arrow

मुक्त कमैयाको समस्या समाधानका लागि सरकार गम्भीर छः प्रधानमन्त्री

logo
प्रकाशित २०७४ साउन २ सोमबार
ntv-sherbahadur.JPG

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयाको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् । १७ औँ मुक्त कमैया दिवसका अवसरमा नेपाल टेलिभिजनद्वारा निर्माण गरिएको ‘हामी थारू’ नामक वृत्तचित्रको यहाँ सोमबार सार्वजनिक गर्दै उनले भने – “मुक्त कमैयाको आर्थिक, सामाजिक र सांस्कृतिक समस्या समाधानका लागि सरकार गम्भीर छ ।”

प्रधानमन्त्री देउवाले “थारू समुदाय सांस्कृतिक रूपमा धनी समुदाय हो, यो समुदाय इमान्दार पनि छ, तर आर्थिक र शैक्षिकरूपमा उनीहरु अलि कमजोर देखिएका छन्,” भन्दै “विविध कारणले राज्यको मूलप्रवाहबाट पछाडि पारिएको यो समुदायको विकास र समृद्धिका लागि उनीहरुबीच आर्थिक र शैक्षिक पहुँच बढाउनुपर्छ”– बताए ।

“मुलुकमा समावेशी संविधान जारी भएको छ, यसको प्रभावकारी कार्यान्वयनसँगै थारू समुदायको पनि अधिकार प्राप्त हुन्छ”– उनले भने। सांसद डिल्ली चौधरीले थारू समुदायका समग्र विकासका लागि कार्य गर्न प्रधानमन्त्रीसँग आग्रह गरे । थारू संस्कृतिविद् अशोक थारूले ‘हामी थारू’ नामक वृत्तचित्र एउटा नमूना मात्रै भएको उल्लेख गर्दै थारू समुदायको सम्पूर्ण जिवनीलाई नै वृत्तचित्रमा उतार्नुपर्नेमा जोड दिए ।

नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहाल, महाप्रबन्धक गोविन्द रोक्का र नेपाल टेलिभिजन कर्मचारी सङ्घका अध्यक्ष गोविन्द धिताल लगायतले टेलिभिजनको विकास र विस्तारमा जोड दिनुपर्ने आवश्यकता औल्याए ।थारू समुदायको जीवनशैली, वेषभूषा, भाषा संस्कृति र परम्परालाई समावेश गरी करिब ५० मिनेटको सो वृत्तचित्र तयार गरिएको जनाएको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ