arrow

राप्रपालाई पहिलो पार्टी बनाउने यस्तो छ कमल थापाको दस्तावेज (पूर्ण पाठसहित)

पशुपतिले केन्द्रीय कार्यसमिति बैठक पनि बहिस्कार गरे

logo
प्रकाशित २०७४ साउन ४ बुधबार
kamal_thapa.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रको विवादको असर केन्द्रीय कार्यसमितिको बैठकमा समेत देखिएको छ । वरिष्ठ नेता पशुपति शम्शेर राणाले केन्द्रीय कार्यसमितिको बैठक समेत बहिस्कार गरेका छन् ।

कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका राणा पक्षीय नेताहरुलाई केन्द्रीय समितिको बैठकम सहभागि गराउन मंगलबार राती अबेरसम्म छलफल भएको थियो । राणापक्षीय अन्य नेताहरु सहभागि भए पनि आफु भने बैठकमा आएनन् ।  

यस्तै, कार्यसम्पादन समितिको बैठकमा सहभागि नभएका नेता लोकेन्द्रबहादुर चन्द भने केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित भएका छन् ।

बैठकमा अध्यक्ष कमल थापाले केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको राजनीतिक कार्यपत्र प्रस्तुत गरेका छन् । २७ सय शब्दको कार्यपत्र प्रस्तुत गर्दै थापाले राप्रपालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको बताए ।

राप्रपा अध्यक्ष थापाले आफ्नो राजनीतिक कार्यपत्रमा संविधान संशोधन र पार्टी सरकारमा सहभागि हुने विषय पनि उल्लेख गरेका छन् ।

उनले मधेस केन्द्रीत दलहरुलाई संविधानको मुल प्रवाहमा ल्याउनुपर्छ भन्ने राप्रपाको मान्यता रहेको भन्दै प्रदेश सीमांकन हेरफेरलाई छाडेर ल्याइएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने राप्रपाले निर्णय गरेको बताए ।

सरकारमा सहभागि हुनेबारे पनि पार्टीमा विवाद रहेको स्वीकार्दै अध्यक्ष थापाले केन्द्रीय समितिको बैठकमा छलफल गर्ने प्रस्ताव गरे ।

यस्तै, अध्यक्ष थापाले आफ्नो राजनीतिक कार्यपत्रमा पार्टीलाई एक दिन देशकै पहिलो दल बनाउने लक्ष्य समेत उल्लेख गरेका छन् ।

कार्यकर्तालाई हतोत्साहित नहुन भन्दै उनले ‘निर्वाचन परिणामबाट चिन्तित र विचलित भएर होइन, पार्टीको सशक्त बिचार तथा प्रतिबद्ध कार्यकर्ताहरुको शक्ति र उर्जाको आधारमा राप्रपालाई एक दिन देश कै सबैभन्दा पहिलो राजनीतिक दल बनाउने छौं र बनाउन सक्छौ भन्ने अठोट पार्टी नेतृत्वले राख्नुपर्छ’ भनेका छन् ।

अध्यक्ष थापाले विद्यमान राष्ट्रिय संकटको समाधान एवं पार्टीलाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्न राप्रपाको भावि बैचारिक, रणनीतिक एवं संगठनात्मक कार्यदिशा बुँदागत रुपमै लेखका छन् ।
थापाको २७ सय शब्दको दस्तावेज

 

केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित सम्पुर्ण साथीहरुमा म हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु । वर्षाद् र खेतिपातीको समयमा समेत खासगरी काठमाडैाँ उपत्यका बाहिरबाट पाल्नु भएका साथीहरुमा बिशेष आभार प्रकट गर्दछु ।

हाम्रो महान र गौरवशाली पार्टी सर्वाधिक कठिन र चुनौतिपूर्ण घडिबाट गुज्रि रहेको समयमा यो बैठक बसि रहेको छ । पार्टीले भोग्नु परिरहेको पिडा र चुनौतिको यस अवस्थामा पार्टी र मुलुकको बृहत्तर हितको लागि पार्टीका सबै तहका कार्यकर्ता र नेताहरुका बिचमा परस्पर सदभाव, आत्मियता, स्नेह र एकता  अनिवार्य शर्त हो र हुनु पर्दछ भन्ने मेरो दृढ मान्यता र विश्वास रहेको छ ।

हालै सम्पन्न स्थानिय तहको दुईचरणको निर्वाचनमा पार्टीको निराशाजनक परिणाम, आगामि माघ ७ भित्र संसद र प्रदेश सभाको निर्वाचन सम्पन्न गरि सक्नु पर्ने संवैधानिक अवस्था एवं राष्ट्रियता, प्रजातन्त्र, नेपाली पहिचान र समग्र अर्थतन्त्र कमजोर हुँदै गैरहेको धरातलिय यथार्थको पृष्ठभूमीमा पार्टीको केन्द्रीय समितिको यो बैठक बसिरहेको हुँदा यस बैठकले देशको परिस्थितिमा सुधार ल्याउन तथा पार्टीलाई सशक्त ढंगबाट अघि बढाउन महत्वपुर्ण भूमिका निर्वाह गर्नेछ भन्ने मैले आशा र विश्वास गरेको छु । त्यस तर्फ शुरु मै केन्द्रिय समितिका साथीहरुको ध्यान आकर्षित गर्न चाहन्छु ।

हालै सम्पन्न स्थानिय तहको दुवै चरणको निर्वाचनमा पार्टीको तर्फबाट जनताको अग्नी परिक्षामा सहभागी हुनु भएका सम्पुर्ण उमेदवारहरुमा यो बैठक धन्यवाद ज्ञापन गर्दछ । साथै, पार्टीलाई सफलता दिलाउन अहोरात्र खटनु हुने पार्टीका सबै तहका निकाय र कार्यकर्ता साथीहरु तथा सम्पुर्ण सहयोगी र शुभचिन्तकहरुमा समेत यो बैठक आभार प्रकट गर्दछ । निर्वाचनमा राप्रपालाई मतदान गर्नुहुने सम्पुर्ण मतदाताहरुमा केन्द्रीय कार्यसमितिको यो बैठक सादर कृतज्ञता व्यक्त गर्दछ । निर्वाचनको क्रममा पार्टीप्रति सहयोग र सदभाव कायम राख्नुहुने आमसञ्चार माध्यम र नागरिक समाज प्रति पनि हामी आभारी छौ । साथै, अत्यन्त असहज र प्रतिकुल परिस्थितिका वावजुद विजय प्राप्तगर्ने पार्टीका सबै उमेदवारहरुलाई यो बैठक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

स्थानिय तहको निर्वाचनमा राप्रपाले अपेक्षित सफलता हासिल गर्न सकेन । पार्टी एकिकरण पश्चात कायम रहेको उत्साहजनक माहौल  तथा आमजनताको अपेक्षाको तुलनामा निर्वाचन परिणाम निराशाजनक नै रहेको छ । निर्वाचनमा अनपेक्षित र अप्रत्यासित परिणाम एवं असफलताका विभिन्न कारणहरु छन् । यसवारेमा गहिरो अध्ययन अनुसन्धान गरि सुझाव सहितको प्रतिवेदन पेश गर्न महामन्त्रि ध्रुवबहादुर प्रधानको संयोजकत्वमा एक समिति गठन समेत भैसकेको छ । उक्त समितिको पूर्ण प्रतिवेदन प्राप्त भैसके पछि त्रुटि एवं कमि कमजोरीहरु सच्याएर आगामि निर्वाचनमा अत्यधिक सफलता हासिल गर्न क्रियाशील हुनु पर्नेछ । हिन्दुराष्ट्रको शास्वत मान्यतामा आधारित भएर एक बलियो एवं लोकप्रिय राष्ट्रवादी शक्तिको रुपमा राप्रपाको उदय हुँदै गैरहेको सर्वविदित छ । यस अवस्थामा हिन्दुराष्ट्र बिरोधी र नेपालको राष्ट्रिय स्वाधिनता र स्वाभिमानलाई कमजोर बनाएर आफ्नो स्वार्थ शिद्ध गर्न चाहने राष्ट्रिय र अन्तर्राष्ट्रिय गिरोह र शक्तिकेन्द्रहरुले संगठित र योजनावद्ध रुपमा राप्रपा बिरुद्ध अभियान नै चलाएको स्पष्ट देखिन्छ । पार्टीको बिचार, नेतृत्व र समग्रमा पार्टी प्रति नै बितृष्णा र घृणा फैलाएर राप्रपा र राप्रपाको बिचारलाई सदाको लागि समाप्त पार्न चाहने यस गिरोह र प्रवृत्ति भित्र केही राजनीतिक दलका नेता, केही आमसंचार माध्यमका प्रतिनिधिहरु तथा केही गैरसरकारी संस्था र नागरिक समाजका कथित अगुवाहरु रहेका छन् । यसतर्फ पार्टी पक्ति समय मै सचेत रहनु पर्दछ र आमजनतालाई समेत सुसुचित गर्नु पर्दछ ।


निर्वाचनमा प्रत्यक्ष सफलता प्राप्त गर्न नसकेता पनि यो निर्वाचनको माध्यमबाट राप्रपाले परोक्षरुपमा केही  उल्लेख्य उपलब्धिहरु भने हासिल गरेको छ । सुदृढ स्थानिय स्वायत्त शासन प्रणाली राप्रपाको एक महत्वपूर्ण बैचारिक आधारस्तम्भ हो । यो निर्वाचनसँगै सो अवधारणा संस्थागत हुन पुगेको छ । राप्रपाले विगत केही वर्षदेखि स्थानिय निर्वाचन चाँडो भन्दा चाँडो हुनुपर्दछ भन्ने माग गर्दै आएको थियो । निर्वाचनबाट त्यो माग पुरा भएको छ । निर्वाचनबाट जनताको अधिकार स्थापित भएको छ, स्थानियस्तरमा प्रजातन्त्र बलियो भएको छ । यो उपलब्धि प्रति राप्रपा सन्तोष प्रकट  गर्दछ । साथै, निर्वाचनको क्रममा पार्टी संगठनको विस्तार गर्न एवं आमजनताको मन मस्तिष्कमा पार्टीको एजेण्डाको बिजारोपण गर्न हामी सफल भएका छौ । चुनावमा अपेक्षित परिणाम नआएता पनि चुनावको माधयमबाट राप्रपा अलग पहिचान र सुस्पष्ट विचार बोकेको राजनैतिक शक्ति हो र भविष्यको लागि एक सशक्त विकल्प हो भन्ने मान्यता आमजनताको मनमस्तिष्कमा बिजारोपण भएको छ । ठिक ढंगबाट मलजल र स्याहार सम्भार गर्न सक्यौ भने केही वर्षभित्रमा अहिले रोपिएको बिरुवा झाँगिएर विशाल वृक्षमा रुपमान्तरण हुन सक्दछ । सिद्धान्त प्रतिको अविचलित निष्ठा, सुदृढ संगठन, योजनावद्ध कार्यक्रम एवं अवच्छिन्न सक्रियताको आधारमा निकट भविष्यमा नै राप्रपा देशको अग्रणी शक्तिको रुपमा खडा हुनेछ ।

यो निर्वाचनले हाम्रा सबल र कमजोर पक्षहरुलाई उजागर गरेको छ । राप्रपाले अबलम्बन गरेका बिचार र नीतिको पक्षमा बलियो जनमत छ, तर त्यो जनमतलाई भोटमा रुपान्तरण गर्ने हाम्रो संगठनात्मक शक्ति अत्यन्त कमजोर रहेको तितो यथार्थलाई हामीले स्विाकार गर्नु पर्दछ । पार्टी एकिकरण पछि देशभर एकता प्रक्रियालाई कार्यान्वन गर्ने तथा महाधिवेशन सम्पन्न गर्ने कार्यमा पार्टी पक्ति व्यस्त रह्यो । फलतः हामीले वडा तहसम्म पार्टी संगठन विस्तार र सुदृढ गर्ने कार्यमा समय र ध्यान दिन सकेनौ । पार्टीका अधिकांश नेताहरु राजधानी र जिल्ला सदरमुकामहरुमा नै अलमलिने प्रवृत्तिले समेत संगठन निर्माणमा नकारात्मक प्रभाव पारेको छ । साथै, केन्द्रमा कायम भएको एकताको भावनालाई स्थानिय तहसम्म सशक्त र प्रभावकारीरुपमा प्रवाहित गर्नमा पनि केहि कमजोरी देखियो ।
गत निर्वाचनमा पैसाको व्यापक प्रयोग र दुरुपयोग भयो । राप्रपाले साधन श्रोतको परिचालनमा अन्य पार्टीहरुसंग प्रतिस्पर्धा गर्ने कुरा त परै जावस न्युनतम आवश्यकता समेत पुरा गर्न सकेन । खासगरि कांग्रेस, एमाले र माओवादी केन्द्रले चुनावलाई प्रभावित गर्न पैसाको जुन ढंगले प्रयोग गरे त्यसबाट आगामि दिनमा भ्रष्टाचार व्यापक हुने र प्रजातन्त्रको भविष्य समेत संकटमा पर्ने टडकारो संकेत देखिएको छ ।

राप्रपाका वारेमा योजनावद्ध र संगठितरुपमा फैलाईएको नकरात्मक प्रचार र भ्रमलाई समयमा चिर्न र निराकरण गर्न नसक्दा पनि चुनावको परिणामलाई प्रभाव पारेको छ । सरकारमा राप्रपाको सहभागिता र संविधान संशोधनका विषयमा पार्टीको अडानका वारेमा कायम रहेको भ्रमलाई हामीले हटाउन सकेनौ । राप्रपा सत्ता केन्द्रित रहेको, हिन्दुराष्ट्र र राजसंस्था बोकेको पार्टी सरकारमा सहभागी हुनु उपयुक्त नभएको तथा संविधान संशोधनको विषयमा अडान परिवर्तन गरेको जस्ता भ्रामक आरोपहरुको समय मै खण्डन र निराकरण गर्न सकिएन । साथै, राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा परित्याग गर्यो भन्ने आधारहिन र अनर्गल प्रचारवाजीले समेत निर्वाचनमा प्रभाव पारेको छ ।

एउटा निर्वाचनको परिणामले कुनै पनि पार्टीको विचार, नीति र अडानको औचित्य र भविष्यको मुल्यांकन हुन सक्दैन । त्यसमा पनि स्थानिय विकास र नेतृत्वको प्राथमिकताका आधारमा हुने स्थानियतहको चुनावले पार्टीको राष्ट्रिय एजेण्डाको महत्व र आबश्यकतावारे अन्तिम निस्कर्ष निकाल्न खोज्नु अतिशयोक्ति हुनेछ । राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र उदार अर्थतन्त्रको धरातलमा सम्वृद्ध नेपाल निर्माणगर्ने राप्रपाको लक्ष्यको सर्वकालिक महत्व रहेको छ । राप्रपाले अवलम्बन गरेको सम्बर्द्धनवादको सिद्धान्त नै नेपालको पहिचान र अस्तित्वको आधार हो । नेपालको राष्ट्रिय एकता, अखण्डता र सम्बृद्धिका निमित्त सर्वधर्म सभमभाव र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र, राजसंस्था सहितको बहुदलीय प्रजातन्त्र, उदार आर्थिक नीति, सदृढ स्थानिय स्वायत्त शासन प्रणाली एवं राष्ट्रिय स्वाभिमानमा आधारित परराष्ट्र नीतिको औचित्य हिजो पनि थियो, आज पनि छ र भोली पनि रहने छ । स्थानिय तहको निर्वाचन परिणामले यस मान्यतालाई असफल, कमजोर र असान्दर्भिक बनाएको छैन ।

मुलुकको वर्तमान अवस्थाको निष्पक्ष र यथार्थपुर्ण विश्लेषण गर्ने हो भने राप्रपाको बिचार र वैकल्पिक मार्गचित्रको आबश्यकतालाई अझ महसुश गर्न सकिन्छ । २०६२-०६३ को आन्दोलन पश्चात परिवर्तनलाई संस्थागत गर्ने क्रममा अवलम्बन गरिएको त्रुटिपुर्ण अवधारणा र गलत बाटोको परिणाम स्वरुप हामी जहाँ जान हिँडेका थियौ, अहिले ठिक त्यसको विपरित गन्तव्यमा आईपुगेका छौ । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता मान्यताहरु राजनैतिक सामाजिक अवस्था र व्यवस्था मात्र हुन् । यसको औचित्य, उपादेयता र कार्यान्वनविधिका वारेमा समेत अझै विवाद र बहस जारि छ ।

तथापि संविधान जारि भैसकेको वर्तमान अवस्थामा यी मान्यताहरुलाई राष्ट्रिय यथार्थ मान्ने हो भने पनि यसले राष्ट्र र जनताको जीवनमा कति र कस्तो गुणात्मक प्रभाव पर्यो त्यसको समिक्षा हुनु जरुरी छ । नेपालको ईतिहासमा पहिलो पटक सुक्ष्म रुपमा भएपनि देशलाई टुक्राउनु पर्छ भन्ने विखण्डनकारी आवाज उठेको छ । नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिको चलखेल र प्रभाव तिव्र र व्यापक भएको छ । राष्ट्रिय स्वाभिमान र नेपाली जनताको निर्णायकत्वमाथि आघात पुगेको छ । नेपालको सनातन धर्म कमजोर हुंदैछ, विदेशी धर्म स्थापित गर्ने होड चलेको छ र हाम्रो राष्ट्रिय पहिचान संकटमा पर्दै गएको छ । सदियौदेखि नेपाली समाजमा कायम रहँदै आएको धार्मिक सांस्कृतिक सदभाव र  एकता विस्तारै खलबलिंदै गएको छ । आर्थिक बृद्धिदर सुधारोन्मुख देखिएता पनि समग्र अर्थतन्त्र संकटग्रस्त रहेको छ । प्रत्येक दिन सरदर दुई हजार युवाहरु सामान्य रोजगारीको खोजीमा बिदेश पलायन हुने अवस्था कायम रहनु असफल अर्थतन्त्रको द्योतक हो । भ्रष्टाचार अकल्पनियरुपमा व्यापक भएको छ । यस्तो स्थितिमा राज्यका संयन्त्रहरु– प्रशासन, संबैधानिक अगंहरु, कुटनैतिक, शैक्षिक, सुरक्षा एवं न्यायिक क्षेत्र समेत पार्टीकरणको तिव्र चपेटामा परि जिम्मेवारी निर्वाहमा निस्प्रभावि बन्ने खतरा बढदो छ ।

उपरोक्त तितो यथार्थले परिवर्तनका सम्वाहकको अकर्मण्यता, नीतिगत असफलता र गलत मार्गचित्रलाई पुष्टि गर्दछ । यस अवस्थामा विचार र कार्यशैली दुवैको आधारमा अलग पहिचान र सुस्पष्ट नीतिका साथ राष्ट्रिय राजनीतिमा खडा रहेको राप्रपा तथा राप्रपाले अवलम्वन गरेको बिचार र बाटो नै देशलाई संकटबाट मुक्त तुल्याउने उपयुक्त विकल्प हो । सम्बर्द्धनवादको सिद्धान्तले नै नेपालको राष्ट्रियताको संरक्षण, प्रजातान्त्रिक मुल्य र मान्यताको सुदृढिकरण एवं मुलुकको समग्र विकासमा सघाउ पुराउने छ । सम्बर्द्धनवादको मुल तत्व भनेको निरन्तरता सहितको परिवर्तन हो । राष्ट्रियतालाई सर्वोपरि साध्य, प्रजातन्त्रलाई अपरिहार्य आधार, हिन्दुत्वलाई जीवन दर्शन, उदार अर्थतन्त्रलाई आर्थिक विकासको मेरुदण्ड, सामाजिक न्याय, समावेशीता र स्थानिय स्वायत्त शासनलाई आत्मोन्नतिको आधार, एवं पारस्परिक समानता, सम्मान र हितमा आधारित परराष्ट्र नीति नेपालको सन्दर्भमा राप्रपाले आत्मासत गरेको सम्बर्द्धनवादको सिद्धान्त हो ।

यसै वैचारिक पृष्ठभूमिमा विद्यमान राष्ट्रिय संकटको समाधान एवं पार्टीलाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्न राप्रपाको भावि वैचारिक, रणनीतिक एवं संगठनात्मक कार्यदिशा देहाय बमोजिम हुनेछ :

(क) राष्ट्रियताको संरक्षण र सम्बर्द्धन : आगामि दिनमा राष्ट्रियताको संरक्षण र सम्बर्द्धन राप्रपाको मुख्य कार्यभार हुनेछ । राष्ट्रियता राप्रपाको निमित्त सवोपरि साध्य हो । अहिले नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता, अखण्डता र स्वाभिमान कमजोर हुँदै गैरहेको छ । यस वास्तविकतालाई दृष्टिगत गर्दै आगामि दिनमा राप्रपाले राष्ट्रियताको मुद्दालाई सशक्त ढंगबाट अघि बढाउने छ । राष्ट्रियतामा आँच आउने र राष्ट्रलाई अहित गर्ने कुनै पनि विषयमा राप्रपाले सम्झौता गर्ने छैन । विखण्डनकारी तत्वलाई निस्तेज पार्न राप्रपा निरन्तर सचेत रहने छ । नेपालको अन्तर्राष्ट्रिय सिमाहरुको सुरक्षाको निमित्त पार्टीले सशक्त आवाज उठाउने छ । राष्ट्रियता बलियो हुन जनता बलियो हुनुपर्दछ । जनता बलियो बनाउन प्रजातन्त्र, आर्थिक विकास तथा समावेशीता र सामाजिक न्याय अनिवार्य शर्त भएको हुँदा राप्रपाले उपरोक्त मान्यताहरुको सुदृढिकरण र प्रत्याभूतिमा निरन्तर जोड दिनेछ ।

(ख) सिद्धान्त प्रतिको अविचलित प्रतिबद्धता : सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र तथा राजा सहितको प्रजातन्त्रप्रति राप्रपाको अविचलित प्रतिबद्धता रहेको छ । आगामि दिनहरुमा उपरोक्त मान्यताहरुको पक्षमा सशक्त जनमत सिर्जना गर्न राप्रपाले विभिन्न कार्यक्रमहरु संचालन गर्नेछ । पार्टी एकिकरण पश्चात राप्रपाको ध्यान र प्राथमिकता सत्तामुखि हुन गएको तथा विचार र सिद्धान्त ओझेलमा परेको छ भन्ने धारणा पार्टी कार्यकर्ता तथा सहयोगी र शुभचिन्तकहरुमा रहेको छ । यस वास्तकितालाई दृष्टिगत गर्दै पार्टीको वैचारिक पक्ष र आदर्शलाई केन्द्रबिन्दुमा राखि पार्टीले आफ्ना गतिविधिहरु संचालन गर्नेछ ।

(ग) संविधान र संवैधानिक व्यवस्थासंग सहकार्य : राष्ट्रियता, प्रजातन्त्र, हिन्दुराष्ट्र र आर्थिक उदारवादको धरातलमा सबल र सम्वृद्ध नेपाल निर्माण गर्नु राप्रपाको मुल लक्ष्य हो । सो लक्ष्य प्राप्तिका निमित्त तथा पार्टीले अवलम्बन गरेको मान्यता र सिद्धान्तहरुलाई संविधानमा स्थापित गर्न राप्रपाले संवैधानिक र प्रजातान्त्रिक बाटो अंगालेको छ । राप्रपाले संविधानलाई आलोचनात्मक समर्थन गरेको छ । संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्दै प्रजातान्त्रिक विधि अनुसार जनताको अभिमतदारा आफ्ना मान्यता स्थापित गर्ने राप्रपाको नीति हो । संविधानले फरक मान्यता र विचार बोकेर जनताको माझमा जाने र जनताको मतको आधारमा ति मान्यताहरु स्थापित गर्ने अधिकार सुनिश्चित गरेको छ । त्यसर्थ, पार्टीले अंगिकार गरेको विचार र एजेण्डा प्रति पुर्ण निष्ठा कायम राख्ने कार्य एवं संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गरि हिडने नीति विरोधाभाष होईन । अपितु त्यो नै एक मात्र उपयुक्त राजनीतिक संबैधानिक विकल्प हो भन्ने सत्यलाई पार्टीका सबै तहका कार्यकर्ताहरुले बुझ्नु पर्दछ र आमजनतालाई समेत बुझाउन सक्नु पर्दछ । साथै, पार्टीलाई बलियो बनाउन तथा जनआकांक्षा अनुरुप राष्ट्रिय विकासमा योगदान पुराउन सरकारमा सहभागि भै राज्य शक्तिको उपयोग गर्ने वा प्रतिपक्षमा रहेर काम गर्ने भन्ने वारे आबश्यकता र अनुकुलता हेरि पार्टीले निर्णय गर्ने विषय हो ।

(ग) हरेक वडमा राप्रपा हरेक क्षेत्रमा राप्रपा : पार्टीलाई देशको अग्रणी शक्तिको रुपमा स्थापित गर्ने तथा जनताको अभिमतबाट पार्टीको मान्यतालाई संस्थागत गर्ने उदेश्य प्राप्त गर्न आगामि दिनमा पार्टी संगठनको निर्माण, विस्तार र सुदृढिकरणलाई उच्च प्राथमिकताका साथ कार्यान्वन  गरिनेछ । यसक्रममा सम्पुर्ण गाँउपालिका र नगरपालिकाहरुको वडा र टोलतह सम्म पार्टी संगठन  विस्तार गरिने छ । विभिन्न तहमा नियमित प्रशिक्षण तथा कार्यकर्ता भेलाहरु आयोजना गरिने छ ।  साथै, पार्टीसंग आबद्ध रहेका भ्रातृसंगठनहरुको ईकाई गाँउ-नगर तहसम्म  गठन गरि निकट भविष्यमा नै सबै संगठनहरुको केन्द्रिय अधिवेशन सम्पन्न गरिने छ । यसै गरि समाजका विभिन्न  वर्ग, पेशागत समुदाय र क्षेत्रमा समेत पार्टीको प्रभाव बिस्तार गरिने छ । आमजनताका माझमा राप्रपाको उपस्थिति, पहुँच र प्रभाव कायम गर्ने गरि विभिन्न जनमुखि कार्यक्रमहरु संचालन गरिने छ ।

(घ) निर्वाचन केन्द्रित कार्ययोजना : आगामि माघ ७ गते भित्र प्रदेशसभा र संघिय संसदको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने संबैधानिक  बाध्यता छ । नेपालको भौगोलिक र मौसमी अवस्थालाई दृष्टिगत गर्दा संभवतः मंसिर मसान्त सम्ममा चुनाव हुनेछ । त्यसर्थ, उक्त चुनावलाई दृष्ष्टिगत गर्दै तत्काल निर्वाचन केन्द्रित कार्ययोजना बनाई कार्यान्वन गरिने छ । निर्वाचन क्षेत्रहरुको वर्गिकरण गर्ने तथा अहिले देखि नै संभावित उमेदवारहरु छनौट गरि तयारि प्रारम्भ गरिने  छ । गत स्थानिय चुनावमा भएका कमि कमजोरीहरु सच्याएर संसदिय र प्रादेशिक निर्वाचनमा पार्टीलाई अत्यधिक सफलता दिलाउने गरि आवश्यक कार्यहरु गरिने छ ।

(ङ) हिन्दुराष्ट्रको स्थापना, भ्रष्टाचार बिरुद्धको अभियान र आर्थिक बिकास : आगामि दिनमा हिन्दुराष्ट्रको स्थापना, भ्रष्टाचार विरुद्धको अभियान र आर्थिक विकास पार्टीको मुख्य एजेण्डा र प्राथमिकता हुनेछन् । धर्म परिवर्तन अहिले डरलाग्दो रोगको रुपमा देखा परेको छ । समग्र आर्थिक बिकास आमजनताको मुख्य चाहना हो । अर्कोतर्फ देश अहिले भ्रष्टाचारको दलदलमा फसेको छ । त्यसर्थ, आगामि दिनमा सनातन धर्मको रक्षाकोलागि हिन्दुत्वको प्रवर्द्धन, भ्रष्टाचारको न्युनिकरण तथा राष्ट्रिय विकासको गतिलाई तिव्रता प्रदान गर्न राप्रपाले देशव्यापिरुपमा विभिन्न कार्यक्रमहरु संचालन गर्नेछ । नेपाल अझै पनि अस्थिर र अराजकतापुर्ण संक्रमणबाट पुर्णरुपमा मुक्त हुन सकेको छैन । अन्तर्राष्ट्रिय तथा क्षेत्रिय परिस्थिति समेत जटिल बन्दै गैरहेको छ । छरछिमेक र दक्षिण एशियाली क्षेत्रमा तनाव र अस्थिरता बढदो छ । त्यसले नेपालमा पार्ने प्रभाव प्रति हामी सचेत रहनु पर्दछ ।

निश्चय पनि नेपालमा संविधान निर्माण भै जारि हुनु महत्वपुर्ण उपलब्धि हो । तर, ठूला भन्ने राजनीतिक दलहरुको नेतृत्व पंक्तिमा कायम रहेको अकमण्र्यता, अदूरदर्शिता, सत्तालिप्सा र बाह्यशक्तिहरु प्रतिको आत्मसमर्पणको मानसिकताले गर्दा संविधान कार्यान्वन एवं स्थायित्व र सम्वृद्धिको बाटो अझै अनिश्चित र कठिन देखिएको छ । विश्वका कुनैपनि संविधान पुर्ण र सर्वस्विकार्य हुंदैन, छैन पनि । नेपालको वर्तमान संविधानमा समेत कमि कमजोरीहरु रहेका छन् । राप्रपाको मुलमूत मान्यताहरु समेत यस संविधानमा समेटिएका छैनन् । तथापि यस संविधानले बिश्वका प्रचलित प्रजातान्त्रिक मुल्य मान्यता र समावेशी सिद्धान्तलाई आत्मसात गरेको छ । विचार स्वतन्त्रता, फरक विचार बोकेको कारणले पार्टी प्रतिबन्ध नहुने ग्यारेण्टी, आवधिक निर्वाचन, संविधानको कुनै पनि प्रावधान अपरिवर्तनिय नरहने तथा संविधान संशोधन गर्ने सरल व्यवस्थाका कारण संविधानको विपक्षमा मतदान गर्ने र संविधान प्रति असंतुष्ट रहेकाहरुले पनि जनताको अभिमतबाट यहि संविधान भित्र समाधान खोज्न सक्ने अवस्था छ । यो संविधानको कार्यान्वनबाट मुलुकमा न्युनतम शान्ति, स्थायित्व र सम्वृद्धिको उदेश्य प्राप्त हुन सक्दछ ।

संविधान निर्माणको क्रममा असंतुष्टि प्रकट गर्दै संविधानसभा बहिष्कार गरेका मधेस केन्द्रित दलहरुलाई पनि संविधानको मुल प्रवाहमा ल्याउनु पर्दछ भन्ने राप्रपाको मान्यता रहेको छ । मधेसमा ब

खण्डनकारी शक्ति क्रियाशील हुंदै गैरहेको अवस्थामा मधेसका उदार राजनीतिक शक्तिहरुलाई राष्ट्रिय राजनीतिको मुलप्रवाहमा समेटेर अतिवादी तत्वलाई अलग्याउनु राष्ट्रिय हित र स्वार्थका दृष्टिकोणबाट आवश्यक छ भन्ने राप्रपाको धारणा हो । यसै कारणले राप्रपाले संविधान संशोधन प्रति लचकतापुर्ण र सकारात्मक सोच राखेको हो । यद्यपि मधेस र पहाड अलग गरि प्रदेशको सिमांकन निर्धारण गर्ने प्रयोजनका निमित्त अघि बढाईएको अघिल्लो संशोधन प्रस्तावको राप्रपाले विरोध गरेको हो । हिमाल, पहाड र मधेस जोडिएको प्रादेशिक संरचना देशको हितमा हुन्छ भन्ने राप्रपाको स्पष्ट धारणा छ । यसै सन्दर्भमा प्रदेश सिमांकनको विषयलाई अलग गरि अन्य प्रावधानमा परिमार्जन सहित पेश गरिएको संशोधन विधेयकलाई भने राप्रपाले समर्थन गर्ने निर्णय गरेको हो । यद्यपि पार्टीको यस निर्णय प्रति जनमानसमा पनि केही भ्रम पर्न गएको तथा पार्टीका केही सांसदहरुले समेत असंतुष्टि प्रकट गरेका स्थिति छ । संविधान संशोधनको यस बिषयमा केन्द्रिय कार्यसमितिको बैठकले स्पष्ट मार्गदर्शन गर्ने नै छ ।

सरकारमा राप्रपाको सहभागिताका वारेमा पनि जनमानसमा र पार्टी पंक्तिहरुमा पनि विभाजित मनस्थिति रहेको पाईन्छ । यस बिषयमा पनि केन्द्रिय समितिको बैठकमा छलफल हुने नै छ । स्थानीय तहको निर्वाचनमा पार्टीले व्योहर्नु परेको क्षतिलाई दृष्टिगत गरी अावश्यक सुधार गर्दै भविष्यमा राप्रपालाई देशको प्रमुख शक्तिको रुपमा स्थापित गर्न समेत यस बैठकले महत्वपुर्ण मार्गदर्शन गर्नु पर्दछ । निर्वाचन परिणामबाट चिन्तित र विचलित भएर होईन, पार्टीको सशक्त विचार तथा प्रतिबद्ध कार्यकर्ताहरुको शक्ति र उर्जाको आधारमा राप्रपालाई एक दिन देश कै सबै भन्दा ठूलो राजनीतिक दल बनाउने छौ र बनाउन सक्छौ भन्ने अठोट पार्टी नेतृत्वले राख्नु पर्दछ । कार्यकर्ताहरुलाई निरुत्साहित र हतोत्साहित होईन सदैव जुधारु र उच्च मनोबल कायम राख्न उत्प्रेरित गर्नु पर्दछ ।

पार्टी भित्र सबै प्रकारको गुटबन्दी, भागवण्डा र अनुशासन हिनतालाई अन्त गर्नु पर्दछ । विधि र व्यवस्था अनुसार चल्ने पार्टी पद्दति निर्माण गर्नु पर्दछ । व्यक्ति होईन विचार, नेता होईन नीतिको मान्यतालाई अनुशरण गर्ने चरित्र कायम गर्नु पर्दछ । विचार व्यक्तिको, निर्णय समुहको भन्ने प्रजातान्त्रिक संस्कारलाई व्यवहारमा अबलम्बन गर्न सक्नु पर्दछ । जस्तोसुकै कठिन अवस्थामा समेत सिद्धान्त र विचारबाट विचलित नहुने तथा कुनै पनि हालतमा पार्टीलाई टुटन फुटन नदिने दृढ अठोट र संकल्प गर्नु पर्दछ । यिनै चरित्र, संस्कार, मान्यता र कार्यशैलीको आधारमा राप्रपालाई अलग पहिचान र सुस्पष्ट विचार बोकेको पार्टी बनाउने हाम्रो अभियान निरन्तर जारि रहने छ । राप्रपाको यस अभियान साथ, सहयोग र समर्थनका निमित्त हामी सबैमा आह्वान गर्दछौ ।

धन्यवाद



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ