arrow

ललितपुरमा जनप्रतिनिधिहरुले घटाए कर, विपक्षीहरुको असन्तुष्टि मेट्दै पारित भयो बजेट 

logo
प्रकाशित २०७४ असार ३१ शनिबार
lalitpur_mahanagarpalika_hamrakura1.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि सवा ३ अर्बको वार्षिक वजेट पारित गरेको छ । शनिबार महानगरपालिकाको पहिलो नगरसभाबाट महानगरका मेयर चिरिबाबु महर्जनले प्रस्ताव गरेको नीति तथा कार्यक्रमलाई सामान्य परिमार्जन गरी पारित गराएको ललितपुर महानगरपालिकाले जनाएको छ । नगरसभाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब २२ करोड ९१ लाख १० हजार रुपैयाँको बजेट पारित गरेको हो । 

महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि चालू तर्फ ४३ करोड १२ लाख ८७ हजार रुपैयाँ र पुँजीगत तर्फ २ अर्ब ७९ करोड ७८ लाख २३ हजार रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । जुन पुँजीगत तर्फ कूल खर्चको ८६ दशमलव ६५ प्रतिशत हो । लामो समयदेखि रिक्त जनप्रतिनिधिहरु आएपछि बनेको पहिलो बजेटमा ललितपुरका जनप्रतिनिधिहरुले करको दायरा बढाउने तर कर भने घटाउने नीति लिएका छन् । उनीहरुले आर्थिक वर्ष २०७४ ७५ लाई कर बर्षको रुपमा घोषणा गर्ने निर्णय पनि गराएका छन् । 

कर वर्ष भरी नै मालपोत कर, घरजग्गा कर र व्यवसाय करमा १० प्रतिशत छुट दिन प्रस्ताव गरिएको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए । साथैं विगतका वर्षहरुका बक्यौतामा १० प्रतिशत छुट गरी जरीवाना समेत मिनाहा गर्ने नीति समेत पहिलो नगरसभाबाट पारित भएको छ । नगरसभाबाट पारित बजेट अनुसार अब अहिलेसम्म घरबहालकर लगायत तिरिरहेका विभिन्न करहरुमा तिरिरहेको भन्दा पनि केही रकम कम गरिने भएको छ । यसको बदलामा करको दायरा बढाईने भएको हो । 

बैठकमा विपक्षी एमालेका केही प्रतिनिधिहरुले कृषिमा रकम थोरै रहेको र नौ करोडको कार्यपालिकाको स्वीकृतिमा वडाले खर्च गर्न पाउने बजेटको अर्थ नरहेको भनेर केही बेर असन्तुष्टि व्यक्त गरेका थिए । यद्यपि त्यस भित्रको शीर्षकगत बजेट हेरफेर गरेर भएपनि प्रस्तावित बजेट नै पारित गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ