arrow

ढलमा बगेकी विनिताको नाममा काँग्रेस सांसद प्रधानले बनाइदिए अक्षयकोष

‘एक महिनाको तलब भत्तासहित सबै सुविधाको रकम जम्मा गरिदिने’

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
bhimsendas_pardhan.JPG

काठमाडौं । काँग्रेस सांसद भिमसेनदास प्रधानले ढलमा बगेर मृत्यु भएकी विनिता फुयाँलको नाममा विद्यालयमै अक्षयकोष स्थापना गरेका छन् ।

विद्यालयमा गएर अक्षयकोष स्थापना गरेका सांसद प्रधानले विहिबार संसद बैठकमा विनिताको नाममा अक्षयकोषमा आफ्नो एक महिनाको तलब र भत्ता जम्मा गर्ने घोषणा गरे ।  सांसद प्रधानले पीडित परिवारलाई सरकारले राहत दिनुपर्ने मागसमेत गरेका छन् । प्रधानले विनिताले अध्ययन गरेको युरेका माविमा अक्षयकोष बनाइदिएका हुन् ।

संसद बैठकपछि हाम्राकुरासँग कुरा गर्दै सांसद प्रधानले भने, ‘मैले संसद सचिवालयमा बुझेँ । मेरो एक महिनाको तलब ५५ हजार चानचुन हुँदो रहेछ । बैठक भत्ता, गाडीभाडा लगायत जोड्दा एक महिनाको ७० हजार २ सय ३० रुपैँया हुँदो रहेछ । एक महिनाको सबै सुविधावापतको रकम जम्मा गरिदिने प्रक्रिया मिलाइसकेको छुँ ।’

प्रधानले एक महिनाको तलब ५५ हजार २ सय ३०, सञ्चार सुविधा एक हजार, घरव्यवस्थावन ३ हजार, विजुली ९ हजार, धाराको २ हजार गरेर ७० हजार २ सय ३० रुपैंया जम्मा गर्ने जानकारी हाम्राकुरालाई दिएका छन् । प्रधानले विनिताको १० दिनको श्रन्द्धाञ्जली अर्पण दिन घरमै गएर प्रधानले रकम हस्तान्त्रण गर्ने बताएका छन् ।

प्रधानले आफुले विनिताको नामको अक्षयकोषबाट प्रत्येक वर्ष एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने छात्र र छात्रालाई सम्मान गर्ने व्यवस्था गर्न भनेको बताए ।  उनले भने, ‘हरेक वर्ष विनिताको सम्झनामा विद्यालयमा कार्यक्रम होस् ।’

गएको शुक्रबार पानी परिरहेका बेला नेपालटारमा ढलमा बगेर ७ वर्षीया बालिका विनिता फुयाँलको मृत्यु भएको थियो । काठमाडौं क्षेत्रनम्बर ६ बाट निर्वाचित सांसद प्रधानले विनिताले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरेर उनलाई जीवन्त बनाइराख्ने समेत बताए ।

बालाजुबाट मनमैजु हुँदै नेपालटार जाने सडकको बीच भागमै ठूल्ठूला भ्वाङ छन् । पानी पर्दा सडक जलमग्न हुने र धमिलो पानी भरिएपछि भ्वाङको पत्तो नहुने हुँदा यात्रु ढलमा छिरेर छिर्ने जोखिम छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्वाङ पुर्न निर्देशन दिएपछि अहिले धमाधम काम भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ