arrow

सँधै हसाउने ओलीले जब हलमा भरिएका सबैलाई रुवाए

‘मैले देखेका सपना पूरा गर्न सकिनछु भने तपाईंहरुले पूरा गर्नुहोला’

logo
प्रकाशित २०७४ असार २८ बुधबार
oli_news1.JPG

काठमाडौं । औपचारिक वा अनौपचारिक कार्यक्रम । एमाले अध्यक्ष केपी ओलीले बोल्न थालेपछि वक्तव्य नटुंगिन्जेलसम्म हाँसोको फोहरा छुट्छ । यद्यपि, वुधबार त्यसो भएन । त्यसको ठिक विपरीत हाँसोको फोहरा छुट्ने ठाउँमा एकाएक सन्नाटा छारो । सबैका आँखा रसाए ।

वक्तव्य दिँदा अरुलाई कटाक्ष गर्न उखान टुक्का जोडिहाल्ने ओली वुधबार एक कार्यक्रममा निकै भावुक देखिए । नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ सहाना प्रधानको स्मृति दिवसको अवसर पारी अखिल नेपाल महिला संघले वुधबार  काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले मनको गाँठो खोले ।

ओलीले समसामयिक राजनीतिसँग गाँसेर महिला आन्दोलन र आन्दोलनको सफलताका विषयमा भावनात्मक मन्तव्य राख्न थालेपछि कार्यक्रमा सहभागि सबै भावुक हुन पुगे । ओलीले आफूले थालेका काम आफू जीवित हुँदै सफल नभए त्यसलाई पूरा गर्न आव्हान गरेपछि झन् सहभागिका आँखा रसाए ।

बोल्दै जाँदा ओलीले भने ‘मैले आज जे काम थालेको छु, जे सपना देखेको छु, त्यसलाई पूरा गर्न भ्याउँदिन होला, पूरा गर्न सकिनछु भने तपाईंहरुले पूरा गर्नुहोला ।’ ओलीले यति भनेपछि सहभागिको आँखामा चमक हरायो । सबैका आँखा रसाए । ओलीले पुष्पलाल श्रेष्ठ, साहना प्रधान, मनमोहन अधिकारी, मदन भण्डारीसँग जोडेर भनाई राख्दै गए ।

ओलीले आफूले थालेका काम आफू जीवित हुँदै सफल नभए त्यसलाई पूरा गर्न आह्वान गर्दा सभाहलमा सान्नाटा छायो । सबै चुपचाप सुनिरहे । पुष्पलाल श्रेष्ठ, साहना प्रधान, मनमोहन अधिकारी, मदन भण्डारीले थालेका काम उहाँहरु जीवित हुँदा सफल नभए पनि अहिले आएर सफल भएको स्मरण गर्दै ओलीले अहिले आफूले थालेको काम पनि अहिले नै पूरा नहुन सक्नेप्रति चिन्ता जनाए ।

ओलीले अगाडि भने– ‘साहना प्रधानले कतै बोल्दा पोथी बास्यो भन्ने समाज थियो, अहिले उहाँ हुनुहुन्न । तर, अहिले राष्ट्रको सर्वोच्च पदमा महिला पुग्नुभएको छ । असल काम थालनी गर्दासाथ एकै पटक सफलता मिल्दैन । पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीले पनि जे कुरा उठाउनु भयो, त्यो उहाँहरुको जीवनकालमा आएन । मैले पनि आज जे काम थालेको छु, जे सपना देखेको छु, त्यसलाई पूरा गर्न म भ्याउँदिन होला, पूरा गर्न सकिनछु भने तपाईंहरुले पूरा गर्नुहोला ।’ ओलीले यी शब्द उच्चारण गरेपछि सभागृहमा सन्नाटा छायो । सबैका हात आँखातिर गए । सबैले अनुहार छोप्न थाले ।

एमाले र अन्य दलका भगिनी संगठनका महिला नेतृहरु पनि मञ्चमै थिए । ओलीले अझै अगाडि भने– ‘मलाई विश्वास छ, धर्तीमा न्यायका पक्षमा लाग्ने जो–जो बाँकी रहनुहुन्छ उहाँहरुले मैले थालेका काम पूरा गर्नुहुनेछ ।’ उनले आफूलाई निरंकुश व्यवस्थाले जेल हालेको र मार्ने योजनासाथ जेल सार्दा बाँचेको प्रसंग पनि कोट्याए ।

उनले भने, ‘के थिएँ र म ! भर्खरको केटो त थिएँ । हामी लोकतन्त्र र समाजिक न्याय खोज्न चौध चौध वर्ष जेल बस्यौं । सँगै बसेका साथीहरुलाई जेल सार्ने भन्दै बीचमा लगेर मारिन्थ्यो, मलाई पनि जेल सार्न भन्दै लगेका थिए, बीचबाट उम्केर यहाँसम्म आइपुगेँ ।’ अहिले पनि मैले थालेका काम, मेरा सपना सवै जीवनकालमै पूरा हुन्छन् भन्ने छैन, पूरा भएनन् भने तपाईंहरुले पूरा गर्नुहोला । ओलीले समुन्नत लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, जनताको समृद्धि र सामाजिक न्याय आफ्नो जीवनको सपना भएको बताए ।

अध्यक्ष ओलीले अहिले महिला राष्ट्रको सर्वाेच्च पदमा पुगेको र स्थानीय तहमा ५० प्रतिशत महिला निर्वाचित भएको स्मरण गर्दै त्यसका लागि आफ्नो पार्टीले गरेको संघर्ष स्मरण गरे । ‘हामी सामाजिक न्याय हेर्छाैं, पार्टी हेर्देनौं, तपाईहरु अरु पार्टीमा आस्था राख्ने महिला पनि यहाँ हुनुहुन्छ’ ओलीले भने, ‘तपाईंहरुका लागि संघर्ष गर्ने पार्टी एमाले हो । सुशीला कार्की एमाले हुनुहुन्न, उहाँ र न्यायालयमाथि आक्रमण गर्दा हामी रक्षामा उभियौं, महिलालाई राष्ट्रपति बनाउने पार्टी एमाले हो , ओनसरी घर्तीलाई सभामुखमा प्रस्ताव गर्ने पार्टी एमाले हो ।’

यस्तै, ओलीले एमालेको जितले पोलिएका शक्तिले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि झुठा आरोप लगाएर चिथोर्न थालेको पनि वताए । ‘एमालेले धेरै मत ल्यायो, धेरै स्थानीय तह जित्यो । त्यसैले जलन भएको छ । उनीहरु पोलिएका छन्’ ओलीले भने, ‘रिसाएको विरालोले खाँबो चिथोरेजस्तै राष्ट्रपतिमाथि झुठा आरोप लगाएर चिथोर्न थालेका छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ