arrow

कपुरकोट गाउँपालिकाको बजेट २७ करोड ७ लाख 

जेष्ठ नागरिकलाइ सम्मान, सुत्केरीलाई झोला 

logo
शंकर के. सी.
प्रकाशित २०७४ असार ३० शुक्रबार

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकामा आर्थिक वर्ष २०७४।७५ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिएको छ । विशेषगरी मोटरबाटो तथा खानेपानीका योजना, स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकतामा राखेर प्रथम गाउँसभा मार्फत् बजेट एवम् नीति, कार्यक्रम प्रस्तुत गरिएको छ । 

कपुरकोट गाउँपालिकाका अध्यक्ष भीम बहादुर सेनको अध्यक्षतामा भएको सभामा गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम तथा बजेट तर्जुमा समितीका संयोजक तिला बुढा मगरले २७ करोड ७ लाख ११ हजार १ सय २० रुपैयाँ ३३ पैसा बराबरको बजेट प्रस्तुत गरिन् । जसमा सामाजिक विकास तर्फ ३ करोड ७ लाख ४३ हजार, पूर्वाधार विकास तर्फ ६ करोड ८८ लाख ९० हजार, आर्थिक विकास तर्फ ६१ लख ५० हजार र वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ८५ लाख ८० हजार रुपैयाँ रहेको छ । 

गाउँपालिकाभित्रका विभिन्न बजारमा नगर प्रहरीको व्यवस्था गर्ने, जग्गा प्लटिङलाई व्यवस्थित गर्ने, आन्तरिक आम्दानीलाइ बढाउने तथा एकीकृत सम्पत्ति कर लागू गर्ने जस्ता नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरिएको छ । 

वर्षको दुई पटक आमाको मुख हेर्ने र बाबुको मुख हेर्ने दिनमा ७५ वर्षमाथिका जेष्ठ नागरिकलाई सम्मान गर्ने, सुत्केरी महिलालाई न्यानो झोला वितरण गर्ने जस्ता कार्यक्रम पनि कपुरकोट गाउँपालिकाले बनाएको छ। 

गाउँसभामा संक्षिप्त भनाइ राख्दै गाउँपालिका अध्यक्ष सेनले न्यून वर्गका जनताको जीवनस्तर सुधार गर्ने खालका कार्यक्रमहरुलाई प्राथमिकतामा राखिएको जनाए । सम्भावना र चुनौतीहरु पनि त्यत्तिकै रहेको कपुरकोट गाउँपालिकालाई नमुना बनाउन बजेटको कार्यान्वयन, आर्थिक चुहावट नियन्त्रण, जनताको सहभागिता तथा वडास्तरबाट योजना अनुसारको प्रगति हुनुपर्नेमा उनले जोड दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ