arrow

आगामी महिनादेखि यसरी जोडिँदैछ आन्तरिक राजश्व र भन्सारको सिस्टम

भन्सारमा कम मूल्य देखाएर बजारमा बढी मूल्यमा सामान बेच्नेहरु समस्यामा पर्ने

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
bhansar.jpg

काठमाडौं । भन्सार विन्दूमा सामानको कम मूल्यांकन गरी बजारमा बढी मूल्यमा सामान बेच्ने व्यापारीहरुलाई अब समस्या पर्ने भएको छ ।

विमानस्थल भन्सार कार्यालय सहित मुलुकका अन्य ६ वटा भन्सार कार्यालयमा समेत आशिकूडा वल्र्ड प्रणालीको सुरु गरिएसँगै अब आन्तरिक राजश्व विभाग र भन्सार विभागबीच प्रणालीगत समन्वय हुने भएको छ । राजश्व सचिव शिशिर ढुंगानाले डाटा इन्टिग्रेसन प्रणाली मार्फत् आगामी महिनादेखि भन्सार र आन्तरिक राजश्वबीच तथ्यांकहरुको एकीकरण प्रक्रिया सुरु हुने बताए । सचिव ढुंगानाले बिहीबार विमानस्थल भन्सार कार्यालयमा आशिकूडा वल्र्डको उद्घाटन गरेपछि यस्तो बताएका हुन् ।

उनले आशिकुडा वल्र्ड डाटा इन्टिग्रेसनको पहिलो आधार विन्दू रहेको बताउँदै यो प्रणाली विमानस्थल भन्सारमा पनि आईसकेपछि अब दुई निकायबीच डाटा इन्टिग्रेसनको काम सुरु हुने बताए । डाटा इन्टिग्रेसन प्रणाली अनुसार भन्सारमा कुनैपनि सामान आयातकर्ताले घोषणा गरेको सामानको मूल्य र त्यसको परिणाम सहितको सबै विवरण आन्तरिक राजश्व विभागमा पनि पठाईन्छ । त्यसरी विवरण पठाईसकेपछि कुनैपनि व्यवसायीले भन्सारमा घोषणा गरेको मूल्यको र परिणामको सम्पूर्ण विवरण करदाताको प्यान विवरण अनुसार उसको खरीद खाता जस्तैगरी थाहा पाउन सकिन्छ । भन्सारबाट कति मात्रामा कति मूल्यका सामान खरीद गरिएको छ, त्यसको खरीद मूल्य कति हो र विक्री मूल्य कति हो भन्ने बारेमा पनि जानकारी दिईन्छ ।

अहिलेसम्म भन्सारमा न्यून मूल्य देखाएर अधिक मूल्यमा सामान बेचेर भन्सार छलि गर्ने चलन एकदमै धेरै रहेको छ । अब भने यसरी भन्सारमा न्यून मूल्य देखाएर भन्सार तिर्ने र बढी मूल्यमा सामान सामान विक्री गरेको छ भने उसको प्यान वा भ्याट विलबाट आन्तरिक राजश्व विभागले भन्सारमा देखाएको मूल्य र विक्री गरेको मूल्यको तुलना गरी कसले न्यून विजकीकरण गरेर ठगी गरेको छ भन्ने कुरा पत्ता लाग्ने विश्वास सरकारको छ ।

त्यो प्रविधिको विकास गर्नको लागि यो महत्वपूर्ण आधार र त्यसको पृष्ठभूमि पनि हो । यो प्रविधिले खरीद कर्ताले आफूले खरीद गरेको सही मूल्य नै आफ्नो खरीद खातामा चढाउनै पर्ने बाध्यता हुन्छ । यो नै प्रणाली एकीकरणको मूल आधार हो । यो प्रणालीको विकासको लागि यो हप्तादेखि नै यसको प्राविधिक काम सुरु गरेर आगामी महिनादेखि तथ्यांक एकीकरणको सुरुवात गर्ने तयारी भईरहेको सचिव ढुंगानाले जानकारी दिए ।

आफैंले पहिले सही गर्दा १० वटा भन्सार कार्यालयमा आशिकुडा वल्र्ड लागू गर्छु भनेको भएपनि अहिले आफू बढुवा हुँदासम्म पनि जम्मा ७ वटामा मात्रै प्रणाली सुरु भएकोमा उनले दुख व्यक्त गरे । केही प्राविधिक त्रुटीले बाँकी ३ वटामा प्रणालीको सुरुवात हुन नसकेको उनले बताए । आशिकुडा वल्र्ड प्रणाली नयाँ भएपनि आशिकुडा प्रणाली नै नयाँ भने नभएको उनले स्पष्ट पारे । यो सन् १९९४ सालमा सुरु भएको प्रणाली हो र यो अहिले व्यवस्थित र परिवर्तीत हुँदै वल्र्ड प्रणालीसम्म आएको हो । यो चाहिँ अहिलेको सबैभन्दा पछिल्लो प्रणाली हो भन्सार प्रणाली हो । ढुंगानाका अनुसार विश्वमा प्रशासकीय दक्षता र व्यापारको खर्च घटोस् भन्नकै लागि आशिकुडा वल्र्ड विश्वभर लागू गरिएको र यो प्रभावकारी पनि बनेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ