arrow

कमल थापा–पशुपति शम्शेरको झगडा : गाईले काम गरेन, हलो चाहियो

कमल थापाले किन गरे एकलौटी ? 

logo
प्रकाशित २०७४ असार ३१ शनिबार
kamal-thapa-&-pasupati-rana-new.jpg.jpeg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाभित्र केन्द्रीय सदस्य मनोनयनको विषयले भित्रि रहस्य बाहिरसम्म ल्याएको छ ।

कमल थापाले सोध्दै नसोधी ४२ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको भन्दै वरिष्ठ नेता पशुपतिशमशेर राणा रुष्ट भएका छन् । राणाले निर्णय तत्काल फिर्ता लिन भनेका छन् । उनले निर्णय फिर्ता नलिए पार्टीभित्र अनिष्ट हुने र विग्रह आउनेसम्मको चेतावनी दिएका छन् । 

हाम्राकुरासँग कुरा गर्दै राणाले भने, ‘एकलौटी केन्द्रीय सदस्य मनोनयन गरेको निर्णय सच्याउनै पर्छ ।’ निर्णय सच्याइएन भने कसरी मिलाउनु हुन्छ कुरा ? जवाफमा उनले भने, ‘निर्णय सच्याइएन भने त्यतिखेरै सोचिन्छ के गर्नु पर्छ भनेर ।’ त्यो परिणाम राम्रो हुँदैन ।

अध्यक्ष कमल थापाले ४२ जनालाई केन्द्रीय सदस्य मनोनयन गर्दा एकलौटी निर्णय गरेको भन्दै राणाले आपत्ति जनाए । उनले भने, ‘एकीकरण हुनु भन्दा पहिले पूर्व सहमति भएको थियो । केही महत्वपूर्ण निर्णय गर्दा पहिलो शीर्ष नेता बसेर छलफल गर्ने । यो सहमतिको त ठाडै उल्लंघन भयो ।’ हामीलाई सुइँको समेत दिइएन । यस्तो निर्णलाई कसरी मान्ने ? राणाले प्रतिप्रश्न गरे ।

यस्तै, राणाले आफुहरुभित्र कुरा नमिल्नुको कारण चुनाव चिन्ह समेत भएको बताए । उनले भने, ‘हामीले पहिले देखि नै चुनाव चिन्ह हलो राखौँ भनेको हो । तर, त्यसो भएन । डा. प्रकाशचन्द्र लोहनी चिन्हकै कारण बाहिरिनु भयो । हामीले चुनाव चिन्ह फेर्नु पर्छ भनिरहेका छौँ ।’ नेतृत्व गरिरहेका थापाले आफुहरुको कुरा नै नसुनेको उनको आरोप छ । उनले थपे, ‘गाइले काम गरेन । अब हलो नै चाहिन्छ । अबको प्रदेश र केन्द्रको चुनावमा हलो नै चुनाव चिन्ह हुनु पर्छ र केन्द्रीय सदस्य मनोनयनको निर्णय तत्काल फिर्ता हुनु पर्छ ।’    

राणाले शुक्रबार मात्रै विज्ञप्ति जारी गरेर ‘राप्रपालाई अध्यक्षको एकल बिर्ता’ का रूपमा रूपान्तरण गर्न खोजिएको टिप्पणी गरे । स्थानीय तह निर्वाचनको समीक्षा, आगामी चुनावी रणनीतिलगायत विषयमा छलफल गर्न साउन ४ गते केन्द्रीय समिति बैठक बोलाइएको अवस्थामा एकलौटी गरिएको मनोनयनले केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको अस्तित्वलाई समेत अध्यक्षले पूर्ण रूपमा नकारेको राणाको जिकिर छ । 

कमल थापाले किन गरे एकलौटी ? 
थापा निकट एक नेताले हाम्राकुरालाई भनेका छन्, ‘पार्टी अध्यक्ष (कमल थापा)लाई सिध्याउने पहिलेको जस्तै खेल भो । त्यही कारण पार्टीको अस्तित्व जोगाउन उहाँले यस्तो कदम चाल्नु भएको हो ।’ कस्तो खेल भएछ ? जवाफमा उनले भने, ‘भित्रभित्रै सही गराएर बहुमत जुटाई निर्वाचन आयोगमा बुझाउने र अध्यक्षलाई हटाउन खोजेको देखियो । सही गराएको विवरण पनि भेटिएको छ ।’ पुरानै खेल सुरु भएपछि एकलौटी गर्नु पर्ने अवस्था आएको हो । 

यसअघि राप्रपामा त्यस्तै खेलहरु हुँदै आएका थिए, ती नेताले भनेका छन् । उनले पार्टी नेतृत्वले गरेको निर्णय फिर्ता नहुने बताएका छन् । उनले अगाडि भनेका छन्, ‘अब कुरा मिल्ने भनेको पशुपतिजीहरुले कसरी लिनु हुन्छ भन्नेमा भर पर्छ । उहाँहरु सुध्रिनु पर्छ ।’ महाधिवेशन भइसकेपछि १७ जना मनोनयन गर्दा आफ्नो पक्षका ५ जना राख्दा उहाँहरुको पक्षका १२ जना राख्नु भएको थियो, उनले भने, ‘त्यो कुरा उहाँहरुले भुल्नु भयो । उहाँहरुले नेतृत्व ढाल्न किन खोजेको ? त्यसको जवाफ दिने कि नदिने ? ।’
 

चुनाव चिन्ह फेर्ने कुरा हुन सक्दैन 
थापा निकट ती नेताले पशुपति शम्शेरले भनेको जस्तो चुनाव चिन्ह फेर्ने कुरा तत्काल हुनै नसक्ने बताए । उनले भने, ‘गाई चुनाव चिन्ह केन्द्रीय समितिको दुई तिहाई मतले पास भएको हो । एकाध व्यक्तिले हलो भन्दैमा तत्काल कसरी फेर्ने ? ।’ स्थानीय तहको निर्वाच सकिसकेपछि त्यसविषयमा छलफल गर्न सकिने कुरा हुन सक्छ, उनले भनेका छन् ।  उनले ४ गते बस्ने केद्रीय समितिले केही न केही निकास निकाल्ने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ