arrow

विमानस्थल भन्सारबाट पछिल्लो ८ महिनामा २७ किलो सुन बरामद, सुधारका लागि के के भए ? 

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
TIA-custom-1.jpg.jpeg

काठमाडौं । भन्सार विभाग अन्तर्गत्को त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पछिल्लो ८ महिनामा २७ किलो सुन बरामद गरेको जनाएको छ । कार्यालयका प्रमुख सहसचिव नारायण सापकोटाले भन्सार कार्यालयकै सक्रियतामा पछिल्लो ८ महिनामा २७ किलो सुन बरामद गरेर कारबाही गरिएको बताए। उनले कर्मचारीहरुको उचित व्यवस्थापन पछि अहिले विमानस्थल भन्सारको बारेमा आउने अधिकांश गुनासाहरु कम भईसकेको बताएका छन् । यति धेरै मात्रामा अहिलेसम्म सुन भन्सारले बरामद नगरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।  

भन्सार विभागका महानिर्देशक रामशरण चिमौरीयाले अहिलेको भन्सार पहिलेपहिलेको जस्तो नभएको भन्दै प्राविधिक सुधार पछि अहिले भन्सारबाट गैरकानूनी काम हदैसम्म रोकिएको दाबी गरेका छन् । आफूहरु अन्तराष्ट्रिय व्यापार संगठनको सदस्य रहेकोले पनि अन्तराष्ट्रिय मापदण्ड अनुरुपको भन्सार बनाउन विमानस्थल भन्सारमा धेरै प्राविधिक सुधारहरु गरिरहेको बताउँदै महानिर्देशक चिमौरीयाले पछिल्लो समय भएका प्राविधिक सुधारहरुको कारणले अब जनशक्तिलाई राम्रोसँग व्यवस्थापन गरेर मात्रै यी प्रविधिहरुको सफल प्रयोग गर्न सकिने भन्दै भन्सारको सुधारका लागि भन्सार विभाग सधैं दिलो ज्यान दिएर काममा लाग्ने प्रतिवद्धता व्यक्त गरे । 

उता, कार्यालय प्रमुख सापकोटाले अर्थमन्त्रालय, भन्सार विभाग र कार्यालयका कर्मचारीहरुको प्रयासमा आफू विमानस्थल भन्सार कार्यालयमा आएपछि प्राविधिक सुधार तर्फ धेरै प्रयासहरु सफल भएको भन्दै यो समयमा कर्मचारीहरु पनि अहिले जाँगरिला र कामप्रति जिम्मेवारी बहन गर्ने स्वभावको बन्दै गएको बताएका छन् । 

के के भए सुधारका कामहरु ?
प्राविधिक रुपमा र प्रशासनिक व्यवस्थापन तर्फ पनि विमानस्थल भन्सार कार्यालय र विभाग मातहतको कार्यालय रहेकोेले भन्सार विभागमा समेत पनि उल्लेख्य रुपमा प्रगति भएको देखिन्छ । मुलुकको एउटै मात्रै अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय पूर्ण प्रविधिमैत्री प्रशासनमा अघि बढेको भन्दै अब भन्सारका कामहरुको तथ्यांक लिनको लागि कापीको पाना पल्टाउने नभई कम्प्युटरको माउस चलाउने अवस्थामा परिवर्तन भईसकेको भन्सार विभागका कर्मचारीहरु बताउँछन् । यसरी प्रविधिको प्रयोग गर्नको लागि र सीप अनुसारको कामको लागि कर्मचारीहरुको वर्गीकरण र मूल्यांकनसँगै समग्र भन्सारको समेत मूल्यांकनलाई ध्यान दिईएको बताएका छन् । अहिले विमानस्थल भन्सारको मूल्यांकन पनि उच्चस्तरमा नै रहेको भन्सार कार्यालयले जनाएको छ ।  

भन्सार विभागको संवेदनशील क्षेत्रबाट नै धेरै बदमासी हुन थालेको भान भएर त्यस क्षेत्रमा निगरानी बढाईएको छ । काउन्टरमा होलबडी स्क्यानरमेसिन खडा गरिएको छ । २४ घण्टा सेवा दिनुपर्नै अड्डा भएकोले यहाँ अहिले सिफ्ट अनुसार कर्मचारी व्यवस्थापन गरिएको छ । 

स्क्यानर मेसिनमा राजश्वका मूल कर्मचारीहरु राखिएको छ र सामानको चेकजाँच गर्नको लागि छुट्टै जाँचपास कक्षको व्यवस्था गरिएको छ । यसरी जाँचपासको समयमा बदमासी नहोस् भन्नको लागि सामान भन्सार क्षेत्रमा प्रवेश गरेदेखि भन्सार क्षेत्र बाहिर नगएसम्मको क्षेत्र समेट्नेगरी कूल २४ वटा सिसि क्यामेरा जडान गरिएको छ । जुन कार्यालय प्रमुखको कार्यकक्षबाट नै सबै निगरानी गर्न सकिने अवस्था रहेको छ । यसलाई भन्सार विभागका महानिर्देशक र राजश्व सचिवको कार्यकक्षसम्म पुर्याउने प्रयास भईरहेको सपकोटाले बताए। 

अहिले भन्सारमा मेटल स्क्यानर मेसिन जडान गरिसकिएको छ । साना आकारका सामानहरुको लागि ल्याईएको सो प्रविधिले अहिले सही किसिमले काम पनि गरिरहेको छ । त्यस्तै, अहिले भन्सारमा अबको केही दिनमा नै कार्गाे स्क्यानर मेसिन पनि जडान गर्ने कार्यालय प्रमुख सापकोटाले जानकारी दिए । उनका अनुसार अबको एक साता भित्र यो मेसिन पनि जडान गर्ने तयारी गरिएको छ । 

त्यस्तै, अहिले अपराह्न ५ बजे अनिवार्य जाँचपास बन्द गर्ने व्यवस्था गरिएको छ । रातीको समयमा भन्सारमा बदमासी हुन्छ भनेर आउने गरेका गुनासाहरु बन्द गर्नको लागि यस्तो गरिएको भन्सारले जनाएको छ । अहिले सुशासन समितिको निर्देशनानुसार अन्य विभिन्न सुधारका कामहरु गरिरहेको भन्सारले १० वटा वाकिट्वाकी सेटबाट कुरा गर्ने व्यवस्था गरिएको छ । यसरी पछिल्लो समय भन्सारमा चुहावट नियन्त्रण र सदाचारिताका अनेक प्रयासहरु भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ