arrow

छात्रबृत्ति पाउन यस्तो छ मापदण्ड

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
Bhukampapidit.jpg.jpeg
उच्च माध्यमिक शिक्षा परिषद्ले ११ र १२ कक्षा अध्ययनरत भूकम्पपीडित विद्यार्थीलाई आवाससहित मासिक ५ सयदेखि ७ हजार रुपैयाँसम्म छात्रवृत्ति दिने भएको छ । १ सय ३४ विद्यार्थीले यो अवसर पाउने छन् ।
 
परिषदका उपाध्यक्ष चैतन्य शर्माका अनुसार पीडित विद्यार्थीलाई ६ समूहमा विभाजन गरेर मासिक रूपमा छात्रवृत्ति वितरण गर्न लागिएको हो । ‘भूकम्पमा आमाबुबा दुवै वा एक जना गुमाएका विद्यार्थीलाई आवाससहित मासिक भत्ताको व्यवस्था गरेका छौं,’ शर्माले भने । परिषदमा छात्रवृत्तिका लागि आवेदन दिएकामा आमाबुबा दुवै गुमाएका विद्यार्थी तीन जना छन् । त्यस्तै आमा वा बुबामध्ये एक जना गुमाएका ३५ जना छन् ।   
 
भूकम्पको धक्काले घर भत्किएका र आमाबुबा गुमाएका, बुबा वा आमा र पतिपत्नी गुमाएका, परिवारका अन्य सदस्य गुमाएका, विद्यार्थी स्वयं घाइते भएका, अभिभावक ‘क’ वर्ग या ‘ख’ वर्गको घाइते भएका वर्गीकरण गरेर छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।  उपत्यकाभित्र, उपत्यकाबाहिरका नगरपालिका र ग्रामीण क्षेत्रमै अध्ययन गरेको आधारमा रकम प्रदान गर्न लागेको हो ।
 
परिषदका अनुसार बाबुआमा दुवै गुमाएका र घर भत्किएका विद्यार्थीले उपत्यकामा सात हजार, उपत्यकाबाहिर पाँच हजार र ग्रामीण क्षेत्रमा तीन हजार पाउने छन् । बाबु वा आमामध्ये एक गुमाएकालाई उपत्यकाभित्र पाँच हजार, बाहिरका नगरपालिकामा ३ हजार ५ सय र ग्रामीण भेगमा अध्ययन गर्नेले २ हजार ५ सय पाउने छन् । विद्यार्थी स्वयं घाइते भएमा उपत्यका, बाहिर र ग्रामीणमा क्रमश: चार, तीन र दुई हजार रुपैयाँ पाउने छन् । परिवारका अन्य सदस्य गुमाएका विद्यार्थीले तीन, दुई र एक हजार रुपैयाँ पाउने छन् । विद्यार्थीका अभिभावक ‘क’ वर्गको अपांगता भएमा उपत्यकामा दुई हजार, बाहिरको नगरपालिकामा एक हजार पाँच सय र गाउँमा एक हजार पाउने छन् । अभिभावक ख वर्गको अपांगता भएमा एक हजार, आठ सय र पाँच सय रुपैयाँ प्रदान गर्न लागिएको हो ।
 
परिषदको १८२ औं बैठकले भूकम्पबाट आमा, बुबा र घर गुमाएका तथा घाइते भएका विद्यार्थीका लागि कक्षा ११ र १२ नि:शुल्क अध्ययन गराउने निर्णय गरेको थियो । छात्रवृत्तिका लागि गत असारमा आवेदन माग गरिएको थियो । परिषदमा पाँच हजार तीन सय ३० विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिएका छन् । आवेदन दिएका विद्यार्थीमध्येबाट छनोट गरेर छात्रवृत्ति दिन लागिएको हो ।
 
भूकम्पपीडित विद्यार्थीलाई नि:शुल्क अध्ययन गराउने सम्बन्धमा गठित कार्यदलले दिएको सुझावका आधारमा पीडितको आधार तय गरेर वर्गीकरण गरिएको हो । परिषद्ले छात्रवृत्ति पाउने विद्यार्थीको नामावली प्रकाशन गरिसकेको छ ।
 
मकर श्रेष्ठ कान्तिपुर दैनिकमा लेख्छन् - छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूले पुस मसान्तभित्र आफ्नो सक्कल कागजात पेस गर्नुपर्ने हुन्छ ।
 
परिषद्ले घर मात्रै भत्किएका विद्यार्थीहरूको हकमा छानबिन भइरहेको जनाएको छ । छानबिन प्रतिवेदन प्राप्त भएपछि छात्रवृत्ति दिने वा नदिने भन्ने निर्णय गरिने परिषद्ले जनाएको छ ।
 
परिषदका अनुसार आमा र बुबा दुवै गुमाएका भक्तपुर नगरपालिका–५ का अनमोल श्रेष्ठ, भीमेश्वर नगरपालिका–५ दोलखाका बालकृष्ण चापागाईं र सिपापोखरी–३ सिन्धुपाल्चोकका सम्झना श्रेष्ठ छन् ।
 
उनीहरूले परिषद्मा आमाबुबाको मृत्यु दर्ता प्रमाणपत्र, विद्यार्थी र मृतकको नाता प्रमाणित, जिल्ला दैवीप्रकोप उद्धार समितिले वितरण गरेको भूकम्पपीडित परिवार परिचयपत्र वा प्रशासनको सिफारिस, अध्ययनरत उच्च माध्यमिक विद्यालयको सिफारिस, शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ । यस्ता विद्यार्थीलाई अन्य संघसंस्थाले छात्रवृत्ति प्रदान गरेको हुनु हुँदैन । परिषद्ले माग गरेको सम्पूर्ण कागजपत्र पूरा गरेर राष्ट्रिय वाणिज्य बैंकको कुनै पनि शाखामा खाता खोलेर खाता नम्बरसमेत परिषद्मा उपलब्ध गराउनु पर्ने हुन्छ ।
 
बाबु वा आमामध्ये कुनै एक जना गुमाएकालाई पनि छात्रवृत्तिको व्यवस्था गरिएको छ । त्यस्तै विवाहित विद्यार्थीको पति वा पत्नी गुमाएको भए एक जनालाई छात्रवृति दिने भनिएकोमा कसैले पनि निवेदन दिएका छैनन् । आमा गुमाउनेमा २१ जना छन् । त्यस्तै बुबा गुमाउनेमा १२ जनाले छात्रवृत्ति पाउने भएका छन् । उनीहरूले पनि आमाबुबा दुवै गुमाएका जस्तै सम्पूर्ण कागज पेस गर्नुपर्ने हुन्छ ।
 
अभिभावक वा स्वयं विद्यार्थी घाइते भई घर पूर्ण रूपमा क्षति भएकाहरूको सूचीमा ५१ जना छन् । कतिपय विद्यार्थीले घाइतेको उल्लेख गरे पनि को घाइते भन्ने खुलाएको छैन । उनीहरूले प्रस्ट खुल्ने कागजपत्र पेस गर्नुपर्ने हुन्छ । यो समूहमा पर्ने विद्यार्थीले घाइते भई घरसमेत पूर्ण क्षति भएको भनी स्थानीय निकायको सिफारिस पेस गर्नुपर्ने हुन्छ । त्यस्तै अपांगता भएको हो भने वर्ग खुल्ने प्रमाण पेस गर्नुपर्ने हुन्छ । बुबाआमा घाइते भएको हो भने नाता प्रमाणित पेस गर्नुपर्ने हुन्छ । अन्य कागजात मृतक भएका व्यक्तिकै सरह शैक्षिक प्रमाण पेस गर्नुपर्ने हुन्छ ।
 
एउटै परिवारका सदस्य गुमाएकालाई पनि छात्रवृत्ति दिइने छ । हजुरआमा, हजुरबुबा, दिदीबहिनी, दाजु, भाउजू, भाइ, ठूलो बा, ठूली आमा, भतिजाको मृत्यु भएकाहरूले निवेदन पेस गरेका छन् ।
 
परिषदका अनुसार ११ विद्यार्थी स्वयं घाइते भएका छन् । यी सबै कक्षा ११ का विद्यार्थी हुन् । त्यसमा ६ छात्रा छन् ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ