arrow

२४० निर्वाचन क्षेत्रको प्रचार एमालेले गर्‍यो अस्वीकार, यस्तो आयो ७ बुँदे

logo
प्रकाशित २०७४ साउन १ आइतबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । प्रमुख विपक्षी एमालेले प्रतिनिधिसभाका सदस्यहरुको संख्या बढाउने सम्बन्धमा आइरहेका समाचारले एमालेको ध्यानकर्षण भएको भन्दै यो प्रचारमा गम्भीर षड्यन्त्र लुकेको बताएको छ ।

आइतबार पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी समिति बैठले यो प्रचारबाजी पूर्णरुपमा अस्वीकार गर्दछ, भनेको छ । बैठकले निर्धारित समयमै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्न संविधानले व्यवस्था गरेको १ सय ६५ निर्वाचन क्षेत्र निर्धारणका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग गठनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै, बैठकले आइतबारबाट देशभर सुरु भएको मतदाता नामावली अद्यावधिक कार्यमा सक्रियतापूर्वक लाग्न पार्टी मातहत कमिटीहरुलाई निर्देशन दिएको छ । आगामी असोज २ गते हुने भनिएको प्रदेश नम्बर २ को निर्वाचनको सम्पूर्ण तयारीमा जुट्नका लागि प्रदेश नम्बर २ अन्तर्गतका पार्टी कमिटी, जनसंगठन र नेता–कार्यकर्ताहरुलाई समेत बैठकले निर्देशन दिएको छ । यसअघि सम्पन्न दुबै चरणका निर्वाचन जस्तै प्रदेश नम्बर २ को निर्वाचनमा पनि पहिलो स्थानमा विजय हासिल गर्नका लागि एकतावद्ध भएर परिचालन हुन भनिएको छ ।
 

७ बुँदे निर्णयको पूर्णपाठ

प्रेस वक्तव्य

नेकपा (एमाले) स्थायी समितिको बैठक अध्यक्ष कमरेड केपी शर्मा ओलीको निवास बालकोटमा आज सम्पन्न भएको छ । बैठकले निम्न बमोजिम निर्णय गरेको छः
१. हालै विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभाका सदस्यहरुको संख्या बढाउने सम्बन्धमा भइहरेका प्रचारबाजीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । समयमै निर्वाचन नगर्ने नियतबाट आएको यस प्रचारमा गम्भीर षड्यन्त्र लुकेको ठहर गर्दै हाम्रो पार्टी उक्त कुरा पूर्णरुपमा अस्वीकार गर्दछ । साथै, निर्धारित समयमै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नका लागि संविधानले व्यवस्था गरे अनुरुप १ सय ६५ निर्वाचन क्षेत्र निर्धारण गर्न अविलम्ब निर्वाचन क्षेत्र निर्धारण आयोग गठनका लागि सरकारको ध्यानाकर्षण गराउँछ ।  
२. आजदेखि सुरु भएको मतदाता नामावली अद्यावधिक कार्यमा सक्रियतापूर्वक लाग्न हाम्रो पार्टी मातहत कमिटीहरुलाई निर्देशित गर्दछ । साथै, सबै नेपाली नागरिकलाई सहज र सुविधाजनक ढंगले मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछ ।
३. आगामी असोज २ गते हुन गइरहेको प्रदेश नम्बर २ को निर्वाचनको सम्पूर्ण तयारीमा जुट्नका लागि प्रदेश नम्बर २ अन्तर्गतका पार्टी कमिटी, जनसंगठन र नेता–कार्यकर्ताहरुलाई हाम्रो पार्टी निर्देशित गर्दछ । साथै, यसअघि सम्पन्न दुबै चरणका निर्वाचनमा झैं प्रदेश नम्बर २ को निर्वाचनमा पनि पहिलो स्थानमा विजय हासिल गर्नका लागि एकताबद्ध भएर परिचालन हुन हाम्रो पार्टी संकल्प गर्दछ ।
४. स्थानीय तहको निर्वाचन सम्पन्न भएको तहमा हाम्रो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि साउन महिनाभित्र अभिमुखीकरण तथा प्रशिक्षण आयोजना गरिनेछ । त्यसको मिति, स्थान र व्यवस्थापनको जिम्मा सम्बन्धित प्रदेश कमिटीहरुलाई दिइएको छ । स्थानीय तहका कार्ययोजना, बजेट, पार्टी र जनप्रतिनिधि संस्थाबीचको समन्वयलगायतका विषय समावेश गरी स्थानीय तहका जनप्रतिनिधिहरुका लागि मार्गनिर्देशन जारी गरिएको छ ।

५. यसअघि स्थानीय तह निर्वाचनका कारण रोकिएका मातहतका कमिटी, जनसंगठन र प्रवासी नेपाली मञ्चका अधिवेशनहरु (प्रदेश नम्बर २ बाहेक) खुल्ला गरिएको छ ।
६. दुबै चरणका स्थानीय निर्वाचनमा जनताको विश्वास प्राप्त गरी नेकपा (एमाले) पहिलो पार्टीका रुपमा स्थापित भएसँगै पार्टी र नेतृत्वका विरुद्ध थालिएका अनेक भ्रमपूर्ण प्रचारहरुप्रति हाम्रो पार्टी सचेत छ । नेकपा (एमाले) आफ्ना एजेन्डाप्रति सधैं स्पष्ट छ र आगामी दिनमा पनि त्यसमा दृढ रहने प्रतिवद्धता दोहोर्‍याउन चाहन्छ ।
७. हाम्रो पार्टीका पोलिट्ब्युरो सदस्य तथा सांसद कमरेड महिन लिम्बुको यही २०७४ असार १० गते भएको असामयिक निधनप्रति बैठक दुःख व्यक्त गर्दछ । पार्टी संगठन र जनताको सेवामा उहाँले पुर्‍याएको योगदानको कदर गर्दै बैठक उहाँप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।
यही असार २९ गते जनकपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाउनुहुने कार्यकर्ताप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त घटनामा परी घाइते हुनुभएकी केन्द्रीय कमिटी सदस्य कमरेड रामरति रामलगायत नेता–कार्यकर्ताको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
बैठक गम्भीर बिरामी पर्नुभएका केन्द्रीय कमिटीका बैकल्पिक सदस्य कमरेड खगेन्द्र चुँडालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

योगेश भट्टराई

प्रचार विभाग प्रमुख



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ