arrow

दोलखा काँग्रेसमा चुनावी सरगर्मी बढ्यो

चिया पसल, चोक, गौडा, चौतारोहरुमा कांग्रेस कार्यकर्ताको जमघट

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
Cognress.jpg.jpeg
श्याम खतिवडा, दोलखा । कांग्रेसमा अधिवेशन नजिकिदै जाँदा नेतृत्वमा पुग्न आकांक्षीको लर्को देखिएको छ । जिल्ला सभापति, पदाधिकारीदेखि महाधिवेशन प्रतिनिधिको उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ । जिल्ला अधिवेशनबाट नेतृत्व लिन युवा जमात बढी सक्रिय देखिएका छन् । अधिवेशन र नयाँ नेतृत्वको बहस जिल्ला भरी सुरु भएको छ । सदरमुकामका चिया पसल, चोक र गौडा, चौतारोहरु कांग्रेस कार्यकर्ताको जमघटले भरिएका छन् ।   

जिल्ला सभापतिका लागि हालसम्म तीन जना नेताले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनिहरु चुनावी प्रचार र भोट माग्नका लागी गाउँ र राजधानी धाउन थालेका छन् । राजधानीमा रहेका कार्यकर्ता सगँको भेटघाटमा सक्रिय उम्मेदवारहरु शिर्ष नेताहरुको निवास समेत धाईरहेका छन् ।   

चार पटकसम्म नेतृत्व सम्हालिसकेका हालका जिल्लाका सभापति ताराबहादुर कोईरालाले यस पटकको अधिवेशनमा आफु नउठी नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेपछि उम्मेदवारहरु बिच नेतृत्वको होडबाजी शुरु भएको हो । सभापति पदका लागी अहिले सम्म तीन जनाले मात्र उम्मेदवारी घोषणा गरेका छन् । केहीले घोषणा नगरेपनि भित्री तयारी गरिरहेका छन् । 

उम्मेदवारी घोषणा गर्नेमा तरुण दलका पूर्व केन्द्रिय सचिव ईश्वर मानन्धर, कांग्रेसको भातृ संस्था नेपाल तमाङ संघका महासचिव बर्मा लामा देखी पुर्व जिविस सभापति रुद्रबहादुर खड्कासम्म छन् । अन्य केही नेताले सभापति उम्मेदवारका लागी भित्री तयारी गरिरहेपनि घोषणा गरेका छैनन् । हालका जिल्ला सचिव केशबराज चौलागाईलाई समेत जिल्ला अधिवेशनमा सम्भावित सभापति उम्मेदवारका रुपमा हेरिएको छ । यस्तै नेविसंघको केन्द्रिय राजनिति हुँदै जिल्ला कांग्रेसको राजनितिमा सक्रिय युवा नेता कुन्दन राज काफ्लेले समेत सभापति पदका लागी ईच्छा देखाउदै भित्री तयारी गरिरहेको उनका निकटवर्तीहरु बताउछन् । पूर्व पार्टी सभापतिहरु उद्धवराज काफ्ले र माधवमणी राजभण्डारी समेत सभापति उम्मेदवार धेरै भएमा जिल्ला कांग्रेसलाई एक ढिक्का बनाउने सन्देशका लागी सर्वसम्मत नेतृत्व चयन गर्ने प्रस्ताव आएमा सर्वसम्मत बन्ने दाउमा छन् । 

२०३९ सालमा गौरीशंकर क्याम्पस पढ्दा नेविसंघबाट राजनिति शुरु गरेका ४६ बर्षिय मानन्धर हाल कांग्रेस केन्द्रिय समितिमा तरुण बिभागको सदस्य साथै तीन कार्यकाल देखी महासमिति सदस्य छन् । तरुण दलको जिल्ला अध्यक्ष भईसकेका उनी केन्द्रिय सदस्य हुँदै केन्द्रिय सचिव बनेका थिए । पार्टीको जिल्ला समितिमा बसेर पटक पटक काम गरेका मानन्धरले तरुण दलको जिल्ला अध्यक्ष हुँदा संगठन सुदृढीकरणको काम गरेका थिए । 

४८ बर्षिया लामाले २०३७ सालमा त्रिभुवन उच्च मावि मेलुङको नेविसंघ ईकाई अध्यक्ष हुँदै राजनिति शुरु गरेका थिए । नेविसंघका पूर्व जिल्ला अध्यक्ष रहेका लामाको कार्यकालमा दोलखाका सबै बिद्यालयमा नेविसंघको संगठन बिस्तार भएको थियो । हाल पार्टी महासमिति सदस्य, कांग्रेस केन्द्रिय समितिको बिज्ञान तथा प्रविधि बिभाग सदस्य र जिल्ला कार्य समितिको संगठन बिभाग प्रमुख रहेका लामा यस अघि पटक पटक जिल्ला समितिमा बसेर काम गर्दै आएका थिए । 

पूर्व जिविस सभापति समेत रहेका ५५ बर्षिया खड्का २०३६ साल देखी राजनितिमा प्रवेश गरेका थिए । २०४३ मा पञ्चायतको निर्वाचनलाई उपयोग गर्ने पार्टी निती अन्तर्गत क्षेत्रिय सदस्यमा निर्वाचित खड्का २०४६ सालमा जनआन्दोलनको परिचालन संयन्त्रमा बसेर काम गरेका थिए । २०४७ मा पार्टीको जिल्ला सहसचिव हुँदै काम गरेका खड्का हाल समेत महासमिति सदस्य छन् । २०४९ को स्थानिय चुनावमा जिल्ला सभापति निर्वाचित भएका उनी २०५४ मा कार्यकाल सकिएपछि १० बर्ष अमेरिका बसाईपछि २०६४ सालमा स्वदेश फर्किएपछि खड्का हाल निरन्तर पार्टीमा क्रियाशिल छन । अघिल्लो अधिवेशनमा उनी वर्तमान सभापति ताराबहादुर कोईरालासगँ पराजित बनेका थिए । 

हालका पार्टी सचिव चौलागाई आफैले उम्मेदवारी घोषणा नगरेपनि केन्द्रमा देउबा निकट रहेका उनलाई देउबा पक्षको प्यानल जिल्लामा बनेमा सभापति पदका सम्भावित उम्मेदवारका रुपमा हेर्न थालिएको छ । ‘केन्द्रमा यो पटक जसरी पनि चुनाव जित्ने गरी गाउँ देखी क्षेत्र, जिल्ला सम्मको चुनाव आफ्नो पक्षमा पार्न देउबा पक्ष आक्रामक रणनितिका साथ अघि बढेका कारण दोलखामा पनि टिम बनाउनुपर्ने परिस्थती आउन सक्छ’ देउबा निकटका एक जिल्ला नेताले भने – ‘त्यसैले जिपछिरिङ लामा, देवी न्यापानेहरुलाई जिल्लामा टिम बनाउने दबाब आएमा चौलागाई नै देउबा पक्षका उम्मेदवार हुन्छन’ । तर लामा आफै जिल्लाबाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि हुने प्रयत्नमा रहेकाले उनले आफ्नो प्यानल बनाएर अघि नबढ्ने कतिपयको बुझाई छ । स्पष्ट वाक क्षमता भएका चौलागाई सार्वजनिक कार्यक्रमहरुमा पार्टीका कार्यकर्तालाई प्रभावित पार्न सिपालु छन् । 

नेविसंघको केन्द्रिय राजनितिमा सक्रिय रहेका अर्का उम्मेदवार काफ्ले जिल्लामा युवाहरुमाझ लोकप्रिय छन् । पार्टी केन्द्रिय नेताहरुसगँको सहज पहुँचका कारण काम गरिदिने भएकाले उनलाई समेत कार्यकर्ताहरु रुचाउने गर्छन् । ५ जना भन्दा बढी उम्मेदवार भएमा युवाहरु माझको आफ्नो लोकप्रियताको फाईदा उठाउदै सभापति पद फुत्काउने दाउमा काफ्ले छन् । 

कार्यकर्ता र गाउँस्तरको संगठन माझ लोकप्रिय रहेका वर्तमान सभापति ताराबहादुर कोईरालाले जसलाई समर्थन गर्छन उसैले जित्ने बिश्लेषण कतिपय कार्यकर्ताले गरेका छन् । कोईरालाले कसलाई समर्थन गर्ने भन्ने बिषयमा अहिले सम्म मुख खोलेका छैनन् । आगामी महाधिवेशनमा उनी अञ्चलबाट केन्द्रिय सदस्य उठ्ने तयारी गरिरहेका कारण उनी क्षेत्रिय अधिवेशनसम्म आफ्ना पक्षका महाधिवेशन प्रतिनिधि बढी भन्दा बढी लैजाने तयारी गरेकाले क्षेत्रिय अधिवेशनसम्म मुख नखोल्ने रणनीतिमा छन् । 

आधा दर्जन उम्मेदवार भएमा स्पष्ट बहुमत ल्याउनुपर्ने बैधानिक ब्यबस्थाका कारण दुई चरणमा चुनाव हुने कतिपयको बिश्लेषण छ । उम्मेदवारहरु समेत पहिलो चरणबाट दोश्रो चरणमा जसरी पनि जितेर फाईनल चुनावमा आफु पुग्ने भित्री तयारीमा लागेका छन् । यस्तै जिल्ला सचिव पदमा नेविसंघका पुर्व जिल्ला अध्यक्ष सन्तोष रिमाल, ट्रेड युनियन कांग्रेसका पूर्व जिल्ला अध्यक्ष भवेन्द्र कार्कीले उम्मेदवारीको घोषणा गरेका छन् । जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष रामेश्वर उप्रेती समेत सचिवमा लड्ने चर्चा छ । यस्तै शहरेका नेता एवम पार्टीका जिल्ला सदस्य नरहरी सुवेदी समेत सचिवमा उठ्ने तयारीमा छन् । 
 
महाधिवेशन प्रतिनिधिमा युवा धेरै 
महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नेहरु समेत अधिकांश युवा छन् । नेविसंघको केन्द्रिय राजनितिमा काम गरेका बाबरे गाउँका सन्तोष पाण्डे, लामिडाँडाकी रोदना घिमिरे, पवटीकी तारा थपलिया, जफेकी विनिता अधिकारी, सुनखानीका गोपी शिवाकोटी समेत महाधिवेशन प्रतिनिधि लड्दैछन् । 

यस्तै जिल्लाको नेविसंघ र तरुण दलको राजनितिमा काम गरेका चरिकोट बजारका गोविन्द श्रेष्ठ, भुषाफेदाका कुमार अधिकारी, क्षेत्रपाका तारा खड्का, लगायत जिल्ला स्तरमा नेविसंघ र तरुण दलमा काम गरेका युवाहरु महाधिवेशन प्रतिनिधि उठ्दैछन् । जिल्लाका पूर्व पार्टी सभापतिहरु जफेका देवी न्यौपाने, जफेका उद्धवराज काफ्ले, भीनपा २ दोलखाका माधवमणी राजभण्डारी, र हालका जिल्ला सभापति शैलुङगेश्वरका ताराबहादुर कोईराला समेत महाधिवेशन प्रतिनिधि लड्नेछन् । पूर्व केन्द्रिय सदस्य एवम संविधान सभा निर्वाचन २०७० मा क्षेत्र नं १ का कांग्रेस उम्मेदवार श्यामा गाउँका जिपछिरिङ लामा समेत क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्नेछन् । लामालाई क्षेत्र नं १ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गराउनका लागी उनका निकटवर्ती र पार्टीका केही जिल्ला नेताहरुले अहिले देखी नै पहल गरिरहेका छन् । लामा महाधिवेशनमा केन्द्रिय सदस्य लड्दैछन् । 

युवा नेताहरु जिरीका टंक जिरेल, ठुलोपातलका विश्वनिति प्रकाशमानसिंह पाख्रिन, भीनपा ९ का बाबुकाजी बस्नेत, भीनपा ११ का कुलराज थापा, पवटीका जगन्नाथ उप्रेती, चंखुका श्यामसुन्दर तमाङ, नाम्दुका कुमार लामा (अवतारी), गैरीमुदीका गौरव बम्जन, गैरीमुदीका छवी तमाङ, भुषफेदाका सिंहबहादुर तामाङ, झ्याकुका बिरमान शेर्पा, बिगुका निमा शेर्पा, लामावगरका उज्जवल आचार्य, बुलुङका हरीबहादुर श्रेष्ठ, लादुकका तिर्थबहादुर खड्का, सुनखानीका रतिराम शिवाकोटी, पूर्व जिविस उपसभापति कृष्ण शिवाकोटी, भुषाफेदाका कृष्णध्वज योञ्जन,  हालका जिल्ला उपसभापति कृष्णबहादुर खड्का, दोलखा बजारका पुराना नेता तत्वकष्ण श्रेष्ठ, भीनपा २ दोलखाका ज्ञानकृष्ण श्रेष्ठ, बोचकी मोती मोक्तान, ठुलोपातलका केन्द्रबहादुर सुनुवार, जिरीका निशान वान्तवा, शहरेकी सिर्जना सुवेदी, क्षमावतीकी राजेन्द्रलक्ष्मी शिवाकोटी, सुनखानीकी गिता शिवाकोटी, काटाकुटीकी उर्मिला कार्की, सुन्द्रावतीका गोपीलाल थामी, लामिडाँडाकी सुनिता नेपाली, लगायतको महाधिवेशन उठ्ने चर्चा छ । 

यस्तै हालका क्षेत्रिय सभापतिहरु राजु उप्रेती र दावादोर्जे लामा समेत महाधिवेशन प्रतिनिधि उठ्नेछन् ।  क्षेत्रिय सभापति पदमा समेत युवाहरुकै आकांक्षा बढी छ । तरुण दलका जिल्ला अध्यक्ष जयराम श्रेष्ठ, नेविसंघका पुर्व जिल्ला अध्यक्ष राकेश श्रेष्ठ, र अर्का युवा सन्तोष पाठकले क्षेत्र नं २ को क्षेत्रिय सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । यस्तै सोही पदमा घोषणा गर्नेमा लामिडाँडाका लोकराज पाठक र भीनपाका बासु दाहाल समेत छन् । यस्तै क्षेत्र नं १ को क्षेत्रिय सभापति पदमा गैरीमुदीका छवी लामा, सुरीका कमलविक्रम खड्का, जिरीका पासाङ शेर्पा, झ्याकुका शैलेन्द्र खड्का, भिरकोटका कुमार भुजेल लगायत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ