arrow

राजधानीका ज्यानमारा भ्वाङहरू

logo
प्रकाशित २०७४ साउन २ सोमबार
dust-kathmandu.jpg

काठमाडौं । मुलुककै राजधानी रहेको काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाका जनप्रतिनिधिले नगरलाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउनेलगायत मीठा कुरा गरेका छन् । 

कसैले ‘स्मार्ट सिटी’ र ‘स्याटेलाइट सिटी’ त कसैले ‘मोनोरेल’ सञ्चालन र फ्लाइओभर निर्माण, कसैले निशुल्क वाइफाईको व्यवस्थाजस्ता आश्वासन दिएर नगरलाई सुविधासम्पन्न बनाउने सपना बाँड्न भ्याइसके । तर, काठमाडौं महानगरपालिकाकै बासिन्दा धूवाँ धूलो, हिलो र ढलबाट मुक्त हुन सकेका छैनन् ।

ढल व्यवस्थित गर्न नसक्दा पानी पर्नासाथ सडक नै पोखरीजस्तो बन्ने अनि यात्रु नालीमा डुब्ने मात्र होइन, ज्यानै जानेसम्मका घटना भइरहेका छन् । सडक निर्माणका क्रममा महिनौंदेखि त्यत्तिकै राखिएका ठूल्ठूला भ्वाङ नागरिकका लागि ‘एम्बुस’जस्ता बनेका छन् । 

विद्यालयबाट फर्किंदै गरेकी छात्रा सत्या सापकोटा सडककै भेलमा झुक्किएर नालीमा पसिन् । झन्डै सय मिटर परसम्म लेदोपानीसँगै बगेकी सत्याले हात हल्लाएपछि स्थानीयले उद्धार गरे । सत्या त बाँच्न सफल भइन् तर खेल्दा(खेल्दै ढलमा परेकी नेपालटारकी ११ वर्षीया विनीता फुयाँलले ज्यानै गुमाउनुपर्‍यो । 

शुक्रबारका यी दुई घटना राजधानीभित्रका प्रतिनिधि मात्र हुन् । यस्ता दर्जनौं घटना बर्सेनि भइरहेका छन् तर स्थानीय निकायदेखि केन्द्र सरकारसम्म मूकदर्शक बनिरहेका छन् ।

विगतमा कर्मचारीले मात्र थेगेको स्थानीय निकाय अहिले तह भएपछि जनप्रतिनिधि निर्वाचित भएर आइसकेका छन् । उनीहरूले जनतालाई विकासका थुप्रै आश्वासन बाँडिसकेका छन् । 

तर, सडकका खाल्डाखुल्डीसम्म नपुर्दा ज्यानै गुमाउनुपर्ने नगरवासीको पीडामा मह्लम लगाउन जनप्रतिनिधि पनि चुकेका छन् । सपना ठूल्ठूला देखाउने तर बजेट छुट्ट्याएका योजनासमेत समयमै पूरा नगर्ने प्रवृत्तिले नागरिक मारमा परिरहेका छन् ।

पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाका लागि सडकमा खन्ने तर तत्काल नपुर्ने वा कालोपत्रे नगरेका कारण घाम लागे धूलोले र पानी परे हिलोले हिँड्न सक्ने अवस्था छैन । 

यसको असर यति मात्र होइन, उक्त माटो पसेर ढल थुनिने, त्यसपछि सडकभरि पानी जम्ने अवस्था छ । तीनकुने, पुतलीसडक, जमल, बौद्ध, त्रिपुरेश्वर, कालिमाटीलगायत दर्जनौं ठाउँ केही वर्षयता पानी पर्नासाथ पोखरीजस्तै जलमग्न हुने गरेका छन् । 

मेलम्ची खानेपानीका लागि खनिएका ठाउँमा जम्ने पानीले पनि यात्रु र सवारी साधन थुप्रै पटक समस्यामा परेका छन् । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ