arrow

महन्थ ठाकुरले भने–राजपा निर्वाचनमा सहभागी हुन तयार 

logo
प्रकाशित २०७४ असार ३१ शनिबार
Mahanta-Thakur-400x250.jpg.jpeg

पर्सा । राष्ट्रिय जनता पार्टी नेपाल राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुन तयार रहेको बताएका छन् । 

उनले संविधान संशोधनमा समस्या भएकाले अन्य दुईवटा सहमतिलाई सरकारले पूरा गरे निर्वाचनको वातावरण निर्माण हुने विश्वास लिए । 

राजपा, पर्साले पर्साको बहुदरामाई गाउँपालिकाको विश्रामपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक ठाकुरले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई उपचार खर्च र मुद्दा फिर्ता सरकारले गरे निर्वाचनमा सहभागी हुने वातावरण बन्ने धारणा राखे । 

नेता ठाकुरले संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ नपुगेको अवस्थामा सरकारको निर्णयबाट हुन सक्ने कार्यलाई पूरा गरे राजपा स्थानीय तहको निर्वाचनमा सहभागी हुनसक्ने बताए ।  

कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठाकुरले तराईमा स्वास्थ्य र शिक्षामा सरकारले लगानी कम गरेका कारण मधेसी पछि पर्दै गएको आरोप लगाए । उनले शक्तिका रुपमा रहेको स्वास्थ्य र शिक्षामा जनसंख्याका आधारमा सरकारले लगानी नगरेका कारण मधेसी पछि पर्दै गएको जिकिर गरे ।

राजपा पर्साका संयोजक पुरुषोत्तमलाल झाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका प्रवक्ता एवम् प्रभावशाली नेता विमल श्रीवास्तव, नेजामुदिन समानी, शशिकपुर मियाँलगायतले यथास्थितिमा स्थानीय तह निर्वाचनमा सहभागी नहुने प्रस्ट पारे । 

विभिन्न पार्टी परित्याग गरी राजपा नेपालमा प्रवेश गरेकाहरुलाई संयोजक ठाकुरले फूलमाला र टीका लगाई स्वागत गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ