गर्ने समझदारी जुटेपछि साना दललाई सरकारमा ल्याएर दुई तिहाइ पु-याउने अभ्यास तीव्र बनेको हो ।

उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारबाटै साना दलसँगको छलफल तीव्र बनाएका छन् । 

केही दलले सरकारमा सहभागी भएर संशोधनको पक्षमा मत हाल्ने संकेत समेत गरेपछि सरकार हौसिएको छ। छलफलमा राजपा र राप्रपाका नेताले संशोधनका पक्षमा दुई तिहाइ पु¥याउन भूमिका खेल्ने बताएपछि सरकार साना दलप्रति आशावादी बनेको हो ।

‘मिति त तय भएको छैन तर विपक्षमा रहेका एकदुई सिटे दलका नेताहरूलाई पनि आकर्षक मन्त्रालयसहित सरकारमा ल्याउने तयारी भएको छ। उहाँहरू सरकारमा आउन र संशोधनमा सघाउन तयार हुनुहुन्छ, एक साताभित्रै संशोधन हुने गरी सरकार विस्तार हुन्छ,’ एक मन्त्रीले ‍भने ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाललाई संशोधनका पक्षमा सरकार दृढ भएर लागेको र जसरी पनि संशोधन गराएरै छाड्ने भन्दै गत शुक्रबार बालुवाटार बैठकमा आश्वस्त पारेका थिए ।

सो बैठकमा आन्दोलनरत पक्षीय नेताहरूले समेत अघिल्ला चरणका वार्तामा भन्दा सरकार जिम्मेवार भएर प्रस्तुत भएको भन्दै सत्तारूढ तथा राजपाले संशोधनलाई संसदमा निर्णयार्थ पेस गर्न सहमतिसमेत जनाएका थिए ।

व्यवस्थापिका–संसदमा गत २३ जेठमा भएको प्रधानमन्त्री निर्वाचनमा सरकारलाई समर्थन गरेर पक्षमा मतदान गरेका संसदहरूले संशोधनका पक्षमा पनि मतदान गर्ने सरकारले बुझेको छ। 

संसदमा त्यस बखत कायम रहेका सदस्य संख्या ५ सय ९३ मध्ये देउवाको समर्थनमा कांग्रेसका २ सय ७, माओवादी केन्द्रका ८१, राप्रपाका ३७, राजपाका २४, संघीय समाजवादी फोरमका १५, फोरम लोकतान्त्रिकका १४, नेकपा संयुक्तका तीन र अन्य साना दलका १० गरी कुल ३ सय ९१ सांसद देखिएका थिए भने देउवाले निर्वाचित हुँदा ३ सय ८८ मत प्राप्त गरेका थिए।

संसदमा हाल सदस्य संख्या ५ सय ९२ छ। जसमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको १ सय ८०, नेकपा मालेका ५, नेपाल मजदुर किसान पार्टीका ४, राष्ट्रिय जनमोर्चा ३, परिवारदल २, नेपा पार्टी र मधेस समता पार्टीका १–१ गरी दुई सांसद छन् । सबै गर्दा विपक्षी गठबन्धनमा १ सय ९८ सांसद देखिएका छन् ।

संशोधन पारित गर्न ३ सय ९५ मत चाहिन्छ । प्रधानमन्त्री देउवालाइ समर्थन गर्ने सबै दलले मत हाल्दा पनि संशोधन पारित गराउन चार मत पुग्दैन । 

प्रधानमन्त्री निर्वाचनमा देउवालाई समर्थन गरेका दलका दल र अपुग चार मतका लागि विपक्षी गठबन्धनमा रहेका चार सांसद आफ्नो पक्षमा पार्ने सरकारको तयारी छ ।

सरकारको यो रणनीति सफल भए विपक्षी गठबन्धनमा रहेका दलहरू विभाजित हुनेछन् । स्रोतका अनुसार विपक्षमा रहेका परिवार दल, नेपाः पार्टी, बहुजन शक्ति, मधेस समता पार्टीलाई सत्तारूढ दलले सरकारमा सहभागी गराउने तयारी गरिरहेका छन् । 

यसो गर्दा सरकारका पक्षमा विपक्षी गठबन्धनबाट पाँच सांसद बाहिरिनेछन् । राप्रपासमेत सरकारमा छिट्टै सहभागी हुने मनस्थितिमा छ । सरकार यो अंकगणितमा सफल भए संशोधनका पक्षमा ३ सय ९६ मत पुग्नेछ ।

कांग्रेस नेता रमेश रिजालले प्रधानमन्त्री निर्वाचनमा जस्तै संशोधनका पक्षमा पनि दुई तिहाइ पुग्ने र संशोधन दुई तिहाइनजिक रहेको बताए । ‘संशोधन अब नजिकनजिक छ, दुई तिहाइ पुग्छ, केही दिनभित्रैमा संशोधन हुन्छ,’ रिजालले भने । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ