arrow

फाप्लु विमानस्थलको विजोक, १३ दिनदेखि उडान अवरुद्ध

logo
प्रकाशित २०७४ असार २६ सोमबार
solukhumbu.png

सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा विगत १३ दिनदेखि उडान अवरुद्ध भएको छ । 

गएको १३ गते नेपाल एअरलाइन्सको एउटा उडान भएकोमा त्यसपछि विमानस्थलमा कुनै पनि उडान नभएको नेपाल एअरलाइन्स फाप्लुका निमित्त स्टेसन इन्चार्ज गणेश श्रेष्ठले जानकारी दिए । 

नियमित बाक्लो हुस्सु तथा नियमित पानी परिरहेको कारण विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ । पछिल्लो समयमा विमानस्थल कालोपत्रे गरिएपछि धावनमार्ग हिलो हुने समस्या टरेको भए पनि मौसम खराबीका कारण उडान अवरुद्ध भएको हो । 

निर्वाचनमा मतदानका लागि जिल्ला आएका राजधानी फर्कनका लागि टिकटको अत्याधिक माग भए पनि उडान नै हुन नसक्दा यात्रु मारमा परेको श्रेष्ठले बताए । 

उता जिल्लाकै लुक्ला विमानस्थलमा पनि उडान प्रभावित भइरहेको छ । लुक्लामा बिहानीपख केही उडान हुने गरेको भए पनि आवश्यकताअनुसर उडान हुन नसकिरहेको तारा एअर लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले बताए । उनका अनुसार दैनिक पाँच–छ वटा उडान तालिका हुने गरेको भए पनि मौसम खुलेको मौका पारेर एक–दुई उडान मात्र हुने गरेका छन् । 

चार वटा विमानस्थल रहेको भए पनि काँगेलडाँडा र स्याङबोचे विमानस्थल लामो समयदेखि बन्द रहँदा लुक्ला र फाप्लु विमानस्थल मात्र सञ्चालनमा रहेका छन् । 

फाप्लु विमानस्थल बन्द हुँदा यात्रुको चाप जिपमा परेको छ । अहिले सल्लेरीबाट राजधानी जाने जिपमा समेट टिकट पाउन मुस्किल पर्ने गरेको छ । 

यसअघि सल्लेरी–काठमाडौँ जिप भाडा रु एक हजार २०० रहेकोमा अहिले रु एक हजार ८०० सम्म असुल्ने गरेको एक जना यात्रु शिव खड्काले बताए । 

व्यवसायीले भने वर्षात्का कारण जिप सञ्चालनमा समस्या हुने गरेकाले भाडा केही बढी लिने गरेको बताएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ