arrow

 धान झुल्ने पोखराका फाटमा घरै घर

logo
प्रकाशित २०७४ साउन ७ शनिबार
pokhara-1.jpg

काठमाडौं । कास्कीमा बर्सेनि १ लाख १ हजार टन खाद्यान्न चाहिन्छ । तर, यहाँ ७६ हजार टन मात्र खाद्यान्न उत्पादन हुन्छ । चाहिनेजति खाद्यान्न उत्पादन हुन नसक्नुको कारण खेतीयोग्य जमिनको अभाव होइन, त्यस्तो जमिनको अनुत्पादक प्रयोग हो । धान फल्ने खेतमा अचेल घर बनिरहेका छन् । पोखरा—३१ की सावित्री भण्डारीको भनाई छ, ‘प्लटिङले खेत मास्यो ।’

उनका अनुसार साविक लेखनाथ नगरपालिका क्षेत्रमा मात्रै २५ वटा ठुल्ठूला प्लटिङ छन् । खेतजति घडेरी बन्न थालेको उनी सुनाउछीन । ३१ नम्बरका वडाध्यक्ष कमल थापाका अनुसार गएको १० वर्षमा ७० प्रतिशत खेत घडेरी भइसकेको छ ।
कृषि विकास कार्यालयको तथ्यांकले पनि खेतीयोग्य जमिन घटिरहेको देखाउँछ । कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत लोकेन्द्र बोहरा भन्छन्, ‘कास्कीमा बर्सेनि सय हेक्टर कृषिभूमि घटिरहेको छ ।’ भएको कृषि भूमि बाँझो रहने अर्काो समस्या पनि उनले औंल्याए । ‘सहरी क्षेत्रको ४० प्रतिशत र गाउँमा २५ प्रतिशत जमिन बाँझो छ’, उनले भने ।

बोहराका अनुसार कास्कीमा खेतीयोग्य भूमि ६८ हजार ९६७ हेक्टर छ । तर, ४८ हजार ६ सय ३३ हेक्टरमा मात्रै खेती गरिन्छ । बाँकी बाँझै हुन्छ । कतिपय किसानले भने सिँचाइ अभावका कारण खेती नगरेका हुन् । कृषि कार्यालयका अनुसार २६ हजार ७ सय ५७ हेक्टरमा मात्र सिँचाइ सुविधा छ । तर, धेरैजसो वैदेशिक रोजगारीको आम्दानीका भरमा खाद्यान्न बेसाउन बानी परेको कृषि अधिकारी बताउँछन् ।

अहिले धमाधम घर–घडेरी बनेका लेखनाथ र पोखराका फाँटमा भने सिँचाइ सुविधा छ । पोखरा महानगरपालिकाका अनुसार सबैभन्दा बढी वर्षको ५ हजार घर थपिएको वडा नम्बर १७ हो, जहाँ फेवातालको पानीको सिँचाइ सुविधा छ । त्यस्तै, पोखराको विख्यात धानको जात जेठोबुढो फल्ने कुँडहर क्षेत्रमा पनि उत्तिकै संख्यामा घर थपिएका छन् ।

कास्कीको सिक्लेस, भदौरे तामागीलगायत क्षेत्रमा धेरै खेतीयोग्य कृषिभूमि बाँझै रहेको बोहरा बताउनुहुन्छ । ‘शिक्षा, स्वास्थ्य र रोजगारको अवसर खोज्दै बजार झर्नेको लर्को लागेपछि कृषि भूमि घट्दै गएको छ’, उनले भने, ‘बर्सेनि कृषियोग्य खेत मासेर प्लटिङ गरी कंक्रिट जंगलमा परिणत हुँदै गएको छ ।’ कृषि भूमि साँघुरिँदै जाँदा कास्कीमा बर्सेनि खाद्यान्न परनिर्भरता बढ्दै गएको उनले सुनाए ।

बिरौटा, चाउँथे, कुँडहर, गैरीखेत, हेमजा, साविक लेखनाथ नगरपालिकाको सिसुवालगायत ठाउँका फाँट कंक्रिट घरहरूकै कारण नासिँदै गएका छन् । पछिल्लो समय फेवातालको सिमसार क्षेत्रमा समेत तालको अस्तित्व नरहने गरी प्लटिङ हुँदै गएको छ । यहाँका अन्य ताल पनि अतिक्रमणमा पर्दै गएका छन् । त्यस क्षेत्रमा पनि जेठो बुढो धान झुल्ने गथ्र्याो ।

पोखरा महानगरका समथर क्षेत्रका फाँटमा विजयपुर खोला, सेती नहर र बेगनास तालबाट सिँचाइ हँुदै आएका छन् । पछिल्लो समय सिँचाइ सुविधा भएर पनि कृषि मजदुरको अभावमा सिञ्चित कृषिभूमि पनि बाँझै रहेको भण्डारीको भनाई छ । धान झुल्ने पोखराको फाँटमा बनेका घर ।(अन्नपूर्ण पोस्टबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ