arrow

वीर अस्पतालमा दुई वर्षदेखि रेडियोथेरापी सेवा बन्द, वीरमा पाँच हजार बाहिर दुई लाख खर्च

logo
प्रकाशित २०७४ साउन ८ आइतबार
radio-therapy.jpg

काठमाडौं  । वीर अस्पतालमा गत वर्ष क्यान्सर रोगपीडित करिब ६ सय बिरामी भर्ना भए । यीमध्ये ४ सय ५० लाई रेडियोथेरापी गर्नुपर्ने भयो । 

तर, रेडियोथेरापी नहुँदा उनीहरूले उपचार पाएनन् । दुई वर्षदेखि वीरमा रेडियोथेरापी मेसिन छैन । ‘उपचारका लागि आएका प्रायः विपन्न वर्गका थिए, हामीकहाँ मेसिन नहुँदा उनीहरूको उपचार गर्न सकेनौँ,’ वीर अस्पताल क्यान्सर विभाग प्रमुख डा विवेक आचार्यले भने, ‘यहाँ आउने बिरामीमध्ये अधिकांशलाई रेडियोथेरापी गर्नुपर्ने हुन्छ, तर हामीकहाँ यो सुविधा छैन । बाध्य भएर बाहिर रिफर गरेका छौँ, उनीहरूले उपचार गरे–नगरेको हामीलाई थाहा हुँदैन ।’

आचार्यका अनुसार ०७१ सालमा वीर अस्पताल पुगेका एक हजार तीन सय क्यान्सरका रोगीमध्ये आठ सयलाई रेडियाथेरापी गरिएको थियो । 

०७२ सालदेखि रेडियोथेरापी बन्द छ । बन्द भएको वर्ष ६ सय ५० जना क्यान्सरका रोगी अस्पताल पुगेका थिए । यीमध्ये चार सयलाई रेडियोथेरापी दिनुपर्ने थियो, तर सम्भव भएन । 

०७३ मा आएका ६ सय बिरामीमध्ये चार सय ५० लाई रेडियोथेरापी गर्नुपथ्र्यो । तर, मेसिन नहुँदा उनीहरूले उपचार पाएनन् । ‘वीरमा आउने बिरामीहरू पूर्णरूपमा निःशुल्क सेवा लिने किसिमका हुन्छन्,’ आचार्यले भने ।

रेडियोथेरापी गर्दा वीरमा पाँच हजार बाहिर दुई लाख खर्च

 अहिले भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल र काठमाडौं क्यान्सर सेन्टरसँग मात्र रेडियोथेरापी सेवा उपलब्ध छ । वीरले यो सेवा पाँच हजार रुपैयाँमा दिँदै आएको थियो । 

अन्य अस्पतालले यति शुल्कमा रेडियोथेरापी गर्दैनन् । ‘दुई वर्षअघि हामीले पाँच हजारमा सेवा दिँदा पनि धेरै बिरामीले तिर्ने अवस्था थिएन,’ वीरका चिकित्सक डा। आचार्यले भने । 

निजी अस्पतालले रेडियोथेरापीका लागि बिरामीसँग दुई लाख रुपैयाँसम्म लिने गरेका छन् । कित्सकहरूका अनुसार सामान्यतः क्यान्सरका बिरामीले पाँचदेखि सात सातासम्म रेडियोथेरापी गर्नुपर्छ । 

क्यान्सर भएका बिरामीलाई अप्रेसनअघि रेडियोथेरापी जरुरी हुन्छ । रेडियोथेरापीले ट्युमरको आकार घटाउने र अप्रेसन गर्न सजिलो बनाउने काम गर्छ ।

यस्तो आउँदै छ वीरमा टोमोथेरापी मेसिन 
सरकारले वीर अस्पताललाई जनताको अस्पताल बनाउने लक्ष्यअनुसार अत्याधुनिक टोमोथेरापी मेसिन किन्ने भएको छ । यो संसारकै अत्याधुनिक उपकरणमध्ये हो । 

४० करोड मूल्य पर्ने सो मेसिन किन्न अर्थ मन्त्रालयले पैसा निकासा गरिसकेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स का रजिस्ट्रार डा किरण मानन्धरले बताए ।

अमेरिकाको एकुरे नामक कम्पनीसँग किन्न लागिएको टोमोथेरापी कम्पनीले सो मेसिन अबको तीन महिनामा ल्याउनेछ । सो मेसिनबाट दैनिक ३० जना बिरामीलाई केमो दिन सकिने डाआचार्यको भनाइ छ ।

 ‘टोमोथेरापीले क्यान्सरको ट्युमरमा मात्रै विकिरण फाल्ने हुँदा एकजनालाई १५ मिनेट लाग्छ । त्यसैले कर्मचारी थप्नुपर्ने आवश्यकता छ,’ उनले भने । दिनमा ६५ जनासम्म क्यान्सरका बिरामीको केमो गर्नुपर्ने भएकाले कम्तीमा पनि आठजना कर्मचारी तत्काल नथपे सेवा सञ्चालनमा समस्या आउने आचार्यले स्पष्ट पारे।

टोमोथेरापी मेसिन भारतमा पनि चारवटा अस्पतालले मात्रै सञ्चालनमा ल्याएका छन् । भारतको मेदान्त अस्पताल, कोलकात्ताको टाटा मेमोरियल र बुम्बई टाटा मेमोरियल हस्पिटलले टोमोथेरापी मेसिन सञ्चालनमा ल्याइसकेका छन् । 

सो अत्याधुनिक मेसिन नेपालमा ल्याएपछि भारतमा उपचार गर्न जानुपर्ने बाध्यता हट्ने चिकित्सकहरूको विश्वास छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ